जुम्राम्यान

kamal-nepaliमलाई त्यहीँ सिकसिक लागिसकेको थियो । न ज्यान जोगाउन फरार जुम्राहरू खुट्टाबाट जीउतिर पसिसके कि ? आउनेबित्तिकै कपडासपडा सब खोलेर बाटाको पानीमा चोपलेँ । नुहाएँ अनि गएँ उत्तम साउजीको पसलमा ।
रत्नपार्क । यो पार्कलाई सानो नेपाल भने पनि हुन्छ । कारण यहाँ देशभरिका बेरोजगारहरूको कुँडुलो लाग्छ । त्यो कुँडुलोमा मिसिन म पनि पुग्थेँ, बेलामौकामा । बाटोको मादलजस्तो यो पार्कमा को पस्दैन र ? जसले बजाए पनि हुने मादल । साथीभाइसँग त पसिन्थ्यो नै एक्लै पसिदिन्थेँ घिन्ताङ पार्न ।
कुरा ०६२ सालको उत्तराद्र्धतिरको हो । म चरम आर्थिक संकटका दिनहरूसँगै बित्दै थिएँ । म आफूले लिनुपर्ने रु. एक हजारका लागि स्वयम्भूदेखि चावहिलसम्म लेफराइटलेफराइट गर्दै पुगेर त्यसरी नै फर्किएको थिएँ गाडी नं. ११ चढेर । कारण मसँग गाडी भाडाका लागि चाहिने दाम पनि अपुगै हुन्थ्यो । स्वयम्भू–चावहिल गर्न मैले ठ्याम्मै पाँच घन्टा पैताला खियाएछु । घोडालाई बाँधिराख्यो भने छिटो बूढो हुन्छ रे मान्छे धेरै हिँड्यो भने छिटो बूढो हुन्छ रे । विकल्प नभएपछि नहिँडेर के गर्नु ? यस्तै हुन्थे अरू दिनहरू पनि । म ती दिनहरूमा पाइलैपिच्छे गालामा चाउरी परेको सम्झन्थेँ ।
यसरी लखतरान परेपछि कतै त बिसाउनै पर्‍यो ज्यानलाई । बिसाउने ठाउँ त्यही रत्नपार्क त छ । सस्तो, राम्रो र बलियो पनि । प्यान्थरजस्तो ।
म आफूलाई बिसाउन रत्नपार्क भित्रिएँ । चुरापोतेधारी मुकुन्देको मौसम थियो त्यो । ऊ काभ्रोका रूखमा बाँदरजस्तै बसेर नानाभाँती फलाक्थ्यो; पचासौँ मानिस केले के हेरेझैँ हेरिरहेका हुन्थे । ऊ रत्नपार्कलाई सुतखेत भन्थ्यो । यो खेतमा हलोजुवा काँधमा हालेर जाने हलीहरू टन्नै हुन्छन्, थिए । सैयाँैपल्ट जोतिसकिएका बारीहरू झन् परैबाट चिनिने । यसो थकाइ मारौँ भनेर पस्न पनि इज्जत जाने ठाउँ, आफ्नै बैनी लिएर जान पनि अरूले के भन्लान् कि भनेर तर्सिनुपर्ने ठाउँ । तरै पनि सबैतिरबाट सेन्टर पर्ने ठाउँ त्यही त छ काठमाडौंमा ।
भित्र एक हुल मान्छेबीच धूवाँ पुतपुताइरहेको थियो । गर्मी महिना छ तर मान्छे आगो बाल्दै छन् । ताप्नलाई पक्कै होइन । खुलदुलीले मलाई त्यतै लिएर गयो । भीडमा म पनि मिसिएँ । छेउमै एक अर्धबैँसे राघीनासे आफ्नो जीउको चारैतिर कन्याइरहेको थियो । जीउभर मसिना घाउ नै घाउ देखिन्थे । मैलो जिन्स पाइन्ट र छालाको जुत्ता लगाएको थियो । भीडको बीचमा आगो बलिसकेको थियो । म रहस्य बुझ्न सक्ने गरी भित्रिएँ । मेरी बास्सै ! दृश्य त डरलाग्दो पो रहेछ । आगोमा सर्ट र स्वीटर बल्दै थिए हुर्हुर्ती । स्वीटरमा देवलमा धमिरासरि जुम्रा थिए । आगोमा पटटट पड्किरहेका, हजारौँ जुम्रा भाग्ने प्रयासमा सल्बलाइरहेका । जुत्ता पनि खोल्न लाइयो र आगोमा फालियो । जुत्तामा समेत जुम्रा नै दौडिइरहेका । तिनै राघीनासेको कपडा रहेछन् ती । त्यहाँ कोही पत्रकार भएको भए क्या तातो समाचार हुन्थ्यो होला ? सोचेँ, ‘म आफैँ फोटोपत्रकार भएको भए मान्छेको प्रारब्ध यस्तो पनि हुन्छ भनेर सार्वजनिक गर्ने थिएँ ।’
सहरी क्षेत्रमा फुटपाथमा जीवन बिताउनेहरू प्रशस्तै देखिन्छन् तर तिनैलाई किन जुम्राले छोप्यो होला सलहले जस्तै । त्यहाँ एक जना भद्रले यो नारकीय अवस्था देखेर जुम्रा नष्ट गर्ने कष्ट उठाएका रहेछन् । उनको सदासयताको अंशियार म पनि हुन पुगेँ । त्यहाँ उपस्थित भीडबाटै पैसा उठाइयो । करिब पाँच सय जम्मा भयो । त्यो भएको जम्मामा मेरो दामले भने मिसिन पाएन । आफूसँग कौडी छैन, हजारको एउटा नोट खल्तीमा पार्न कति धामा परेको छ कहाँ दानवीर बन्नतिर लागेर हजारलाई टुक्राटुक्रा पार्नु ? पारिनँ । अरूकै दाममा डिटोल, ट्राउजर, हाफ जाकेट र गन्जी किनेर ल्याइयो ।
सबैले उसलाई पाइन्ट खोल भन्दै थिए तर पटक्कै मानेको होइन । जबर्जस्त खोल्न लाइयो लौरो लाएर । पाइन्ट नखोल्नुको कारण सायद उसले पेन्टी नलाएको भएर होला । यही सोचियो । उसले पाइन्ट खोलेपछि पो हाम्रो अनुमानले गाफिल खायो । किनभने उसले लाएको पेन्टी हामीलाई हेरेर हाँसिरहेको थियो । पेन्टी पहेलो रङको थियो । आम्मामा, त्यसमा पनि सेताम्यै जुम्राहरू हस्याङफस्याङ गर्दै भित्र दुगुरिरहेका पो । पेन्टी त किरेमिरे जाले रुमालजस्तो देखिएको थियो ।
पाइन्ट आगोमा फालियो । ल उसले त्यो पाइन्ट आगोबाट यसरी थुत्यो मानौँ ऊ चील हो र कुखुराको चल्ला समात्न झम्टिएको छ । आगोबाट पाइन्ट थुतेर उसले खल्ती खोतल्यो । बाफ रे ! हजार–हजार नोटको एक बिटा पैसा पो हातमा त । भीड अब हजार हेर्न एकत्रित भयो । जुम्रा टकटक्याउँदै पैसा गनियो । टयाक्कै बीस हजार रहेछ । सब ३ छक । हैनहैन यस्तो कुरामा कहाँ तीन छकले पुग्छ ? ६ छक ।
‘व्यर्थै कपडा किन्न पैसा उठाइएछ ।’ एक जनाको बोलीमा सबैले हो खापे ।
अब अघि उठाएको रकम असुल्ने कुरो कसैले पनि गरेन । भीड केवल छक्क परिरह्यो ।
डिटोल पानीले नुहाउन लाइयो । कपालको जुम्रा पानीले पखाल्न सकिरहेको थिएन । नुहाएपछि जुम्राहरू त झन् सफा पो देखिए ।
लुगा फेराएपछि हामीले उसका बारेमा सोधखोज गर्‍यौँ । काठमाडौंमै घर भएका मान्छे पो रहेछन् । मैतिदेवीको बासिन्दा हो भन्थे उसलाई चिन्नेहरू । महानगरीय प्रहरी प्रभाग रानीपोखरीमा खबर गर्‍यौँ । भ्यान आयो । नयाँ जाकेटको बायाँ गोजीमा हजारको बिटो छाम्दै जुम्राम्यान सानका साथ भ्यानमा प्रवेश गर्‍यो । जीउ त वामदेव गौतमकको जत्रो नि । प्रहरीको मात्र भर पर्न सकेन भीड । कारण उसको गोजीमा पैसाको बिटो थियो । साथमा भीडकै चार–पाँच जना अरू पनि भ्यानमा उक्ले । मलाई कोठा फर्कन बेर भइसकेको थियो, मन भएर पनि जान सकिनँ ।
फर्कने क्रममा नानाथरीका सोचाइको खेलमैदान भइरह्यो मन । कहिले कुन विचारले गोल ठोक्ने त कहिले कुनले । त्यो कस्तो मान्छे होला ? त्यतिविधि पैसा बोकेर हिँड्ने मान्छेले किन यो गति बनाएको होला ? पाइन्ट आगोमा फ्याँक्न लाग्दा यसरी झम्टा लायो मानौँ त्यहाँ उसको सिँगो जिन्दगी छ । यत्रो स्मृति हुने मान्छेले जीवनलाई किन विस्मृतिमा घचेटेको होला ? सडकमै जीवन बिताउँदै आएर पनि त्यति ठूलो रकम कसरी सुरक्षित राख्न सकेको होला ? उसले खाँदाखाँदै सकेर बीस हजार मात्र बाँकी रहेको थियो वा मात्र बीस हजार लिएर निस्केको ? म सोचमग्न यात्री बनँे ।
मलाई त्यहीँ सिकसिक लागिसकेको थियो । न ज्यान जोगाउन फरार जुम्राहरू खुट्टाबाट जीउतिर पसिसके कि ? आउनेबित्तिकै कपडासपडा सब खोलेर बाटाको पानीमा चोपलेँ । नुहाएँ अनि गएँ उत्तम साउजीको पसलमा । यो कहानी सुनाउन । उनी पनि ६ छक्क । मेरो छक्क अझै बीसको उन्नाइस भएको थिएन । त्यहाँबाट फर्किंदा पनि त्यसले मलाई पछ्याउन छोडेन ।
‘हजारौँ जुम्राले कैयौँ दिनसम्म घाउ नै घाउ हुने गरी खाँदा पनि मान्छे नमर्ने रहेछ ।’ यही छक्कले समात्यो बढी त ।
जुम्राको मुहान देखेका बुज्रुकहरूले भनेको सम्झेँ । ती भन्दै थिए—पूर्वजन्मको पापको फल हो यो । के पाप गरेका थिए होलान् तिनले ? पूर्वजन्म र पुनर्जन्म हुन्छ कि हुँदैन होला ? स्वर्ग र नर्क हुन्छ कि हुँदैन होला ? स्वर्ग र नर्कको कुरा प्रमाणित हुन सक्ने हो भने कति राम्रो हुने थियो होला । मान्छेले डरैले पनि ‘कू’ गर्ने हिम्मत गर्दैथ्यो होला । स्वर्गको दरबारमा बस्ने वा नर्कमा गुहुमा कीरा परेर बाँच्नुपर्ने ? स्वर्गमा सुखैसुखमा बस्ने वा नर्कमा यामानको कराईमा माछाजस्तै फ्राइ हुनुपर्ने ? उसको मनमा यिनै प्रश्नहरूले चक्कर लाइरहेका हुन्थे होलान् । स्वर्गबासी हुनकै लागि भए पनि मान्छे असल काममा प्रवृत्त हुन्थ्यो होला ।
जुम्राम्यानले त्यो दिनभर र रातमा पनि खेलमैदान बनायो मेरो मनभरि । अहिल्यै पनि म जब त्यो दृश्य सम्झन्छु आङ जिरिङ्ङ हुन्छ ।

प्रतिक्रिया