राष्ट्रिय विद्यालय खेलकुदको उद्घाटन

काठमाडौं, १ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विद्यालय खेलकुद विकास बोर्डको तत्त्वावधानमा एनप्याब्सन, प्याब्सन र हिसानद्वारा आयोजित प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) को शुक्रबार एक समारोहबीच उद्घाटन गरियो । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ‘प्रथम राष्ट्रिय विद्यालय खेलकुद– २०७० प्रारम्भ भएको घोषणा गर्दछु’ भनी उद्घोष गर्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन गरे । त्यसो त यो खेल जेठ २८ गतेदेखि सुरु भइसकेको छ ।

उद्घाटनका अवसरमा सहभागी पाँच विकास क्षेत्रका टोलीले मार्चपास्ट गरेका थिए । लिटिल एन्जल्स स्कुलका विद्यार्थीले ‘अनिवार्य खेलकुद हाम्रो अभियान’ भन्ने सन्देश बोकेको पिटी प्रदर्शन गरेका थिए । भिएस निकेतनका विद्यार्थीले ‘कला र संस्कृति हाम्रो पहिचान र पर्यटनका लागि खेलकुद’ भन्ने सन्देश बोकेको कलात्मक नृत्य प्रस्तुत गरेका थिए । त्यसअघि युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले प्रतियोगिताको लोगो झन्डोत्तोलन गरेका थिए ।
प्रशिक्षकका तर्फबाट एथलेटिक्स वरिष्ठ मुख्य प्रशिक्षक सुशीलनरसिंह राणा र खेलाडीबाट बास्केटबलकी किस्मा पुर्जाले शपथ लिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले राखेपले विद्यालयलाई नै खेलकुदको मूलधारमा समावेश गर्न विभिन्न शैक्षिक संस्थासँग सहकार्य गरी अगाडि बढेको कार्य प्रशंसनीय भएको भन्दै यस प्रकारको प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे । अध्यक्ष रेग्मीले विद्यालयमा रहेका प्रतिभावान् खेलाडी पहिचान गर्न प्रतियोगिता महत्त्वपूर्ण सावित हुने बताए ।
राखेप अध्यक्षसमेत रहेकाका युवा तथा खेलकुद मन्त्री श्रेष्ठले राष्ट्रिय विद्यालय खेलकुद ऐतिहासिक सुरुआत भएको बताउँदै खेलकुदलाई अनिवार्य विषय बनाउन लागि परेको बताए । उनले सरकार खेलकुदको विकासका लागि सदैव तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे । विद्यालय खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका राखेप सदस्य–सचिव युवराज लामाले विद्यालयलाई खेलकुदको जगका रूपमा लानुपर्ने विश्वव्यापी मान्यताअनुरूप विद्यालय खेलकुदको सुरुआत गरेको बताउँदै विद्यालयलाई खेलाडी उत्पादनको मुहान बनाउन आवश्यक रहेको विचार व्यक्त गरे ।
हिसानका अध्यक्ष उमेश श्रेष्ठले अर्को वर्षदेखि प्रतियोगितालाई अझ भव्यताका साथ सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिभा खोजी र छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले आगामी वर्षमा कक्षा ११ र १२ का विद्यार्थी खेलाडीलाई पनि प्रतियोगितामा समावेश गर्न चाहेको अवगत गराए । एनप्याब्सनकी अध्यक्ष गीता राणाले यो बृहत् खेलकुदले विद्यार्थी खेलाडीमा उत्साह र ऊर्जा थपेको चर्चा गर्दै प्रतियोगिताबाट प्रतिभावान् खेलाडीको पहिचान हुने बताइन् । प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले प्रतियोगिता स्वच्छ र अनुशासित ढंगले सफल हुने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रमपश्चात् मन्त्री श्रेष्ठले एनप्याब्सनद्वारा सञ्चालित एथलेटिक्स, क्रिकेट र कबड्डी खेलका विजेतालाई पुरस्कार प्रदान गरेका थिए । असार ४ गतेसम्म चल्ने खेलकुदमा १३ खेल समावेश छन् । हिसानले बास्केटबल, भलिबल, बुद्धिचाल, पौडी र टेबलटेनिस सञ्चालन गर्ने जिम्मा पाएको छ । बाघचाल, कराते, फुटबल, ब्याडमिन्टन र उसु प्याब्सनको भागमा परेको छ । एनप्याब्सनको भागमा परेको तीन खेल एथलेटिक्स, क्रिकेट र कबड्डी सम्पन्न भइसकेको छ । प्रतियोगितामा १२ वर्षदेखि १६ वर्षमुनिका खेलाडी सहभागी हुन पाउने प्रावधान छ ।

प्रतिक्रिया