अराजक कन्फेसन्स्

Rajan-Mukarungलेखनमा जातीय मुक्ति र नश्लीय चेतको मुद्दा उठाइरहेका राजन मुकारुङ सत्ताइतरको आवाजलाई प्रखर रूपमा लेखिरहेका छन् । केही अघि प्रकाशित उनको उपन्यास ‘दमिनी भीर’ अत्यधिक सफल भएपछि ‘सिर्जनशील अराजकता’का यी अभियन्ता आजकाल नयाँ उपन्यास ‘अयोग्य’को स्केच गरिरहेका छन् । हालैको एक साँझ भृकुटीमण्डपमा मस्त चुरोट तानिरहेका भेटिएका उनलाई जर्बजस्ती पुर्‍याइयो बागबजारको एउटा भट्टीमा र सोध्न थालियो र्‍यान्डम प्रश्नहरू । दुई पेग लाएपछि उनी नोस्टाल्जिक भएझैं देखिए । असलमा उनी आफूलाई पापी ठान्दारहेछन् । भन्छन्, ‘काठमाण्डूको दु:खसँग पहिल्यै डराएर हामी (म र मेरी श्रीमती)ले हाम्रा दुई छोराहरूपछि दुईवटा ‘एबर्सन’ गरायौँ, यो मैले जिन्दगीमा गरेको सबैभन्दा ठूलो पाप हो ।’
दाइ, तपाईंको उमेर ढल्कँदै छ तर साहित्यमा झन् जवान हुँदै आउनुभा’छ नि ?
हेहेहे † मानिस उमेरले कहाँ बूढो हुन्छ र ? ६२–६३ को जनआन्दोलनमा सबभन्दा ‘जवान’ गिरिजाप्रसाद कोइराला थिए, त्यै भएर सामन्तवादी राजतन्त्र फाल्ने आन्दोलनको इतिहासमा उनले सर्वोच्च नेता हुनाको ‘जस’ पनि पाए । विचारले मानिसलाई सधैँ जवान बनाउँछ । परिवर्तनका लडाइँ गर्नेहरू कहिल्यै बूढा हुँदैनन् । मेरो सन्दर्भमा भन्ने हो भने साहित्यमा म भर्खर ‘टिन एज’मा प्रवेश गर्दै छु ।
तपाईंको पहिलो प्रेम र प्रेमपछिका परिणामबारे केही भन्दिनुस् न †
मेरी पहिली प्रेमिका ‘गौतम’ थरकी थिइन् । म उनको बारीको ऊखु चोरिखान्थेँ । उनी मैले ऊखु चोर्दै छ कि भनेर चियो गर्न आउँथिन्, सुरु–सुरुमा हामी खुबै बाझ्थ्यौँ, एकदिन त लडाइँ नै पर्‍यो । मैले साह्रै पिटेछु, उनी बेस्सरी रोइन् । माया लागेर आयो, मैले उनलाई फकाएँ । त्यसपछि हाम्रो प्रेम सुरु भयो । ‘टिन एज’मा प्रवेश गर्दा नगर्दै म उनको प्रेममा परेँ । म त्यहीबेला साहित्यमा पनि लागेँ । निकै ऊर्जाशील भएँ म । तर, हाम्रो प्रेम दुई वर्षसम्म मात्रै चल्यो । दुई वर्षपछि भने एक ‘इन्डियाको लाहुरे’ले उनलाई चिलले चल्ला टिपेझैँ टिपेर लग्यो । त्यसपछि नेपालमै केही गरेर देखाउँछु भन्ने इख जाग्यो । लेखनलाई अरू बढाइयो । आज जे–जस्तो ठाउँमा आइपुगेको छु, कहीँ न कहीँ त्यो प्रेमले पनि अर्थ राख्छ नै होला ।
त्यसपछि प्रेममा पर्नुभएन ?
एक वर्षपछि त मेरो पनि बिहे भइहाल्यो नि †
विवाहप्रति तपाईंको धारणा नि ?
विवाह सामाजिक बन्धन हो । तर, श्रीमान्/श्रीमतीबीच हुने दोहोरो सम्मानले मात्र यो जोडिइरहन्छ, त्यसो हुन सकेन भने स्वत: चुँडिन्छ ।
तपाइं नेपालमा ‘संघर्ष’ गर्दै हुनुहुन्छ, भाउजू उता कोरियामा । तपाईंको पारिवारिक जीवन सुखी छ त ?
‘विदेश’ मेरा लागि कहिल्यै ‘ड्रिम’ बनेन । उनको कोरिया जानुका आºनै सपना होलान् । कसैको सपनाको हत्यारा बन्नु मेरो मान्यताले मान्दैन । उनी गइन्, मैले रोकिनँ । पारिवारिक जीवन भन्ने कुरा लोग्ने/स्वास्नी बीचको दोहोरो सम्मानले मात्र सुखद् हुन्छ । जहाँ भए पनि सम्मान ठूलो कुरा हो, त्यो हामीसँग छ, सुखद् नै छ ।
श्रीमान्/श्रीमती यसरी टाढिएर बस्दा निरस लाग्दैन ?
सुरु–सुरुमा गाह्रो हुन्छ । तर, जीवन भनेको जसरी भोग्यो, बाँच्यो त्यसैमा सुखद ठान्दै जानुपर्छ । बढी दु:ख मान्यो भने त्यसले आफैँलाई खाइमार्छ । चुनौतीलाई पन्छाउँदै जानु प्रगतिशीलता हो, म त्यसैको पक्षपाती हुँ । मलाई त अचेलको आºनो जीवन ‘घच्ची’को पो लाग्छ ।
भनेपछि तपाईंको जीवन नियन्त्रणमै बितिरहेको छ त ?
एकदम । अनियन्त्रित भए त म कसरी लेख्न सक्छु र ? नियन्त्रणमा छु र नै त लेखनमा मेरो निरन्तरता छ ।
तपाईं आफूलाई फुलटाइमर लेखक भन्नुहुन्छ । तपाईंको आय ?
लेखकको आय भनेकै किताब र रचना हो । यस्तो पनि सोधिरहनुपर्छ र ? कोइकोइ बेला पाउने पुरस्कारले सघाउँछ । अझ, बेला–बेला मेरा शुभचिन्तकले सद्भावका साथ जबरजस्ती गोजीमा हालिदिनुहुने ‘खामबन्दी’ले विशेष गर्जो टार्छ । त्यसो त श्रीमतीले पनि पठाइदिन्छिन् नि कोरियाबाट ।
कत्तिले ‘मान्छे जन्मजात पाखण्डी हो’ भन्ने गरेको सुनेको छु । तपाईं पाखण्डी हुनुहुन्छ कि हुनुहुन्न ?
समाजमा भएका परम्परागत् कुरीति, कु–संस्कारविरुद्ध लाग्नेहरूमध्येको एक म हुँ, यस्तो प्रवृत्तिलाई परम्परागत चिन्तन बोकेकाहरूले ‘पाखण्ड’ भन्छन्, उनीहरूको अर्थमा त म पाखण्ड नै हुँ ।
तपाईंको लेख्ने मुड, तरिकाबारे बताइदिनुहुन्छ कि ?
जब कुनै विषयले तान्छ तब म त्यसमाथि घोत्लिन थाल्छु । यो विषय लेख्नै पर्छ भन्ने निष्कर्षमा पुगेपछि म त्यसलाई लेख्ने ‘संरचना’ बनाउन थाल्छु । नयाँ शैलीको प्रयास गर्छु अनि चित्तबुझ्दो भएपछि लेख्न थाल्छु । लेख्नुअघि नै मैले पात्र र प्रवृत्तिहरूको बायोडाटा, मनोविज्ञानलाई भने छिनोफानो गरिसक्नै पर्छ ।
साहित्य कलाको निमित्त या समाजको निमित्त कुन विचारलाई मान्नुहुन्छ ?
कलाविहीन साहित्य त बाँच्नै सक्दैन तर लेख्नेचाहिँ समाजकै निम्ति हो । परिवर्तनका लागि ।
तपाईं त धर्मलाई अफिमसरह ठान्नुहुन्छ क्यारे । होइन ?
हो । अफिम नै हो । सुरुमा यसले ‘लत’ बसाउँछ र पछि ‘कुलत’मा फसाउँछ । जसरी, जीवनभर भौतिकवादी भएका देवकोटा अन्त्यमा आएर ‘आखिर श्रीकष्ण रहेछन् एक’ भन्न लालायित भए ।
साहित्य सम्पूर्ण रूपमा जीवन हेर्ने ऐना हो भन्ने दर्शनलाई मान्नुहुन्छ ?
जीवनलाई मात्र भन्यो भने अलि बढी ‘आत्मकेन्द्रित’ हुन्छ होला । सामाजिक परिवर्तनका लडाइँ पनि त हो साहित्य ।
तपाईं त ‘सिर्जनशील अराजकता’ नामक साहित्यिक आन्दोलनको प्रवर्तक पनि, यो एउटा साहित्यिक हल्ला मात्र थियो कि त्यसमा कुनै सिद्धान्त पनि थियो ?
‘सिर्जनशील अराजकता’लाई कसैले हल्ला मात्रै ठान्छ भने उसले नेपाली समाजलाई एकांगी ढंगले मात्रै बुुझ्यो, ऊ रुढ हो, परिवर्तनविरोधी हो, पश्चगामी हो भन्न मलाई कुनै आपत्ति रहँदैन । जहाँसम्म सिद्धान्तको कुरा छ, हामी अर्थात् हाङ्युग अज्ञात, उपेन्द्र सुब्बा र मैले हाम्रो साहित्यिक आन्दोलनमार्फत नेपाली साहित्यमा पहिचानको मुद्दा उठाएका हौँ, नयाँ सौन्दर्यको खोजी गरौँ भनेका हौँ । नेपाली समाजको विविधतालाई सम्बोधन गर्ने लेखन गरौँ भनेका हौँ । हामीले त्यही लेख्यौँ ।
आफ्नो मान्यताहरूलाई साहित्यमा प्रयोग गर्न सफल हुनुभएको छ त ?
छ । हाम्रा रचनामा हामीले विषय उठान, पात्र र प्रवृत्तिको छनोटमा मात्र होइन, विम्ब, बनोट र लेखनको शैली–सिल्पमा समेत किनाराकृत, सीमान्तीकृत वा उत्पीडितहरूको सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक पक्षलाई भरपूर प्रयोग गर्‍यौँ, गरिरहेका छौँ । त्यसै कारण त नेपाली साहित्यमा हाम्रा कृतिहरूले विशेष अर्थ र महत्त्व बोक्छन् नि, होइन र ?
तपाईं पहिले माओवादीमा आबद्ध हुनुहुन्थ्यो क्यारे † अहिले फेरि माओवादीको सिद्धान्तबाट सन्तुष्ट नभएर हो वा के स्वार्थले हो, नयाँ पार्टीमा लाग्नुभा’छ । तपाईंको विचारमा ढुलमुलेपन भएन र ?
पहिले माओवादीले उत्पीडित जाति, समुदाय, क्षेत्र वा वर्गको आवाजलाई खरो रूपमा उठायो, मैले उसलाई रुचाएँ तर संविधान नै नलेखी जब संविधानसभा भंग भयो, के त्यसको दोषी माओवादीचाहिँ छैन र ? उसले चाहेको भए, जुनसुकै पार्टीहरूका किन नहुन् ‘पहिचानसहितको संघीयता’ पक्षधर ३ सय २० जना सभासद्को समर्थन प्राप्त गरेकै थियो, संविधानसभाको बैठक बस्न सक्थ्यो, अनि आउँथ्यो संविधान । कहीँ न कहीँ उसको नियतमा पनि शंका पैदा हुन्छ नै † अहिले ‘पहिचानसहितको संघीयता’लाई नै मूल मुद्दा बनाएर नयाँ पार्टी स्थापना भएको छ– संघीय समाजवादी पार्टी । म त्यसैमा लागेको छु । केको ढुलमुलेपना ? अझ भन्छु– म जहिल्यै ‘पहिचान’को पक्षपाती हुँ । पहिचानको अर्थ जातिवाद होइन, जातीय सम्मान हो भन्नेमा प्रस्ट छु । नेपाल अब ‘नयाँ राष्ट्रियता वा राष्ट्रवाद’को सिद्धान्तलाई नबोकी एक इन्च पनि अगाडि जानै सक्दैन । महेन्द्रकालीन डाँफे, खोला, नदी–नाला र पहाड–पर्वतको राष्ट्रवादलाई त हामीले पहिल्यै ललकारेको होइन र ?
साहित्यमा नश्लीय चेतना लेख्नु तपाईंको मात्र पेवाजस्तो भा’छ नि ?
किन र ? मलाई त त्यस्तो लाग्दैन । पछिल्ला समयका कृतिमा सबैले आºनै नश्लीय बोध र चेतना त लेखिरहेका छन् ।
तपाईं माक्र्सवादी भए पनि बाहुन/क्षत्रीलाई अत्यधिक गाली गर्नुहुन्छ, गुरु माक्र्सले त त्यसो गर्नू भनेका थिएनन् क्यारे †
त्यसोचाहिँ नभनौँ न । गाली त ‘बाहुन’ जातिलाई होइन, ‘प्रवृत्ति’लाई पो गरेको त । क्षत्रीलाई त मैले किन गाली गर्नु र ? जसले यो देशको इतिहास निर्माणमा हिजोदेखि रक्षा–कवचको भूमिका निर्वाह गरे, उनैलाई दोस्रो जाति बनाइएको छ, तिनप्रति मेरो सम्मान छ । जहाँसम्म माक्र्सको कुरा छ, उनले सामन्त, शासक र शोषक वर्गलाई नमस्कार गर्नू पनि त भनेनन् नि, उनले त तिनका विरुद्ध लड्नु नै भनेका छन्, त्यसै गरिएको पो त ।
नेपाली साहित्यको गतिबारे तपाईंको विचार के छ †
नेपाली साहित्यको गति प्रगतिशील छ । नयाँ–नयाँ आन्दोलन र अभियानहरूले नयाँ–नयाँ ‘विमर्श’ गरिरहेका छन् । यसले हामीलाई समृद्धशाली बनाउँदै ल्याइरहेको अवस्था छ । हामी नवीन विचार र सौन्दर्यको बहसमा खरो उत्रँदै छौँ, यसले हाम्रो साहित्यको आकार फराकिलो बनाउँदै छ ।
अँ साँच्ची, आजको नेपाली साहित्यलाई कुन स्थानमा राखे ठीक होला भन्ने सोच्नुहुन्छ ?
हामी हाम्रो घरको आँगनमा उभिएर हेर्दा जति परसम्म देख्छौँ त्यति मात्रै लेखिरहेका थियौँ । आºनो विचारलाई मात्र महान् ठान्दै थियौँ, आफूले बाँचेको समाज मात्र असल भनिरहेका थियौँ, अरूको विचार र विज्ञान बुझ्न हामी तयार भइसकेका थिएनौँ तर अब भने हामी विस्तारै ‘डिस्कोर्स’तिर लागेका छौँ । आँगन छाडेर अलि परको बाटोसम्म लम्कन थालेका छौँ ।
के नेपाली साहित्यका लागि कुनै संघ–संस्थाले गम्भीरतापूर्वक काम गरिरहेका छन् ? जस्तो कि नेपाल प्रज्ञा–प्रतिष्ठान ? तपाईंलाई कस्तो लाग्छ ?
त्यो सरकारी प्रज्ञा–प्रतिष्ठानको चाहिँ कुरै गर्नु पनि झुर हुन्छ । जाबो, वर्षमा एकचोटि कवि–गोष्ठी गर्दा त आºना आसेपासे, आफन्तलाई मात्र अवसर दिने र पुरस्कृत गर्नेले अरू के नै गतिलो गर्न सक्छ र ? भाषा, साहित्यको चिन्तन गर्नुको सट्टा आफूलाई भेट्न आउने मान्छेहरूलाई टेबल ठटाउँदै गजल सुनाउने प्राज्ञहरूले के नै लछार्न सक्छन् र ? बरु अन्य संघ–संस्थाले पो थोरै भए पनि ‘डिस्कोर्स’ गराउन थालेको, साहित्यकारलाई पनि सेलिब्रेटी बनाउन थालेको देख्छु म त ।
नेपाली साहित्यमा ओभररेटेड र अन्डररेटेड कृति कतिका छन् ?
धेरै छन् । नामचाहिँ नदिऊँ ।
तपाईंले पढेअनुसार पाँच उत्कृष्ट नेपाली उपन्यास ?
पाँचवटा मात्रै भन्ने अप्ठ्यारो प्रश्न हो, यो साथीभाइ भड्काउने नियतको प्रश्न पनि हो । नेपाली उपन्यासमा थुप्रै उत्कृष्ट कृति छन् । फेरि आºनोलाई भनूँ भने आºनै डम्फू बजाएको ठानिएला, नभन्दा पनि अर्घेलो पनि हुन जान्छ । तरै, ‘आज रमिता छ,’ ‘शिरीषको फूल,’ ‘अलिखित,’ ‘उलार’ र ‘लू’जस्ता कृति पढ्नै पर्छ भन्छु ।
नेपाली साहित्यका पाँच उत्कृष्ट पुस्तकको नाम लिनुपर्‍यो भने नि ?
साह्रै अर्घेलो प्रश्न हो यो पनि । नेपाली साहित्यमा सबै विधाका महत्त्वपूर्ण कृति छन् । यो र त्यो नभनौँ † धेरै कृतिले विशेष अर्थ र महत्त्व बोक्छन् हाम्रो नेपाली साहित्यमा ।
तपाइंलाई मन पर्ने नेपाली साहित्यकार ?
उत्पीडित जाति, समुदाय, क्षेत्र वा वर्गका पक्षमा लेख्ने, बोल्ने सबै साहित्यकार मलाई मन पर्छन् । अझ, खगेन्द्र संग्रौला दाइ निकै मन पर्छन् । बूढा वैचारिक रूपमा निकै प्रस्ट छन् । उनी खरो आलोचक पनि हुन् । लागेका कुरा प्वाक्कै भन्छन् । यस्तो छुचो मान्छे हाम्रोमा चाहिन्छ, अनि न आफूलाई निखार्न सकिन्छ ।
तपाईं आफूलाई चाहिँ कुन दर्जाको लेखक ठान्नुहुन्छ ?
बिचरा म † भर्खर साहित्यमा सिक्दै गरेको विद्यार्थी । कुन दर्जाको भन्नु र खै †
तपाईंलाई आफ्नो कुनचाहिँ रचना सर्वश्रेष्ठ लाग्छ नि ?
म आफू फुर्नसाथ लेखिहाल्दिनँ । कुनै विषयले मलाई ‘चसक्क’ बनायो भने त्यसमाथि निकै समय घोत्लिने मेरो बानी छ । हरेक रचनालाई म विशेष अर्थ र महत्त्वमा भन्न, लेखिसक्न रुचाउँछु । त्यसैले, तिनका आ–आºनै विशेषता छन् । विषय र अर्थको महत्त्वका आधारमा म मेरा रचना सबैलाई उत्तिकै माया गर्छु । यो मात्रै उत्कृष्ट भनेर मेरा अरू रचनामाथि निरंकुश बन्न चाहन्नँ, सबैले आ–आºनै समयको मुद्दा उठाएका छन्, उत्तिकै महत्त्वका छन् ।
दाइ, तपाईंका अरू केही रुचि छन् कि ?
आफूले भेटेका नयाँ मान्छेसँग सम्बन्ध स्थापित गर्नु, तिनलाई पात्र बनाएर लेख्न र लेखेका पात्रसित बसेर रक्सी खान, उनीहरूसितै टाढा–टाढा घुम्न जान साह्रै मज्जा लाग्छ ।
भनेपछि रक्सी खुबै पिउनुहुन्छ ?
बेस्सरी पिउँछु ।
कहिलेदेखि पिउन थाल्नुभएको ?
मेरो पहिलो प्रेम असफल भएदेखि नै हो । त्यसैबेलादेखि रक्सीको स्वाद पाइयो, छाड्न सकिएन ।
रक्सीले मात्दाका कुनै सम्झनलायक घटना छन् कि ?
कति छन् कति † कतिपल्ट मातेरै जेल परियो । कतिपल्ट मिल्ने साथीहरूलाई पिटेर पराइ बनाइयो । एकपल्ट मातेकै बेला ट्याक्सी ड्राइभरसँग भाडाको विषयलाई लिएर झगडा पर्‍यो । भक्कु कुटाइ पनि खाइयो ।
उसो भए त लेख्नेबेला पनि पिउनुहुन्छ होला नि ?
पिएर लेख्नचाहिँ पटक्कै सक्दिनँ । लेख्नका लागि मैले कम्तीमा दुई दिनअघिदेखि नै ‘फ्रेस’ हुनुपर्छ ।
तपाईंलाई जिन्दगीमा कुनै पाप गरेजस्तो लाग्छ कि लाग्दैन ?
लाग्छ । मैले १५ वर्षकै उमेरमा बिहे गरेँ । मेरी श्रीमतीले १६ वर्षकै उमेरमा बच्चा जन्माउनुपर्‍यो । मेरो जीवनको त्यो निकै ठूलो पाप हो । अहिले मेरा दुई छोरा बीस र अठार वर्षका भइसके, तिनलाई मैले एकपल्ट पनि काखमा नराखी ती हुर्किए । हुर्काउने जिम्मा मेरी आमा र श्रीमतीलाई मात्र लगाएँ । एक बाबु हुनाको अर्थमा मैले यो पनि गम्भीर पाप गरेँ । काठमाण्डूको दु:खसँग पहिल्यै डराएर हामीले हाम्रा दुई छोरापछि दुईवटा ‘एबर्सन’ गरायौँ, यो त झनै ठूलै पाप हो भन्ने लाग्छ, लागिरहन्छ ।

– प्रस्तुति : दीपक सापकोटा
[email protected]

प्रतिक्रिया