लोठ सल्लो आम्दानबीको स्रोत

जाजरकोट : जिल्लाको नायकबाडा–४ जिरीमा पाइने लोठ सल्लो स्थानीय जनताको आम्दानी स्रोत बनेको छ । गाउँनजिकैको जंगलमा पाइने सल्लो जिल्लाबाहिर निर्यात हुन थालेपछि स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको हो ।
स्थानीय बजारमै लोठ सल्लोका पात प्रतिकिलो ४० रुपियाँको दरले बिक्री हुन थालेपछि स्थानीयको आम्दानी बढेको हो । जंगल छेउमै प्रतिकिलोको १५ रुपियाँमा बिक्री हुने गरेको स्थानीय रिमबहादुर कामीले बताए ।
जंगलमा भएको सल्लोको पात संकलन गरेर दैनिक करिब ६ सय रुपियाँ आम्दानी गरिरहेको कामीले बताए । आम्दानीका अन्य स्रोत नभएका स्थानीयवासीलाई यतिबेला सल्लोका पात संकलन गर्न भ्याइनभ्याई छ । जिरी गाउँका अधिकांश स्थानीय पात संकलनमा ओइरिने गरेका छन् ।
त्यस्तै, लोठ सल्लोको रोयल्टीबाट सामुदायिक वनको पनि आम्दानीमा वृद्धि हुन थालेको छ । प्रतिकिलो २५ रुपियाँका दरले रोयल्टी असुलेको भोटेचौर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर शाहीले बताए । जडीबुटी ठेकेदारले भोटेचौर सामुदायिक वनसँग ५० हजार क्विन्टल लोठ सल्लोका पात निर्यातका लागि सम्झौता गरिसकेका छन् । जिल्लाको उच्च लेकाली क्षेत्रमा पाइने सल्लोको पातबाट अर्बुद्ध रोगको औषधि बन्ने ठेकेदार प्रतिनिधि कान्छाराम बस्नेतले बताए ।
स्थानीयले अन्धाधुन्द हाँगा काटी सल्लोको पात संकलन गर्दा छोटो समयमै सल्लो मासिने खतरा रहेको जिल्ला वन कार्यालयका प्रमुख भीमप्रसाद पौड्याल बताउँछन् । जिल्लाको पैंक, रामीडाँडा, नायकबाडा, सक्ला र खगेनकोट गाविसका जंगलमा उक्त सल्लो पाइनेछ ।

प्रतिक्रिया