प्राधिकरणले बक्यौता उठाउन सकेन

राजविराज, २६ जेठ । ‘विद्युत् उपयोग गर्ने तर शुल्क नबुझाउने’ उपभोक्ताका कारण नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजमा वर्षौंदेखि करोडौंको बक्यौता रकम असुल हुन बाँकी छ । कार्यालयले पटकपटक रकम असुल गर्न ताकेदा गर्दासमेत हालसम्म तीन करोड ८५ लाख रुपियाँ बक्यौता रकम असुल हुन सकेको छैन ।

०६९ साल चैत मसान्तसम्मको कार्यालयको रेकर्डअनुसार सरकारी कार्यालय, उद्योग, कलकारखाना, गाविस तथा व्यक्तिका नाममा गरी तीन करोड ८५ लाख २० हजार सात सय रुपियाँ विद्युत् महसुल असुल हुन बाँकी छ । उक्त रेकर्डमा हालसमेत खासै परिवर्तन नआएको कार्यालय प्रमुख शम्भु कुसिएत यादवले बताए । प्रमुख यादवले दिएको जानकारी अनुसार अधिकांश संस्था र व्यक्तिले तीन लाखभन्दा बढी महसुल बाँकी राखेका छन् । महसुल बुझाउन आग्रह गर्दासमेत उनीहरूले बेवास्ता गरेको यादवले गुनासो गरे । विद्युत् चोरीका कारण अत्यधिक लोडसेडिङ गर्नु परिरहेको अवस्थामा महसुलसमेत बुझाउन छोडेपछि थप समस्या भएको यादवले बताए ।ब
विद्युत् उपयोग गर्ने तर महसुल नबुझाउने गर्न थालेपछि कार्यालयले १० हजारभन्दा बढी रकम भएका उपभोक्ताको विद्युत्लाइन काट्न थालेपछि करिब १५ करोड रुपियाँ असुल भए पनि करिब चार करोड बक्यौता हालसम्म असुल हुन नसकेको उनले बताए । ‘लाइनै काट्न थालेपछि त्यसताका हामीले १ सय ४० प्रतिशतका दरले बक्यौता असुल गर्‍यौँ’ प्रमुख यादवले भने, ‘त्यतिबेला करिब एक हजार उपभोक्ताको विद्युत् काटियो ।’ तर, लाइन काट्ने अभियान बन्द भएसँगै असुल हुनुपर्ने रकम हालसम्म बाँकी नै रहेको यादवको भनाइ छ ।
यसैगरी, सप्तरीमा हाल ५५ देखि ६० प्रतिशत बिजुली चुहावट हुने गरेको समेत यादवले जानकारी दिए । घरायसी र खेती प्रयोजनका लागि विद्युत् चुहावट हुने गरेको भन्दै मिटर, टिभी, फ्रिज, फर्निचरका समानसहित सयौँ व्यक्तिलाई पक्राउ गरेर जरिवाना गर्दासमेत यसलाई नियन्त्रण गर्न नसकिएको उनले दुखेसो सुनाए ।

प्रतिक्रिया