स्वरोजगार कोषले सहकारीलाई ५० करोड दिने

काठमाडौ : युवा व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष प्राडा पुण्यप्रसाद रेग्मीले कोषबाट वितरित रकम सहकारीले सही रूपमा परिचालन गरे/नगरेको तथा गतिविधिका लागि सहकारी अनुगमन गर्न ६० जना कर्मचारी थप गरिएको बताएका छन् । सहकारीमार्फत कोषको रकम वितरण गर्दा प्रभावकारी हुने बताउँदै उनले एक साताभित्र दोस्रो किस्ताको रकम प्रवाह गरिने बताए ।

त्यस्तै, कोषको कार्यक्रम प्रभावकारी बनाउन कम्तीमा पनि १० वर्षेे रणनीति बनाउने योजना रहेको उनको भनाइ थियो । युवा स्वरोजगार कोष व्यवसायी कोष तथा सूचना चौतारी सञ्चार सहकारीको आयोजनामा भएको युवा स्वरोजगारमा सहकारीको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा रेग्मीले सो कुरा बताएका हुन् । ‘आर्थिक विकास गर्न कोषको कार्यक्रम प्रभावकारी छ,’ उनले भने, ‘हामी सबै माध्यमबाट कोषको रकम वितरण गर्न चाहन्छौँ ।’ हाल ५ सय ५९ सहकारीमार्फत पहिलो किस्ताबापत ३० करोड रकम वितरण गरिसकेको बताए । ‘मापदण्ड बनाएर आफूहरूले सहकारीको छनोट गरेका हौँ,’ रेग्मीले भने, ‘रकम वितरण दुरुपयोग हुन नदिन अनुगमनलाई प्रभावकारी दिने तयारीमा छौँ ।’ एक साताभित्र सहकारी दोस्रो किस्ताबापतको ५० करोड रकम बाँढ्ने पनि उनले बताए ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले युवा स्वरोजगार कोषको रकम दुरुपयोग हुन नदिन सबै सचेत हुनुपर्ने बताए । केहीले ऋण पाइन्छ कि भनेर कोषको रकम माग्ने गरेका छन्, तर त्यसो गर्दा डुबिने सम्भावना बढी हुने उनले बताए । लगानी गर्ने क्रममा सम्बन्धित विषयगत संघको निगरानीमा दिँदा प्रभाकारी बताए । त्यस्तै, युवा स्वरोजगार व्यवसायी कोषका कार्यकारी निर्देशक विनोदप्रसाद गुरागाइँले सहकारीमार्फत एक गाउँ एक उत्पादन गर्न आवश्यक रहेको बताए । सहकारी तथा सरकारी बैंकसँग एक/एक अर्ब बजेट परिचालन गर्ने सम्झौता भएको बताए । बेरोजगारी समस्या समाधान गर्न कोषको कार्यक्रम फलदायी भएको सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले बताए । रोजगारी खोज्दै भौंतारिनुभन्दा सहुलियतमा ऋण लिएर स्वरोजगार हुनु अत्यन्त राम्रो कार्यक्रम रहेको उनका भनाइ थियो । कोषको रकम वितरण व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएको भन्दै कोषको रकम लिने सबै सहकारीको अनुगमन गरिने बताए । (सौस)

प्रतिक्रिया