बाली र पशु बिमामा काम गर्न निर्देशन

काठमाडौं : अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बाली बिमा र पशु बिमाको काम तत्काल थाल्न बिमा समितिलाई निर्देशन दिएका छन् । समितिको निरीक्षणपछि सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिँदै उनले सरकारको निर्णयलाई ठट्टा नसम्झन पनि सचेत गराए ।
नियामक निकायले अरूलाई दोष दिएर आफू पन्छिन नमिल्ने बताउँदै अर्थमन्त्री कोइरालाले समितिमा विषयगत विज्ञको खाँचो औँल्याए । उनले भने, ‘विज्ञ समूह बनाएर तत्काल काम थाल्नुस् ।’
‘इतिहासका दृष्टिले पुरानो भए पनि बिमाको काम प्रभावकारी देखिएन । यसको सुधारका लागि नीतिगत, प्रक्रियागत र कानुनी प्रक्रिया सुल्झाउन सरकार तयार छ । आगामी बजेटमा पनि सुधारका खाका लिएर आउनुस् ।’ अर्थमन्त्री कोइरालाले भने, ‘समितिका कर्मचारी इमानदार र दक्षताका दृष्टिले आदर्श बन्नुपर्छ । पारदर्शिता नै संस्थाको प्राण हो । त्यसैले पूर्वाग्रहका आधारमा कसैलाई काखा र कसैलाई पाखा गरिएको स्थिति मेरा लागि सैह्य हुँदैन् ।’
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले बिमा कम्पनीलाई एकद्वार प्रणालीमा ल्याउन सुझाव दिए । उनले संस्थानको लेखा परीक्षण नहुनु दुर्भाग्यपूर्ण भएको बताउँदै ठगी गर्ने संस्थालाई ठीक पार्न छुट्टै ठगी नियन्त्रण ब्युरो स्थापना हुनुपर्नेमा जोड दिए ।
समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले राष्ट्र बैंक, धितोपत्र बोर्ड र समितिलाई समान दृष्टिले हेर्न आग्रह गरे । उनले बिमा ऐनमा रहेका केही विषयले काममा बाधा पारेकाले त्यसको संशोधन गर्न आग्रह गर्दै नेसनल ट्रेडिङले बेच्ने तयारी गरेको रामशाहपथको जग्गा बिमा समितिलाई उपलब्ध गराइदिन सरकारसंग माग गरे । नेपालमा हाल २५ बिमा कम्पनी छन् । कुल जनसंख्यामध्ये ४ प्रतिशतले मात्रै बिमा गरेका छन् ।

प्रतिक्रिया