मेरो गुटमा म एक्लै छु

Saraswoti-Pratikshyaपोखरामा बसेर कवितासाधना गरिरहेकी सरस्वती प्रतीक्षा अहिले नयाँ कवितासंग्रह ‘बागी सारंगी’का कारण चर्चामा छिन् । यसअघि उनका ‘यद्यपि प्रश्नहरू’ र ‘विम्बहरूको कठघरा’ कवितासंग्रह प्रकाशित थिए । भन्छिन्, ‘मेरो सिर्जनाको अनुहार नै मेरो अनुहार हो । यसर्थ मेरा किताबहरूमा तपाईं मेरो जुन अनुहार देख्नुहुन्छ, त्यही नै मेरो वास्तविक अनुहार हो अर्थात् परिचय हो ।’
काठमाडौंबाहिर बस्ने कविको दु:ख के हो ?
काठमाडौंभित्र होस् वा बाहिर, जहाँसुकै बस्ने कविको आफ्नै प्रकारका सुखदु:ख हुन्छन् । मान्छेका सुख–दु:ख तुलनीयभन्दा पनि बढी अतुलनीय लाग्छ मलाई । जहाँसम्म सिर्जनात्मकताको कुरा छ, त्यसमा भौगोलिकताको बाहिरी उपस्थितिले भन्दा पनि लेखकको भित्री अन्तर्यात्राले खास महत्त्व राख्छ । सिर्जनशील आवेगको आद्रतालाई ठाउँले केही फरक पार्दैन । अर्कोतिर काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ठूलाठूला संगोष्ठी र साहित्यिक मेला हुन्छन् । मोसफलमा बसेर हामी यस किसिमका कार्यक्रमका खबरहरूको गन्ध मात्र सँुघ्न पाउर्छौं, प्रत्यक्षमा कार्यक्रमहरूको स्वाद लिनबाट वञ्चित हन्छौँ । यहाँनेर अलिकति काठमाडौंबाहिर बस्नुको अनुभूतिले कोक्याउँछ ।
काठमाडौंबाहिर बस्नुको आनन्द चाहिँ ?
यो व्यक्ति सापेक्ष कुरा हो । व्यक्तिको परिस्थिति र मनोविज्ञान सापेक्ष कुरा पनि हो । आफ्नो मन र मनको परिसरको प्रियता जहाँनेर अडिएको हुन्छ, मान्छेलाई त्यही ठाउँ मन पर्ने र आनन्दायक लाग्ने न हो । शौभाग्यवश म देशकै सुन्दर नगरी पोखरामा जन्मिएँ । पोखरामा मेरो घर छ । पोखराको हावापानीमा मेरो सपना र जीजीविषाको तैलीय चित्र छ । यहाँ बसोबास गर्नुको अनुभूति आफैँमा शब्दातीत छ ।
मिथक र विम्बहरूको भरमार प्रयोग र बहुलअर्थ दिने शब्दको भीडमा तपार्इंका कविता रुमलिए जस्तो लाग्दैन ?
बडो रमाइलो प्रश्न गर्नु भो’ । रुमल्लिनुको अर्थ हो बाटो बिराउनु वा बाटो हराउनु । आजसम्म मैले मेरो बाटो आफ्नै प्राथमिक निणर्यको आधारमा तय गरेकी छु, चाहे जीवनको बाटो होस वा कविताको बाटो नै किन नहोस् ! कविता लेखन मेरोनिम्ति पागलपना वा भावुकताको एक निमेषको झिल्को मात्र होइन । प्रत्येक कविता लेख्दा म मन र मस्तिष्क दुवैले सचेत भएर मात्र लेख्छु । म विम्ब र प्रतीकहरूलाई लेख्न कविता लेख्दिन । कविता लेख्न विम्ब र प्रतीकहरू स्वाभाविक रूपमा प्रयोग गर्छु । यो स्वाभाविकतालाई ‘रुमल्लिएको’ भन्न अलि मिल्दैन कि ?
अहिलेको नेपाली कवितामा देशको राजनीतिक कहाँनेर अटाएको छ ?
कविता देशको लागि रचिन्छ, देशको राजनीतिको लागि रचिन्न । अहिले देशको राजनीतिको रिमोट कन्ट्रोल विदेशमा छ भन्ने अनुभूति आमनेपाली जनताले गरिरहँदा र राष्ट्रिय राजनीति भन्नु फगत बिखण्डनको रासयानिक मल सिवाय केही हुन नसकिरहेको अवस्थामा हामी कवि लेखकहरू राजनीतिबाट अछुतो कसरी हुन सक्छौँ ? अहिलेको नेपाली कवितामा राजनीतिक विसंगतिका रूपमा, दिशाहीनताको रूपमा, दुर्भाग्य र व्यंग्यको रूपमा जताततै अभिव्यञ्जित छ । अफसोच, कविताको शंखनाद सुन्ने कानहरू हाम्रा शासकहरूसँग भए पो †
भनिन्छ, साहित्यले राजनीतिको पिछा मात्र गर्छ, उछिन्न सक्दैन । तपाईंको धारणा चाहिँ के छ ?
गलत मान्छे गलत मानक बनाएर गलत कुरा संप्रेषण गर्न मन पराउँछन् । माथिको भनाइ पनि सो वा सो सरहकै कुरा हो । यो साहित्यको सार्वकालीक महत्त्व नबुझेकाहरू र राजनीतिलाई स्वार्थको मूलमन्त्र मान्नेहरूको भनाइ हो जस्तो लाग्छ ।
तपाईंका कविताका मूल आधार र आदर्श के हुन् ?
मेरा कविताका मूल आधार म उभिएको जमिन, मैले बाँचिरहेको समय र मैले भोगिरहेको र देखिरहेको जीवन हुन् भन्ने लाग्छ । म कविता लेख्न बस्दा यिनै तीन कुरासित प्रतिबद्धता महसुस गर्छु र आदर्शको खोजी गर्छु ।
अहिले कविताको चीरहरण व्यापकै बढेको छ रे । कविताको चीरहरण कसरी भइरहेको छ ?
यस्तो प्रश्नको जवाफ सतहमा बसेर सतही रूपमा दिनै सकिँदैन । कविताको आरनमा खारिएर, गहिरो अध्यनन र विश्लेषणबाट मात्रै दिन सकिन्छ । साँच्चै कविताको चीरहरण कसले गरिरहेछ–कविहरूले नै कि कवितालाई अनुत्पादक भनी नाक खुम्च्यानेहरूले ?
कविता नभएको भए तपाईं कति निराश हुनुहुन्थ्यो होला ?
म कविता नभएको विश्वको परिकल्पना नै गर्न सक्दिन । त्यसैले त्यो कविता नै नभएको विश्वमा म कति निराश हुन्थेँ भन्ने कुराको सीमा सायदै नाप्न सकुँला †
तपाइं कुन गुटको लेखक ?
कहिलेकाँही लेखिरहँदा मभित्र एउटा मात्र लेखक छजस्तो लाग्छ, जसले मेरा प्रत्येक शब्दलाई स्वीकृति प्रदान गर्छन् । कहिलेकाँही लेखिरहँदा मभित्र थुप्रै लेखक छन्जस्तो लाग्छ, जसले बारम्बार मसँग प्रश्न र प्रतिवाद गरिरहन्छन् । समग्रमा मेरो गुटमा एउटा मात्र लेखक छ र त्यो म आफैँ हुँ ।
कविता लेख्न अध्ययन बढी सहायक हुन्छ कि अनुभूति ?
कविता लेखनको सम्पूर्ण प्रक्रियालाई एउटै मात्र कडीको प्रयोगशालामा राखेर हेर्न मिल्दैन । न अध्ययनले मात्र कविता लेख्न सकिन्छ, न अनुभूतिको पाटोले मात्रै कवितालाई पूर्णता दिन सकिन्छ । कविता लेखन अध्यनन, अनुभूति, कलात्मकता, वैचारिकता, निजी शील्प र शैलीको आविस्कारजस्ता धेरैधेरै कुराको आवश्यकता पर्छन् ।
कुनै एक कविसँग दिनभरि बस्ने अवसर पाउनु भो’ भने कोसँग बस्ने चाहना छ ?
म समकालीन कवि, लेखकसँग निरन्तर सम्पर्कमा हुन्छु । कतिलाई अलि नजिकबाट चिन्छु भने कतिलाई अलि टाढाबाट । हाल पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वका कारण पनि कार्यक्रमका निम्ति अलि बढी नै कवि, लेखकहरूसँग सम्पर्कमा रहनु परिरहेको अवस्था छ । त्यसैले कुनै एक कविसित दिनभर बस्ने उत्कट चाहना मभित्र छ भन्ने मलाई लाग्दैन ।
यो प्रश्न यदि परिकल्पनात्मक प्रश्न मात्रै हो भने मैले सत्संग गर्न नपाएको दिवंगत कवि पारिजातसँग दिनभर बस्न रुचाउँथे ।
पाँच उत्कृष्ट कविता र कविताको नाम ?
पुरानो पुस्ताका कवि र तिनका कविताको नाम लिउँ भने नयाँ पुस्ताका कविहरू छुट्छन् । नयाँ पुस्ताका कवि र तिनका कविताको नाम लिउँ भने पुराना पुस्ताका कविको नाम छुट्छ । स्वदेशी कविको नाम लिँदा मन पर्ने विदेशी कविहरू छुट्छन् र विदेशी कविहरूको नाम लिँदा मन पर्ने स्वदेशी कविहरू छुट्छन् । माफ गर्नु होला दीपक जी, यी ‘पाँच’ को कोष्ठकभित्र मैले लिने नामहरू कसै गरी अटाउँदैनन् है †
तपाईंको कविता पढेर कसैले मर्ने विचार त्यागेर बाँच्ने सोच राख्यो भने त्यसबेला तपाईंको अनुभूति कस्तो होला ?
कल्पनाको पखेटा पनि कस्तो अचम्मको ! यो काल्पनिक प्रश्नको उडान भर्ने मौका दिनु भएकोमा प्रथमत: धन्यवाद भन्छु । चरम निराशाका गीतहरू सुनेर मान्छेले आत्महत्या गरेको त मैले पनि सुनेकी हुँ । तर, चरम निराशामा आत्महत्या गर्न गएको मान्छे कसैको कविताले फर्काएको मलाई थाहा छैन ।
फेरि पनि एकादेशको कथामा झैँ कुनै कथाको कुनै पात्रले मेरो कविता पढेर मर्ने विचार त्यागेछ भने मेरानिम्ति त्योभन्दा ठूलो कुरा अरू के हुन सक्ला † …त्यतिबेलाको अनुभूति पक्कै पनि शब्दातीत हुनेछ ।
कविता लेखनमा सुखानुभूति हुँदो रहेछ कि आमा हुनुमा ?
हेर्दा सामान्यजस्तो लाग्ने तर बडो जटिल प्रश्न गर्नु भो’ दीपक जी † मेरो विचारमा सबै सुखानुभूतिहरू तूलनीय हुँदैनन् । आमा हुनुको अनुभूति आफँमा परिपूर्ण एउटा अनुभूति हो र कविता लेखनको अनुभूति आफैँमा परिपूर्ण अर्को अनुभूति हो । आफैँमा परिपूर्ण यी अनभूतिको सुखानुभूतिलाई नापजोख गर्ने दुस्साहस गर्न म सक्दिनँ ।
– प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया