राष्ट्रिय विद्यालय खेलकुद सुरु

main_sportsकाठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप), विद्यालय खेलकुद विकास बोर्डको तत्त्वावधानमा एनप्याब्सन, प्याब्सन र हिसानको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) मंगलबारदेखि राजधानीमा सुरु भएको छ ।
पहिलो दिन एनप्याब्सनले सञ्चालन गर्ने जिम्मा पाएको तीन खेल एथलेटिक्स, क्रिकेट र कबड्डीका प्रतिस्पर्धा सुरु भए । प्रतियोगिताको राखेप सदस्य–सचिव युवराज लामाले वसन्तपुरमा उद्घाटन गरे । उद्घाटनपछि वसन्तपुरबाट र्‍याली निकालिएको थियो । र्‍याली विभिन्न भागको परिक्रमा गरी त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आएर टुंगिएपछि पुन: कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव लामाले खेलाडीको प्रतिभा पहिचान र खेलकुदको विकास गर्न विद्यालयमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
‘विद्यालय खेलकुदमा केन्द्रित भएनौँ भने खेलकुदको विकास सम्भव छैन । जुन हिसाबले हामीले यसको सुरुआत गरेका छौँ, खेलकुदको विकासले अझ फड्को मार्ने विश्वास लिएका छौँ ।’ सदस्य–सचिव लामाले भने, ‘यो खेलकुदमार्फत हामी समाजमा खेलकुदको राम्रो सन्देश प्रवाह गर्न सफल भएका छौँ । यो अभियानमा साथ दिने विद्यार्थी खेलाडी, विभिन्न विद्यालय, शैक्षिक संस्थालगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’
एनप्याब्सनकी अध्यक्ष गीता राणाले विद्यालय खेलकुदको महत्त्वलाई बुझेर विभिन्न शैक्षिक संस्थासँग सहकार्य गरी अगाडि बढेकोमा राखेप सदस्य–सचिव युवराज लामाप्रति आभार व्यक्त गरिन् ।
एथलेटिक्स : सन्जु र संगमलाई स्वर्ण खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडेको छात्रामा मध्यपश्चिमाञ्चलकी सन्जु चौधरी र छात्रमा मध्यमाञ्चलका संगम शाहीले स्वर्ण जिते । निर्धारित दूरी सन्जुले १३.४ सेकेन्ड र संगमले ११.८ सेकेन्डमा तय गरे । छात्रामा मध्यमाञ्चलकी अनिता थापा दोस्रो र पूर्वाञ्चलकी सरिता कालीकोटे तेस्रो भए । छात्रमा मध्यपश्चिमाञ्चलका अमन चौधरी दोस्रो र पूर्वाञ्चलका उत्सव श्रेष्ठ तेस्रो स्थानमा रहे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १ हजार ५ सय मिटर दौडको छात्रमा मध्यमाञ्चलका अच्युतराज गिरीले स्वर्ण जिते । उनले ४ मिनेट ४५.३ सेकेन्ड समय खर्चे । मध्यपश्चिमाञ्चलकाका हरि धारुकले रजत र पूर्वाञ्चलका पंकज पोखरेलले कांस्य प्राप्त गरे । सोही स्पर्धाको छात्रामा निर्धारित दूरी ५ मिनेट ११.८ सेकेन्डमा पूरा गर्दै मध्यमाञ्चलकी संगीता खड्का शीर्षस्थानमा रहिन् । मध्यपश्चिमाञ्चलकी पद्मा रिमाल दोस्रो र सुदूरपश्चिमाञ्चलकी लक्ष्मी बुढा तेस्रो बने । छात्रको ४ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका रमिजान अली सल्मानी पहिलो भए । उनले ५२.७ सेकेन्ड समय लगाए । पूर्वाञ्चलका जीवन अधिकारी दोस्रो र मध्यमाञ्चलका मीनबहादुर चौधरी तेस्रो भए । त्यसै स्पर्धाको छात्रामा मध्यमाञ्चलकी अनिता थापाले स्वर्ण चुमिन् । अनिताले १ मिनेट ०८.५ सेकेन्ड समय लगाइन् । मध्यपश्चिमाञ्चलकी तुलसा खत्रीले रजत र पश्चिमाञ्चलकी संस्कृति पौडेलले कांस्य जिते । ४ गुणा १०० मिटर रिलेको छात्रमा मध्यपश्चिमाञ्चल पहिलो, पूर्वाञ्चल दोस्रो तथा मध्यमाञ्चल तेस्रो भए । उक्त स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्रमश: शीर्ष तीन स्थानमा रहे ।
कबड्डी : मध्यमाञ्चलले उपाधि उचाल्यो
खेलकुदअन्तर्गत छात्रा कबड्डीको उपाधि मध्यमाञ्चलले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा भएको फाइनलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २३–२१ को साँघुरो अन्तरले हरायो । छात्रमा पूर्वाञ्चलले फाइनल यात्रा तय गर्‍यो । पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ८२–५९ अंकले पाखा लगायो । सुदूरपश्चिमाञ्चल सेमिफाइनलमा पुग्यो । सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ८१–२१ को भारीअन्तरले पराजित गर्‍यो । सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलको भेट मध्यमाञ्चलसंग हुनेछ ।

प्रतिक्रिया