कटुवालको दाँजो

Amber-gurung_1यतिबेला मलाई हाम्रा कवि हरिभक्त कटुवाललाई उर्दू साहित्यका प्रख्यात शायर मजाज लखनवीसँग दाँज्न मन लागेको छ । मजाजको आफ्नो समयमा भारत र पाकिस्तानमा यती प्रसिद्ध थिए कि कलेजका युवतीहरूमा उनको बारेमा गोला प्रथा चल्थ्यो कि कसको चिठ्ठाको भागमा उनको नाम पर्छ भनेर । र, यतिसम्म कि उसको नज्म, सो र शायरी पढेर राति धेरैको सिरानी भिजिसकेको हुन्थ्यो । तर, यही कविको निम्ति विवाह मगनी गर्दा केटी पक्षले के भन्थे रे भने, ‘उहाँलाई चाहिँ होइन । उहाँको भाइ अथवा दाइलाई भए हामीलाई आपत्ति छैन ।’ यती बदनाम थियो मजाज । मजाजको एउटै गीतले सारा भारत–पाकिस्तान पिटेको थियो जुन गीत किशोर अवस्थामा म पनि गाई हिँड्थँे । अर्थ भने थाहा थिएन । गीत यस्तो छ–
‘रु गये दिल क्या करुँ
रु बहस्ता दिल क्या करुँ …’
यो एउटा बिडम्बना नै भनौँ कि मजाज जति प्रसिद्ध थियो, झन्डै हाम्रा हरिभक्त कटुवाल जति पाठकहरूबीच प्रिय थियो, उत्तिकै नालायक पनि उनका नजिकहरूका बीच गनिन्थ्यो । मलाई बेलाबेला के लाग्छ भने कवि तथा स्रष्टाहरूमा बैचित्रताको यस्ता प्रादुर्भाव हुन्, जो सिर्जनक्रममा अनिवार्य, सम्भव र असम्भव एकसाथ भइरहेको हुन्छ त ? म यही कौतुहल तपाईंहरूसामु राख्न चाहन्छु । मैले यती बेला र अहिलेसम्म लेखेका लेखहरूबारे पाठकसामु राखेको सबैभन्दा पहिलो कौतुहल हो । वास्तवमा मलाई यसको जवाफ पनि चाहिएको छैन । मजाज लखनवीको मृत्यु उसको अतिव मद्यपानको कारणले भयो, जो उसका शेर तथा नज्म सुन्नका लागि उसलाई मद्यपान गराएर सुन्थे र कत्तिले उसलाई घरसम्म पुर्‍याउँथे । र, कत्तिले उसलाई त्यही बेहोसी अवस्थामा छाडेर जान्थे । हाम्रो कटुवालमा पनि झण्डै त होइन, त्योभन्दा बढी नै व्यावहारिक असमञ्जसता प्रष्ट देखिन्छ । एक त मजाज अविवाहित नै रहेका थिए, भने कटुवालले घरजम गरिसकेका थिए । र, सबैभन्दा दु:खद् कुरा यही हो, मैले यहाँनेर दुई कविका कृतित्वको कुरा गरेको होइन । यदि मजाज लखनवी भौगोलिक र सांख्यिक प्रसिद्धिको हिसाबले आफ्ना संस्कृतिमा विशाल थियो, भने हाम्रा कटुवाल हाम्रा भौगोलिक र सांख्यिक हिसाबले त्यत्तिकै ठूला र विशाल थिए ।
कटुवाल आसाम फर्कनु झन्डै दुई तीन वर्षअघिसम्म हाम्रो भेट भएको थिएन । मैले कति ठाउँ फोन गरँे र कति ठाउँ खोज्न पनि गएँ । तर, उनको अनुसन्धान गरी हिँड्ने न मलाई समय नै थियो — न मेरो त्यस्तो अवस्थै थियो । त्यही अवधि बीचमा मैले एउटा गीत लेखेको थिएँ, जो उनीजस्ता कवि गीतकार र संगीतका मार्मिक व्यक्तिलाई सुनाएर म तृप्त हुन चाहन्थेँ । उनी पर्सीका दिन सदैवका लागि आसाम फर्किदैछन् रे भनेको सुनेर म उनलाई बिदाइ गर्न मारवाडी सदनमा गएँ । त्यहाँ उनका प्रशंसकहरूको एउटा भीड नै थियो । एकाध घन्टा बसेर हामी अश्रुपूर्ण भएर बिदाबारी भयौँ । त्यो गीत मरो खल्तीभित्र नै रह्यो जो यस्तो थियो —
‘त्यो काँचको गिलास फेरि नछुनु
छातीको घाउलाई त्यसले नधुनु
त्यो रक्सी होइन आगो हो हजुर
आगोलाई कहिल्यै हातले नछुनु ….।’

दाइ कविता †
खै कविता †
– हरिभक्त कटुवाल

यस सहरमा ओहोरदोहोर गर्ने आकृतिहरूमा
कविता खोजेर धेरैपल्ट निराश भएको छु भाइ
तर सधैँ मेरैजस्ता ती अनुहारहरू पनि
अल्झिरहेको पाएको छु– दालभात, डुकुकै समस्यामा
मानौं, हामीले बिर्सिसकेका छौं मानिस हुनुको अर्थ
र खटनभन्दा पर हामी केही सोच्न सक्दैनौं
कुनै घेरा नाघेर हामी कतै फड्कन सक्दैनौं
अनि यहाँ कविता कहाँ पाउनु भाइ ?
कविता त कतै भोकाएको ज्यामीको अनुहारमा होला
– जो राजमार्गमा दिन दिनभरि ढुंगा फोरिरहेको हुन्छ
अथवा कतै कुनै लाहुरेको उदास अनुहारमा होला
–जो आफ्ना बालबच्चा बिर्सेर रात–रातभरि दर्बानी गरिरहेको हुन्छ
होइन भने, सारंगी रेटेर बह बिसाउने कुनै गाइनेको अनुहारमा होला
–जो कुनै पर्यटकबाट पाँच पैसा पाउँदा पचासपल्ट निहुरिरहेको हुन्छ
तर म एक बेफुर्सदी मान्छे– थोरै कवि बढी जागिरे
जसलाई कविता खोजिहिँड्ने फुर्सद नै छैन
अनि म कविता कहाँ पाऊँ – के दिऊँ ?
बरु यस्तो लागिरहेछ यसबेला आफैंलाई
कुनै म्युजियमको एक कुनामा थान्को लगाइदिऊँ आफ्नै यो जिन्दगी
र लेबिल टाँसिदिऊँ ठूलाठूला अक्षरहरुमा–
‘यो हरिभक्त कटुवाल हो
–जो मृत्युको डरले सधैँ भागिहिँड्छ
यो त्यही कटुवाल हो
–जो स्वस्ति गरेर भए पनि
आफ्नो जागिर जोगाउनमै तल्लीन छ ।’
(वि.सं. १९९२, असार १८ गते भारत, असम राज्यको डिब्रुगढमा जन्मेका कवि हरिभक्तको २०३७ भदौ २५ मा डिब्रुगढ मेडिकल कलेजमा मृत्यु भएको थियो । उपरोक्त कवितालाई कवि कटुवालले आफ्ना रचनामध्ये सर्वाधिक रुचिकर उल्लेख गरेका छन् ।)

प्रतिक्रिया