काठमाडौं, ३० जेठ । प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) अन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडतर्फ छात्रमा अमन चौधरी र छात्रामा सन्जु चौधरीले बुधबार स्वर्ण जितेका छन् । दुवै मध्यपश्चिमाञ्चलका हुन् । निर्धारित दूरी पार गर्न अमनले २४ सेकेन्ड र सन्जुले २७.६ सेकेन्ड समय लगाए । छात्रमा मध्यमाञ्चलका सुजित महत दोस्रो र पूर्वाञ्चलका राहुल माझी तेस्रो भए । छात्रामा मध्यमाञ्चलकी सन्ध्या अचार्यले रजत र पश्चिमाञ्चलकी सविना भट्टराईले कांस्य जिते ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रको ८ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका रम्जान अली सल्मानीले स्वर्ण हात पारे । उनले २ मिनेट ०६.९ सेकेन्ड समय खर्चे । मध्यमाञ्चलका आदित्य शाक्य दोस्रो र पूर्वाञ्चलका सुनील सिंह तेस्रो भए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी रमिता थारूले बाजी मारिन् । शीर्षस्थान कब्जा गर्ने क्रममा रमिताले २ मिनेट ४३.२ सेकेन्ड समय निकालिन् । सुदूरपश्चिमाञ्चलकी सरस्वती बुढा दोस्रो भइन् भने पूर्वाञ्चलकी सपना विक तेस्रो स्थानमा रहिन् । छात्राको ३ हजार मिटर दौड १० मिनेट १६.४ सेकेन्डमा पूरा गर्दै मध्यपश्चिमाञ्चलका सागर बुढाथोकीले पहिलो स्थान कब्जा गरे । मध्यमाञ्चलका अच्युतराज गिरी दोस्रो र पश्चिमाञ्चलका रोहित अधिकारी तेस्रो बने ।
त्यसै स्पर्धाको छात्रामा मध्यमाञ्चलकी संगीता खड्काले सबै प्रतिद्वन्द्वीलाई उछिन्दै पहिलो स्थान हात पारिन् । संगीताले ११ मिनेट ३८.७ सेकेन्ड समय लगाइन् । मध्यपश्चिमाञ्चलकी रेस्मा बस्नेत दोस्रो तथा पश्चिमाञ्चलकी कृति सेन तेस्रा भए । ४ गुणा ४०० मिटर रिलेको छात्रमा मध्यपश्चिमाञ्चल पहिलो, मध्यमाञ्चल दोस्रो तथा पूर्वाञ्चल तेस्रो भए । सोही स्पर्धाको छात्रामा मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पूर्वाञ्चल क्रमश: शीर्ष तीन स्थानमा रहे । दुईदिने एथलेटिक्सको ट्रयाक मात्र १६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
कबड्डीमा सुदूरपश्चिम पहिलो
छात्रको कबड्डीमा सुदूरपश्चिमाञ्चल पहिलो स्थानमा रह्यो । फाइनलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ८७–५० ले पाखा लगायो ।
मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझायो । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ५५–१४ ले पन्छायो । यसअघि छात्रामा मध्यमाञ्चल पहिलो भएको थियो ।
क्रिकेटमा पूर्वाञ्चल र पश्चिम च्याम्पियन
क्रिकेटको छात्रामा पूर्वाञ्चल र छात्रमा पश्चिमाञ्चल पहिलो भए । दुवै समूहको फाइनलमा यिनै दुई टोली भिडेका थिए । एकमा पूर्वाञ्चल र अर्कोमा पश्चिमाञ्चल च्याम्पियन बनेका हुन् ।
पुल्चोकस्थित इन्जिनिएरिङ कलेजमा भएको छात्राको फाइनलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ५२ रनले पराजित गर्यो । छात्रको उपाधि भिडन्तमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३४ रनले निराश पार्यो ।
प्रतिक्रिया