७५ सहकारी खारेज हुदै

इलाम, ४ असार । डिभिजन सहकारी कार्यालय इलामले निष्क्रिय बसेका इलाम र पाँचथरका गरी ७५ वटा सहकारी संस्था खारेजी प्रक्रिया सुरु गरेको छ । तीन वर्षअघि दर्ता भई सञ्चालनमा नरहेका इलामका ४५ र पाँचथरका ३० वटा विभिन्न प्रकारका सहकारी खारेजी प्रक्रियामा छन् ।

दुई आर्थिक वर्षदेखि आफूले गरेको आर्थिक कारोबारको विवरण तथा प्रतिवेदन नियमित रूपमा रजिस्ट्रारको कार्यालयमा पेस नगर्ने सहकारी संस्थालाई कार्यालयले सहकारी ऐन, २०४८ अनुसार खारेजी प्रक्रिया अघि बढाइएको डिभिजन सहकारी अधिकृत माधवप्रसाद पोखरेलले बताए ।
खारेजीको सूचीमा पर्नेमध्ये इलामका १८ वटा कृषि, १३ वटा दुग्ध उत्पादक, ६ वटा चिया, सहकारी संस्था छन् भने पाँचथरका १६ वटा कृषि, चारवटा बचत तथा ऋण र चारवटा विद्युत् सहकारी संस्था छन् । इलामको माईपोखरी गाविसका आठवटा सहकारी खारेजीको सूचीमा परेका छन् । खारेजीको सूचीमा परेका सहकारी संस्थालाई विवरणसहित तुरून्त सम्पर्क गर्नका लागि कार्यालयले पत्राचार गरिसकेको जानकारी उनले दिए ।
मेची अञ्चलका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा करिब ८ सय हाराहारीमा सहकारी संस्था खुलेका छन् ।

प्रतिक्रिया