गुणस्तरहीन इनर्जी ड्रिंक्समाथि प्रतिबन्ध लगाउन माग

काठमाडौं, २८ जेठ । बजारमा गैरकानुनी रूपमा गुणस्तरहीन शक्तिवद्र्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स) बिक्रिवितरण भइरहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले यस्ता पेयपदार्थको आयात र बिक्रीवितरणमा रोक लगाउन माग गरिएको छ ।

मञ्चले गैरकानुनी रूपमा नेपाली बजारमा बिक्री भइरहेका निम्नगुणस्तरका रेडबुल, रेडस्टार, राइनो एसलगायत शक्तिवद्र्धक पेयपदार्थको आयातदेखि बिक्री वितरणमा रोक लगाउन माग गरेको हो । मञ्चले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा त्यसविरुद्ध उजुरीसमेत हालेको छ ।
मञ्चले खाद्य ऐनले अनिवार्य गरेको विवरण, लेबल, भाषा, खाद्य आयात अनुज्ञापत्र नलिई रेडबुललगायत पेयपदार्थ आयात गरी गैरकानुनी रूपमा बिक्रीवितरण गरिएको जिकिर गरेको छ । त्यसका साथै उक्त पदार्थमा मिसाइएका पदार्थ पनि स्वास्थ्यमा प्रतिकूल असर गर्ने खालको पाइएकाले बिक्रीमा रोक लगाउन सम्बन्धित निकायमा उजुरी हालिएको मञ्चले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि बजार अनुगमनका क्रममा ऐनले तोकेको मापदण्डविपरीतका इनर्जी ड्रिंक्स बिक्री गरेको फेला पारेको छ । बजारमा बिक्री भइरहेका गुणस्तरहीन इनर्जी ड्रिंक्सले स्वास्थ्यमा असर पार्ने भन्दै दुईवटा उत्पादनलाई प्रतिबन्ध नै लगाएको छ । विभागले अन्य ड्रिंक्सको पनि गुणस्तर र आयात प्रक्रियाबारे अध्ययन गरिरहेको जनाएको छ । विभागका प्रवक्ता प्रमोद कोइरालाले विभागले रेडस्टार र राइनो–एस नामक दुई इनर्जी ड्रिंक्समा तोकिएको मापदण्डअनुसार स्पष्ट लेबल उल्लेख नगरिएको भन्दै बिक्री–वितरणमा प्रतिबन्ध लगाएको बताए ।
मञ्चका महासचिव ज्योति बानियाँले भने एकै अपराध गरेका रेडबुल, रेडस्टारलगायत अन्य इनर्जी ड्रिंक्सलाई पनि प्रतिबन्ध लगाइनुपर्ने बताए । ‘नियमविपरीत धमाधम बिक्री भएका रेडबुल, रेडस्टारलाई सरकारले कारबाही गर्न प्रक्रिया अगाडि नबढाएकाले सबैतिर एकैपटक पत्र पठाइएको हो,’ उनले भने, ‘एकै किसिमका व्यापार गरेका दुईवटा पदार्थलाई कारबाही गरे पनि अन्यलाई केही नगरेकाले बिक्री रोक्न माग गरिएको हो ।’ उनले यस्ता गैरकानुनी पेयपदार्थको बिक्री नरोकिए अदालतमा मुद्दा दायर गरिने बताए ।
खाद्य ऐन तथा खाद्य नियमावलीअनुसार उत्पादित वस्तुको सम्पूर्ण विवरण उल्लेख भएको हुनुपर्छ । तर, बजारमा आएका यस्ता इनर्जी ड्रिंक्स कसैले पनि स्पष्ट रूपमा उत्पादित वस्तुको विवरण उल्लेख गरेका छैनन् । यसका साथै ऐनअनुसार ती पेयपदार्थमा सम्मिश्रण भएका पदार्थको विवरण पनि उल्लेख छैन ।
खाद्य ऐनले वस्तुको तौल, ब्याच नम्बर, उत्पादन मिति र उपभोग गरिसक्नुपर्ने मिति तथा स्वीकृत रंग प्रयोग गरिएको भए खुलाउनुपर्ने, लेबलमा उल्लेख हुने विवरण नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने व्यवस्था तोकेको छ । खाद्यपदार्थ र उत्पादकको पूरा नाम/ठेगाना, उत्पादित वस्तुमा सम्मिश्रण गरिएका कच्चापदार्थको विवरण, खुद तौल र नापको परिणाम पनि उल्लेख गर्नुपर्छ । तर, नेपालमा बिक्री हुने यस्ता इनर्जी ड्रिंक्सले यो नियम पालना गरेका छैनन् । ऐनविपरीत जाने यस्ता वस्तुको आयातकर्तालाई पाँच सयदेखि पाँच लाख रुपियाँसम्म जरिवाना र ६ महिनासम्म जेल सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया