वर्षाले मकैबालीमा क्षति

भद्रपुर, ३ असार । वर्षायामको समयमा उत्पादन हुने वसन्ते जातका मकैको उत्पादन झापामा घट्ने सम्भावना देखिएको छ ।

जेठमा निरन्तर रूपमा हुरीसँगै आएको वर्षाले अधिकांश दाना लागेका मकैका बोट लडेको, खेतमा पानी जमेका कारण बोट सुक्ने गरेको र पूर्वोत्तर गाविस बाहुनडाँगीमा जंगली हात्तीले सयौँ हेक्टर जग्गामा लगाइएका मकैबालीलाई तहसनहस पारेको हुँदा उत्पादन घट्ने अनुमान गरिएको हो ।
जिल्लाका धेरैजसो गाविसमा वसन्ते जातको मकैको खेती गर्ने गरिएको छ । यसपल्ट मकैबाली राम्ररी सप्रेको भए पनि निरन्तर रूपमा भइरहेको वर्षाले बढी नोक्सान पारेको हो ।
जलथल गाविसमा लगाइएका सयौँ हेक्टरको मकै वर्षाका कारण सखाप हुने अवस्थामा पुगेको स्थानीय रामप्रसाद रेग्मीले बताए ।
यस विषयमा जिल्ला कृषि विकास कार्यालयका प्राविधिक शालिकराम भट्टराईले गत वर्षको तुलनामा जेठमा अत्यधिक वर्षा भई मकैबालीमा क्षति पुगेको जनकारी दिए । यस वर्ष ३१ हजार ९ सय हेक्टर जग्गामा मकै खेती गरिएको कृषि विकास कार्यलयले जनाएको छ । गत वर्ष ३१ हजार आठ सय हेक्टर जग्गामा गरिएको मकै खेतीले ७३ हजार एक सय ४० मेट्रिकटन उत्पादन दिएको थियो ।
अत्यधिक वर्षाले मकै र तरकारी बालीलाई क्षति पुगे पनि चैते धानलाई निक्कै फाइदा पुगेको छ ।
जिल्लामा करिब २० हजार हेक्टर जग्गामा चैते धानको खेती गरिएको छ । गत वर्ष १९ हजार ६ सय हेक्टर जग्गामा चैते धान लगाइएकामा ७६ हजार चार सय ४० मेट्रिकटन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया