डिप्रेसनको मनोवैज्ञानिक उपचार

सपना (नाम परिर्वतन) २७ वर्षीय एक कुशल बैंक अधिकृत हुन् । उनले यस वर्षको उत्कृष्ट प्रबन्धकको पुरस्कारसमेत जित्न सफल भइन् । उनी अहिले आफ्नो जीवनदेखि निकै खुसी छिन् । तर, उनीसँग बिगतको एक कटु अनुभव छ । त्यसो त यो अनुभवले उनलाई जीवनमा आइपर्ने कठिनाइहरूसँग कसरी मुकाबिला गर्ने भन्ने शिक्षा पनि दिएको छ । कुरा ५ वर्ष पहिलाको हो । त्यसबेला उनी बिबिएस तेस्रो वर्षमा अध्ययनरत थिइन् । एसएलसी तथा १२ (विज्ञान) कक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण भएकी तीक्ष्ण बुद्धिकी सपनाले बिबिएसमा राम्रो गर्न सकेकी थिइनन् । बिबिएस दोस्रो वर्षका दुइटा विषयमा उनी फेल भएकी थिइन् ।
विगत २ वर्षदेखि उनी प्राय: उदास रहन्थिन् । एक्लै बस्थिन् । कलेजमा पनि साथीसंगीसँग हाँसखेल गर्न उनलाई रुचि लाग्दैन्थ्यो । उनलाई भोक लाग्दैन्थ्यो, निद्रा राम्रो पर्दैन्थ्यो । दुब्लाउँदै गएकी थिइन् । उनको आत्मविश्वास तथा सम्झनाशक्तिसमेत निकै घटेको थियो । बाआमासँग सानोतिनो कुरामा पनि भनक्क रिसाउँथिन् । छोरीको यस्तो स्वभाव देखेर हरेक दिन सपनाका बाले उनलाई अल्छीकेटी भन्दै झपार्थे । छोरीको यस्तो स्थिति देखेर सपनाकी आमा ज्यादै चिन्तित थिइन् । अनि, एक आफन्तीको सुझावमा सपनालाई एक प्रसिद्ध न्युरोसाइक्याट्रिेस्टकहाँ लिएर गइन् । सपनासँग केहीछिन कुरा गर्नेबित्तिकै न्युरोसाइक्याट्रिस्टले सपनाको समस्या बुझे ।
मनोवैज्ञानिक परीक्षणबाट सपना रियाक्टिभ डिस्थिमिया (मध्यमखालको जीर्ण डिप्रेसन)बाट पीडित भएको डायग्नोसिस गरे । अनि, उनको उपचार अगाडि बढाए । बिनाऔषधि कग्निटिभ बिहाभियर थेरापीको उपचारद्वारा सपना बिलकुल ठीक भइन् । उपचारपछि उनको स्मरणशक्ति, आत्मविश्वास तथा बौद्धिक क्षमता बढ्यो । एकाएक उनको पढाइलेखाइमा आश्चर्यजनक प्रगति देखियो । सबैलाई चकित पार्दै उनले विशिष्ट श्रेणीमा एमबिए गरिन् र अहिले उनी एक बैंकमा एक कुशल प्रबन्धकका रूपमा कार्यरत छिन् ।
डिप्रेसनको प्रकोप:
डिप्रेसन युवाको रोग हो । अझ युवा महिलाको रोग हो । यो रोगबाट सबैभन्दा बढी युवा र महिला पीडित छन् । त्यसो त बालबालिका तथा प्रौढ मानिस पनि डिप्रेसनको सिकार हुने गर्छन् । वास्तवमा डिप्रेसन कुनै पनि उमेर, लिंग तथा वर्गका व्यक्तिलाई हुन सक्छ । यो रोगबाट आमा मानिस मात्र होइन कि ठूलाठूला हस्थिहरूसमेत पीडित थिए, छन् । वास्तवमा डिप्रेसनको प्रकोप निकै भयावह छ । सन् १९९० मा विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनअनुसार डिप्रेसन चौथो प्रमुख रोग भएको तथ्य पत्ता लागको थियो भने सन् ०२० सम्म डिप्रेसन दोस्रो प्रमुख रोग हुने अनुमान गरिएको छ । वास्तवमा डिप्रेसनको सही पहिचान नहुनु, लुकाउने–छुपाउने प्रवृत्ति तथा डिप्रेसनको उचित उपचार नहुनाले पनि डिप्रेसनको जटिलता थपिएको हो ।
डिप्रेसनको लक्षण:
डिप्रेसनको मूल लक्षण भनेको उदासिनता तथा खिन्नता हो । डिप्रेसनबाट पीडित व्यक्तिको मन सधैँ उदासी र निराशाले घेरिएको हुन्छ । कुनै पनि आन्नददायक घटनाले उसलाई खुसी पार्दैन । डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ । हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन्, तर सुखद घटनासँगै मन पुन: खुसी हुन्छ । तर, डिप्रेसनमा चाहिँ यस्तो हँुदैन ।
कडाखालको डिप्रेसनका रोगी कहिल्यै खुसी देखिँदैनन् । अत: उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झनाशक्तिमा कमी आउनु, चिडचिडापना बढ्नुजस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्ज रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हँुदै जानु वा धेरै खानु, यौन इच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणमध्ये तीन–चार लक्षणहरू देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ ।
यसकासाथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यो रोगको गम्भीर स्थितिलाई दर्शाउँछ । डिप्रेसनका १५–२५ प्रतिशत रोगीहरूले आत्महत्या गरेको पाइन्छ ।
डिप्रेसनका कारण:
डिप्रेसन विभिन्न कारणले पैदा हुन्छ । जस्तो कि डिप्रेसन अनुवांशिक कारण, मस्तिष्क रसायनको असन्तुलन, मनोगत तथा समाजिक कारणहरूले पैदा हुने भए तापनि अधिकांश डिप्रेसनको जड भनेको जीवनमा घटेको तनावपूर्ण तथा हृदयविदारक घटना नै हो । जस्तो कि सपनाले सानैदेखि नै चिकित्सक बन्ने सपना देखेकी थिइन् । उनले त्यसैअनुरूप खुब मेहनत गरेर पढेकी थिइन् । तर, आर्थिक समस्याले गर्दा उनले एसएलसी र १२ कक्षामा विशिष्ट श्रेणीमा उत्र्तीण हुँदा पनि एमबिबिएस पढ्न पाइनन् । उनको सपना चकनाचुर भयो । यो स्ट्ेरसपूर्ण घटनाले डिप्रेसनको रूप लियो । यसकासाथै डिप्रेसन कतिपय दीर्घकालीन, जीर्ण तथा खतरनाक रोगहरूले पनि डिप्रेसनको लक्षण देखाउँछन् । त्यसैले डिप्रेसनको सही पहिचान गर्नु आवश्यक छ ।
डिप्रेसनको उपचार:
डिप्रेसनको उपचारका सम्बन्धमा दुईथरी मत छन् । साइकिऐट्रिष्टहरूले औषधि(ऐंटीडिप्रेसेंट)लाई जोड दिन्छन् भने साइकोथेरापिस्टहरू कुराकानी(साइकोथेरापी)मा विशेष जोड दिन्छन् । तर, बेकको कग्निटिभ मोडलका अनुसार डिप्रेसनको प्रमुख कारण भनेको नै मानिसको सोच हो । यस मोडलका अनुसार नकारात्मक र अतार्किक सोचले नै डिप्रेसन पैदा गर्छ । त्यसैले डिप्रेसनको सर्वोत्तम उपचार विधि भनेको नै साइकोथेरापी हो, सिबिटी (कग्निटिभ बिहाभियर थेरापी) हो । सपनाको हकमा पनि मनोचिकित्सकले सिबिटीद्वारा उपचार गरेका थिए । मनोचिकित्सकले मेडिकल पढ्न नपाएर चारैतिर अँध्यारो देखेकी सपनालाई सिबिटी टेक्निकद्वारा एमबिएको उज्यालो देखाइदिएका थिए । तर, कतिपय अवस्थामा साइकोथेरापीले प्रभावकारी रूपमा काम गरेन भने साइकिऐट्रिक औषधि पनि सँगसँगै सेवन गर्नु राम्रो हुन्छ ।
पुछारमा:
मानिसका अधिकांश रोगहरू गलत जीवनशैलीका कारण पैदा हुन्छन् । डिप्रेसन पनि एक यस्तै रोग हो । त्यसैले डिप्रेसनबाट बच्न दिनहुँ ध्यान, प्राणायाम तथा योगासन वा शारीरिक व्यायामहरू गर्नुहोस्, सात्विक भोजन गर्नुहोस्, सकारात्मक सोच राख्नुहोस्, चिन्ता होइन कि चिन्तन गर्नुहोस् । जीवनको बाटोमा आइलाग्ने समस्याहरूलाई एक—एक गरेर समाधान गर्दै अगाडि बढ्नुहोस् । मूलो कुरा जीवनको एउटा महान् लक्ष्य बनाउनुहोस् । त्यो किनभने ‘लक्ष्य’ भनेको जीवनको आधार हो । त्यसैले त मार्टिन लुथर किंग, जुनियरले एउटा अति नै मनोवैज्ञानिक उद्गार व्यक्त भनेका छन्– यदि मानिसले आफ्नो जीवनमा कुनै महान् उद्देश्यका लागि मरिमेट्ने संकल्प गर्दैन भने उसको जीवन नै बेकार हुन्छ । यहाँ मननयोग्य कुरा के भने मानिसलाई आफ्नो जीवन बेकार लाग्न थाल्यो भने नै डिप्रेसनले आक्रमण गर्छ ।
(लेखक मनोविद् हुन्) [email protected]

प्रतिक्रिया