गुल्मी : प्लास्टिकमुक्त जिल्ला बनाउन गुल्मीमा प्लास्टिक झोला प्रयोग नगर्ने अभियान सुरु गरिएको छ । प्लास्टिकमुक्त जिल्ला बनाउने अभियानअन्तर्गत यहाँ फाइवर झोला प्रयोग गर्ने अभियान सुरु गरिएको हो ।
गुल्मी उद्योग वाणिज्य संघले प्लास्टिकमुक्त बनाउने अभियानअन्तर्गत फाइबर झोला बनाउन सुरु गरेको छ । कालो प्लास्टिक विस्थापन गरी सेता झोला मात्रै प्रयोग भएको जिल्लामा अब फाइवर झोला प्रयोग गरी प्लास्टिकका कुनै पनि झोला प्रयोग गर्न नदिइने उद्योग वाणिज्य संघले जनाएको छ । सङ्घले २० जना महिलालाई फाइबर झोला बनाउने तालिमसमेत दिएको छ ।
जिल्ला विकास समितिबाट ५० हजार, घरेलु तथा साना उद्योग विकास समितिबाट ८० हजार, गुल्मी उद्योग वाणिज्य संघबाट ४० हजार र तालिम संयोजन संस्था कल्याणकारी आमा समूह तम्घास–१ र ३ का महिलाबाट २० हजार गरी एक लाख ८० हजार लगानी गरी एकमहिने फाइवर झोला बनाउने तालिम दिइएको वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले बताए ।
तालिम समापन तथा झोला प्रयोग अभियानको शुभारम्भ गर्दै जिल्ला न्यायाधीश कृष्णराम कोइरालाले गुल्मीमा फाइवर झोला, वातावरण संरक्षणका लागि मात्र नभई उद्यमशीलता र भविष्यमा गुल्मीको गतिलो आर्थिक स्रोत हुने बताए ।
साझेदारी संस्था घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोख्रेलले प्लास्टिक झोलालाई विस्थापित गर्न बाँसबाट पनि झोला र अन्य घरेलु प्रयोगको सामग्री उत्पादनको प्रयास भइरहेको पनि उनले बताए । यसैबीच सरकारी कार्यालयलाई सफा राख्न जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको सरकारी कार्यालयको अनुगमनमा तीन कार्यालय पुरस्कृत भएका छन् ।
यसरी पुरस्कृत हुनेमा सिँचाइ कार्यालय, कोष तथा लेखा निरीक्षण कार्यालय र जिल्ला वन कार्यालय रहेका छन् । समितिले सरसफाइ सप्ताहको अवसरमा ती कार्यालयलाई पुरस्कृत गरेको हो । ुगमन समितिका संयोजक विष्णुप्रसाद भण्डारीले जिल्लाका २२ वटा सरकारी कार्यालयको अनुगमन गर्दा ती हार्यालयहरू सबैभन्दा राम्रो भएको पाइएको बताए । उत्कृष्ट कार्यालयलाई प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले कदरपत्र प्रदान गरी सम्मान गरेका थिए ।
प्रतिक्रिया