सडक ग्राभेलिङको काम अलपत्र

खोटाङ : ठेकेदारको ढिलासुस्तीका कारण खोटाङको दिक्तेल–खानीडाँडा सडक ग्राभेलिङको काम अलपत्र बनेको छ । ठेकेदारले सम्झौता गरेको मितिमा काम पूरा नगरेपछि सदरमुकाम दिक्तेलको अल्छेढुंगादेखि अस्पताल हुँदै खानीडाँडा विमानस्थल जोड्ने ६ किलोमिटर लामो सडक ग्राभेलिङका काम अलपत्र बनेको हो ।
ठेकेदारले तोकिएको समयमा काम पूरा नगरेको र दातृसंस्था ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) पनि जिल्लाबाट फिर्ता जान लागेका कारण सडक ग्राभेलिङका काम अलपत्र बनेको खोटाङ सरोकार समाजका खुसनारायण सैंजुले बताए । र्‍यापको आर्थिक सहयोगमा माघदेखि सडक ग्राभेलिङ सुरु गरिएको थियो । ग्राभेलिङको कामको सम्झौता मिति सकिएको र्‍यापले जनाएको छ । ठेकेदार र र्‍यापबीच चार महिनामा काम पूरा गर्ने सर्तमा गत ६ माघमा दोहोरो सम्झौता भएको थियो । र्‍यापले भने वर्षाका कारण हाललाई काम अघि बढाउन नसकिएको जनाएको छ ।
र्‍याप फिर्ता गए पनि हिउँदमा सडक ग्राभेलिङका काम पूरा हुने र्‍यापका प्रमुख दशरथ मोक्तानले बताए । यसैबीच, अलपत्र बन्न लागेको सडक ग्राभेलिङका काम पूरा गर्न खोटाङ सरोकार समाजले र्‍यापलाई आग्रह गरेको छ । सम्झौता मिति सकिएको र र्‍यापले पनि छाडेर जान लागेपछि अलपत्र बन्न लागेको सडक ग्राभेलिङका काम पूरा गर्न समाजमा आबद्ध व्यक्तित्वहरूले र्‍यापलाई आग्रह गरेको हो । सन् २००१ मा खोटाङ भित्रिएको ग्रामीण पहुँच कार्यक्रम १२ वर्षे कार्यावधि पूरा गरी आगामी असार–१६ गते फिर्ता हुँदै छ । (सौस)

प्रतिक्रिया