गरिबी घटाउन पाच करोड लगानी

पाँचथर : गरिबी न्यूनीकरण गर्न गरिबी निवारण कोषले पाँच करोड ३३ लाख ८० हजार रुपियाँ लगानी गरेको छ ।
तुलनात्मक रूपमा गरिबीको रेखामुनि रहेको समुदायमा गाविसको पहिचान गरी कार्यक्रम लागू गरी सो रकम परिचालन गरिएको हो । आर्थिक वर्ष ०६६/६७ देखि पाँचथर जिल्लाको २१ गाउँ विकास समितिमा गरिबी निवारण कोष कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
गाविसको हरेक वडामा गरिबीको रेखामुनि रहेका समुदायको पहिचान गरी आयआर्जनमा वृद्धि गरी उनीहरूको जीवनस्तर सुधारका लागि पाँच करोड ३३ लाख ८० हजार ६ सय २८ बराबरको घुम्ती कोष परिचालन गरिएको छ । हरेक गाउँमा गरिबीको रेखामुनि रहेका समुदायलाई सामुदायिक संस्थाको निर्माण गरेर आर्यआर्जन कार्यक्रमका लागि कोषले चार करोड ७२ लाख ९९ हजार सात सय ८२ लगानी गरेको छ । त्यसलाई प्रभावकारी बनाउन समुदायका तर्फबाट बीउ पुँजीका रूपमा ४८ लाख ८८ हजार ६ सय ६७ जम्मा गरी आयआर्जन कार्यक्रममा परिचालन गरेका छन् ।
यस कार्यक्रममा सामुदायिक संस्थामा आबद्ध भएर २१ गाविसका दुई हजार दुई सय १२ घरधुरी कोषको रकमबाट आयआर्जनमा लागेका छन् । कोषले जिल्लामा सात गैरसरकारी संस्थामार्फत कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँका समुदायलाई सामुदायिक संस्थामार्फत कोषको रकम सरल ब्याजमा ऋण प्रदान गरी पशुपालन, कृषि, किराना पसललगायत क्षेत्रबाट आयआर्जनको कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम सञ्चान गरिरहेको हुकोडेक नेपालका कार्यक्रम संयोजक मंगलबहादुर बेघाले बताए ।

प्रतिक्रिया