पहिलो राष्ट्रिय विद्यालय खेलकुद आजदेखि

काठमाडौं, २८ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तत्वावधानमा एनप्याब्सन, प्याब्सन र हिसानको संयुक्त आयोजनामा हुने प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) अन्तर्गत तीन खेलको प्रतिस्पर्धा मंगलबारदेखि सुरु हुँदैछ । एनप्याब्सनको भागमा परेका तीन खेल एथलेटिक्स, क्रिकेट र कबड्डी मंगलबारदेखि सुरु हुन लागेको हो । कुपन्डोलस्थित आफ्नै कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी एनप्याब्सनकी अध्यक्ष गीता राणाले सोको जानकारी गराइन् ।

तीनवटै खेलमा पाँच विकास क्षेत्रका छात्र र छात्रा टोलीको सहभागिता रहनेछ । एथलेटिक्समा १६ सहित कूल २० स्वर्णका लागि भिडन्त हुने एनप्याब्सनका महासचिव ऋतुराज सापकोटाले बताए । एथलेटिक्समा ट्रयाक इभेन्ट मात्र राखिएको छ । १६ वर्षमुनिका विद्यार्थी खेलाडीले भाग लिन पाउने एनप्याब्सनका उपाध्यक्ष सूर्य अधिकारीले जानकारी गराए । एथलेटिक्स दशरथ रंगशाला, क्रिकेट पुल्चोक इन्जिनियरिङ कलेज तथा कबड्डी राखेपको कभर्डहलमा हुनेछ ।
खेल सुरु हुनअघि वसन्तपुरबाट र्‍याली निकालिने आयोजकले जनाएको छ । र्‍याली विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामा आएर टुंगिनेछ । त्यसपछि राखेप सदस्य–सचिव युवराज लामाले प्रतियोगिताको उद्घाटन गर्नेछन् । राष्ट्रिय विद्यालय खेलकुदको औपचारिक उद्घाटन भने शुक्रबार हुनेछ ।
राष्ट्रिय विद्यालय खेलकुदमा १३ खेल समावेश छन् । हिसानले भलिबल, टेबलटेनिस, पौडी, ब्याडमिन्टन र बास्केटबल तथा प्याब्सनले बाघचाल, उसु, बुद्धिचाल, कराते र फुटबल आयोजना गर्ने जिम्मा पाएको विद्यालय खेलकुद विकास विभागका प्रमुख एवं विद्यालय खेलकुद विकास बोर्डका सचिव कुलबहादुर थापाले जनाएका छन् ।
पौडी, टेबलटेनिस, ब्याडमिन्टन, बाघचाल र बुद्धिचाल खुला रहेको छ । अन्य ८ खेलमा जिल्ला हुँदै क्षेत्रीय छनोट पार गरेका खेलाडी सहभागी हुनेछन् । राष्ट्रिय विद्यालय खेलकुद असार ४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया