आपसमै लडेर कति मर्ने हुन् ?

anil-yogiनेपालको राजनीतिमा गलत भूमिका निर्वाह गरिरहेका मानिस राजनीतिको नाममा आफूलाई बलियो देखाउन फेरि राष्ट्र र जनता जनार्दनको ढाड भाँच्न कम्बरकसेर लाग्दै छन् । जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकार र अमनचयन खोस्ने, राष्ट्रलाई विदेशीको निगरानीमा राख्ने, नेपाली जनतालाई आपसमा लडेर मर्न र मार्न सिकाउने प्रवृत्तिलाई हामी नेपालीले राजनीति ठानेका छौँ । हजाराँ जनताको उठिवास गराउने फगत मानव बिनासको बर्बतापूर्ण युद्ध र प्रतियुद्ध हाँक्नलाई हामीले निर्धक्क काँधमा बोकेका छौँ । नेताहरू राज्यको सम्पत्तिमा बाँच्दै छन जनता को पेट भोको छ, शरीर नांगो छ । नेपाली जनतालाई दास र विदेशीलाई मालिक मान्ने प्रवृत्तिलाई हामी लोकतन्त्र भन्दै छौँ । हाम्रो यो कमजोर राजनीतिक चिन्तनलाई सुधार्न सकेनाँै भने देश फेरि अर्को चरणको दुर्घटनामा पर्ने खतरा बढिरहेको छ । धर्म, जात, भाषा र भूगोलको आधारमा जनतालाई आपसमै लड्नुपर्ने खालका उत्ताउला कुरा गरेर जनताको भावनामा चोट पुर्‍याउने प्रवृत्तिलाई नेताहरूले सबल राजनीतिक चिन्तन ठानिरहेका छन् ।

नेपाली नेताहरू हात हतियार ओसारपसार र तस्करीमा समेत सम्लग्न भएका समाचार सुन्नमा आए । जनताका लागि सिन्को पनि नभाँच्ने आफ्ना साखासन्तानका लागि स्वदेश र विदेशमा स्वर्ग निमार्ण गर्न सत्ता र शक्तिका लागि निरन्तर आपसमा लड्ने प्रवृत्ति दलका नेताको मौलिकता नै हो । हजारौँ जनताको इहलीला समाप्त पार्ने, कसैलाई अपांग बनाउने कसैलाई बेपत्ता पार्नेसम्मका अपराध राजनीतिको नाममा दलका नेताले गरेका प्रशस्त उदाहरण हाम्रा अगाडि छन् । निर्दोष जनताको अपहरण र चन्दा आतंकको भयाभव राजको विस्तार गर्ने कामलाई दलका नेताले निस्तेज गर्न सकेनन् । राजनीतिको नाममा दलका नेताहरूले विस्तार गरेका महत्त्वपूर्ण विषय यिनै हुन् । यीभन्दा फरक कुरा कसैले देखेको र बुझेको छ भने उसको पनि आफ्नैखालको मूल्यांकन होला । हामी आफूलाई यो राष्ट्रका जिम्वेवार नागरिक भनेर मान्ने हो भने यी उल्लिखित सबै अपराध सहेर बस्ने हामी पनि अपराधीकै कोटिमा पर्छौं ।
मूल कुरा राष्ट्रलाई यसरी अनिर्णयको बन्दी बनाउनु र जनतालाई आफ्नै देशभित्र कुनै अपराध गरेको अपराधीले जस्तो बाँच्नुपर्ने अवस्था सिर्जना गर्ने राजनीतिक दलको कार्यसूचीजस्तै देखिन्छ । देशभित्र जे हुन नपर्ने हो त्यही भइरहेको छ । हामीजस्ता राष्ट्र र जनताका पक्षमा बोल्ने निरीह प्राणीका आवाजलाई कसैले गणना गर्ने गरेको छैन । जुन देशमा इमान्दार शासकहरू हुँदैनन् र जनता पनि राजनीतिक रूपमा सचेत हुन सक्दैनन् त्यस्ता कुनै पनि राष्ट्रको सायद योभन्दा फरक अवस्था हुँदैन । राजनीतिक दलका नेताले देश र जनताप्रति गरेका हजारौँ अपराधको फेहरिस्त खोतल्ने हो भने उनीहरूलाई माफी दिने आधार भेटिँदैन । यो हाम्रो आक्रोश मात्र हो । जसले देशको संविधान नियमकानुन मान्दैनन् तिनीहरूलाई नै राज्यका सर्वशक्तिवान् मान्य हाम्रो राजनीतिक चिन्तनले देशको अस्मिता धरापमा परेको छ । देशभित्र दलका नेतालाई कुनै पनि प्रकारको बन्धनमा बाँधिनुपर्ने प्रावधान छैन । छोडुवा साँढेले किसानको बाली बर्बाद गरे जसरी जनतालाई बन्धक बनाएर दलका नेता समाज भाँड्दै छन् देशलाई मास्दै छन् ।
नेपाली जनताको पसिनाबाट संचित राज्य कोषबाट बाँचेका फरकफरक राजनीतिक सिद्धान्तका खेलाडीहरू वास्तविक जनताका हितका पक्षमा छैनन्, उनीहरूलाई केवल सत्ता र शक्ति कुनै पनि हालतमा चाहिएको छ । राष्ट्र र जनताको जीवन जेसुकै होस, उनीहरूलाई कुनै प्रवाह छैन । सबैका राजनीतिक कर्मले यही कुराको पुष्टी हुँदै गएका छन् । जसले देशको अवस्था बुझ्दैनन् समाजको व्यवस्था मिलाउन सक्दैनन् र राजनीतिक क्षमता पनि राख्दैनन् त्यस्ता अक्षम व्यक्तिहरू राजनीतिमा सक्रिय हँुदैमा त्यो राजनीति हुन सक्दैन ।
२०४६/सालको जनआन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्ने युवालाई संसद्वादीले चरम रूपमा दुरुपयोग गरे । व्यवस्था सञ्चालन गर्ने पात्रहरू मात्र परिवर्तन भए । परिवर्तनका निमित्त आन्दोलनमा होमिएका युवालाई सत्ताका वरिपरि घुमाउने कामबाहेक कुनै पनि भूमिका दिने काम भएन । त्यतिबेला राजनीतिक दलका नेताले प्रयोग गरेका युवाको उमेर ढल्कदै गयो । नत उनीहरूले वास्तविक प्रजातन्त्र स्थापना गर्न सके नत विधिको शासन । तात्कालीन सत्ता र व्यवस्थाको मार खप्न नसकेर भौँतारिएका युवालाई माओवादीले संगठित गर्‍यो र हिंसात्मक आन्दोलन सुरु गर्‍यो । उसले पनि युवाहरूलाई अयोग्यताको बिल्ला भिराएर सडकमा छोडिदियो ।
माओवादीले प्रयोग गरेका युवाको आन्तरिक दुस्साहसपूर्ण तागत र विदेशीको बलमा प्रजातन्त्रको ठाउँमा लोकतन्त्र स्थापना भएको हो भन्ने भनाइ त छ तर जनताका जीवनमा प्रत्यक्ष असर नगर्ने व्यवस्था लोकतन्त्र हुन सक्दैन भन्न मानिस लाज मान्दै छन् । युवाहरूको सन्दर्भमा भन्ने हो भने माओवादीले पनि दुरुपयोग गर्‍यो । नेपालका राजनीतिक दलका तागत भनेका योग्यता र क्षमता भएका तर जीवन बाँच्नका लागि विकल्प नभएका युवा नै हुन् । युवाहरूलाई प्रयोग मात्र गर्ने होइन, समाज व्यवस्था मिलाउनका लागि पनि युवाको तागतलाई उपयोगमा ल्याउनुपर्छ भन्ने कुरा दलका नेताले जानेनन् किनकि युवा भनेका समाज परिवर्तनका संवाहक हुन भन्ने विश्वव्यापी मान्यता छ । उनीहरूको जीवनशैलीमा आएको समस्याको पहिचान गर्दै अल्पकालीन र दीर्घकालीन विकल्पसहित युवाहरूलाई परिचालन गर्न सकियो भने शान्ति, अमनचयन र राष्ट्रको विकास सम्भव हुन सक्छ भन्ने कुरा दलका नेताले जानेर पनि युवाहरूलाई केवल आफ्नो स्वार्थका लागि प्रयोग गर्ने काम गरियो । विकल्पबिनाको सस्तो राजनीतिक नारामा मात्र नेपाली युवाहरूलाई अब समेट्न सकिने अवस्था छैन । नेपाली युवामाथि राजनीतिको नाममा भए गरेका अन्याय र अत्याचारको चिरफार गर्दै उनीहरूलाई राज्य व्यवस्था सञ्चालनको भूमिका निर्वाह गर्न सक्ने बनाउनु आवश्यक थियो, दलका नेताले त्यो पनि गरेनन् ।
देश निर्माणमा लगाउनुपर्ने युवाका हातमा बन्दुक, खुकुरी, तरबार थमाउने, दिमागमा गरिबी, अभाव, बेरोजगारीको आतंक थमाएर मर्न र मार्न उक्साउने राजनीतिक दलका नेताको योजना खतर्नाक छ । यस विषयमा युवाहरूलाई सजग गराउनु आवश्यक छ । हरेक राजनीतिक दलसँग जोडिएका युवाहरूलाई राजनीतिक र सामाजिक क्षेत्रमा सम्मानजनक ठाउँ दिएर राष्ट्र निर्माणमा नलगाउने हो भने सबैको राजनीति अब धरापमा पर्नेछ ।
कुनै पनि जातजाति, भाषाभाषिका जनताको स्वाभिमान र आत्मसम्मानमा चोट नपुग्ने ढंगले मौलिक राजनीतिक संस्कारलाई अवलम्बन गर्नु आजको अवश्यक्ता हो । विचार आदानप्रदान र सकारात्मक चिन्तनको विकासका निमित्त सबैले प्रयत्न गरौँ । राष्ट्रको उत्थानका निमित्त राजनीतिक विचारका दृष्टिले परिपक्व भए पनि आर्थिक अभाव भएका कारण ओझेलमा परेका व्यक्तिहरूलाई आफ्नो क्षेत्र र राष्ट्रका लागि केही गरौँ भनेर जागरुक गराउँदै संगठित गराउन पहलकदमी गर्न सकिएन भने हामीले आपसमा लडाइँ लडेर मर्नुबाहेक हाम्रा अगाडि अर्को विकल्प हुनेछैन ।
देश खतरनाक हिंसाको मोडमा अडिएको छ । विगत माओवादी हिंसासँग तत्कालीन राज्य व्यवस्थाको नीतिनियममा रहेर लडेको नेपाली सेनाले उदारता देखाएर पूर्व लडाकाहरूलाई आफूभित्र समाहित गराउने काम गरिसक्यो । राजनीतिको नाममा राष्ट्रिय सेनालाई दलका नेताले गम्भीर प्रकारको धोका दिएका छन् । राजनीतिक दल र नेताहरूप्रति नेपाली सेनाले भरोसा गर्न छाडेको छ यो सहज अवस्था होइन । प्रजातन्त्र वा लोकतन्त्र व्यवस्थाको नाम जे राखे पनि त्यसलाई बदनाम गर्ने काम दलका नेताबाट नै हुने गरेको छ । सधँै जनतालाई प्रजातन्त्रका लागि भनेर अब आन्दोलित गराउन सकिने अवस्था कमजोर हुँदै गएको छ । दुई ठूला छिमेकी राष्ट्रका बीचमा रहेको यो राष्ट्र र लगभग एकलाख हाराहारीको सेनाले मात्रै देशको बिग्रदो अवस्थालाई सुधार गर्दै राष्ट्रको रक्षा गर्न सक्दैन । संकट समाधानका लागि सहयोगी भूमिका मात्र खेल्न सक्छ ।
राजनीतिको नाममा नेपालीले आफ्नो राष्ट्रलाई कमजोर बनाउनु हुँदैन भन्ने विचारका आधारमा काम गर्ने हो भने यो देश अब अर्को चरणको विवादमा जाने छैन । अन्यथा के हुन्छ कसैले भन्न सकिने अवस्था छैन । सबैलाई चेतना भया ।

प्रतिक्रिया