आर्मी “दुर्लभ” फाइनलमा

Army-Football-Clubकाठमाडौं, ३० जेठ । राम्रो प्रदर्शन गरे पनि महत्त्वपूर्ण समयमा नतिजा आफ्नो पक्षमा निकाल्न नसक्ने टोलीका रूपमा ‘ट्याग’ लाग्ने गरेको नेपाल आर्मी यसपटक भने कथा फरक लेख्दै १० लाख रुपियाँ उपाधि राशिको गोर्खा कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा ३–० ले हराउँदै आर्मीले नकआउट फुटबल प्रतियोगितामा ‘दुर्लभ’ फाइनल यात्रा तय गरेको हो ।

समूह चरणदेखि नै अप्रत्याशित नतिजा निकाल्न सुरु गरेको गत बी डिभिजन च्याम्पियन ब्वाइज, आर्मीको उच्च लयको पेससामु खेलभर एउटा गोलको अवसरसमेत सिर्जना गर्न असफल भयो । करिब आधा दर्जनजति गोलका अवसरमा नजिक पुगेको आर्मीको जितमा राजु नेपाली, रामकुमार विश्वास र नरेश मेचेले गोल गरे । डी–बक्सबाहिरबाट राजुले गरेको सामान्य प्रहार ब्वाइजका गोलकिपर राजु योगीले पन्जामा पारेर पनि फुत्काउँदा १४ औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो । निकै गतिलो सुरुआत गरेको कम अनुभवी ब्वाइजविरुद्ध आर्मी यसै गोलमार्फत हावी हुन थालेको थियो ।
मध्यान्तरअघि नरेशले सिक्स यार्ड सर्कलबाट वन भर्सेस वनमा गोल गर्न चुक्दा आर्मी मध्यान्तरसम्म १–० ले मात्र अगाडि रह्यो । दोस्रो हाफको सुरुआतमै नरेशको प्रहार क्रस बारमा लागेर फर्किए पनि ५५औँ मिनेटमा आर्मीले डिफेन्डर रामकुमार विश्वासमार्फत दोस्रो गोल गर्‍यो । राजु तामाङको क्रसमा अग्ला कदका विश्वासले हेडमार्फत गोल गरी आर्मीको अग्रता दोब्बर पारी दिएका थिए । लगत्तै टंक बस्नेतले राम्रो क्रस निकालिदिए पनि गोलकिपरसमेत बिट भएको अवस्थामा आर्मीका काशीराम कार्कीले क्लोज रेन्जबाट खालीपोस्टमा गोल गर्न सकेनन् । अघिल्ला दुई अवसरमा असफल भएपछि गोल गर्न निकै आतुर देखिएका नरेश ७०औँ मिनेटमा सफल भए ।
राजु तामाङले बनाएको काउन्टर मुभमा नरेशले तेज गतिमा दुई डिफेन्डरलाई पछि पार्दै वन भर्सेस वनमा गोल गरेका थिए । पहिलो हाफमा ब्वाइजले लगातार खेलमा फर्कने प्रयास गरे पनि आर्मीको बलियो रक्षापंक्तिसामु त्यो सफल हुन सकेन । जावलाखेल, हिमालयन शेर्पा र आरसिटीलाई हराउँदै ब्वाइजले गरेको सेमिफाइनलमा यात्रामा मुख्य रूपमा दुई खेलाडी कोमल श्रेष्ठ र असीमजंग कार्कीको श्रेय थियो ।
दुई महत्त्वपूर्ण खेलाडी भरत खवास र नवयुग श्रेष्ठविनै सहभागी भइरहेको आर्मी टंक बस्नेत, टेकबहादुर बुढाथोकी, राजु तामाङ तथा दुई नयाँ खेलाडी नरेश मेचे र काशीराज कार्कीको प्रदर्शनबाट प्रेरित छ । यी सबै लयमा देखिएका छन् । यसअघि २०६३ को सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो हुनुबाहेक आर्मीले राजधानीमा हुने प्रतियोगितामा नतिजाका हिसाबले खास प्रभाव छाड्न सकेको छैन । आर्मीले उपाधिका लागि मनाङ र थ्री–स्टारबीच बिहीबार हुने सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया