असुरक्षामा छट्पटाइरहेको मधेस

Shree-lal-Saha‘जो चोर उसैको ठूलो स्वर,’ भने झैँ मधेसमा अहिले चोर, डाका, गुन्डा, अवारा, फटहा, बदमास आदिको रजाइँ छ । जसले बलजफ्ती गर्न सक्यो, धाकधम्की देखाउन सक्यो, लुटपाट गर्न सक्यो, बन्दुक तेस्र्याउन सक्यो, हत्या, अपहरण आदि अपराध गरेर राजनीतिक पहुँच बनाउन सक्यो तिनीहरू बाँचेका छन् र त्यो गर्न नसक्नेहरू मर्दै छन् मरिरहने छन् । अहिले मधेसको यथार्त यही नै हो । राजनीतिक सशस्त्र समूहहरूका कारण मधेसमा असुरक्षा बढेको घटनाक्रम सर्वविदित नै छ । त्यसको लागि राज्य पनि जिम्मेवार रहेको छ । राज्यले कि उनीहरूलाई नि:शस्त्र पार्नुपथ्र्यो, कि वार्ताद्वारा शान्ति पुनर्बहाली गर्नुपथ्र्यो । होइन भने मधेसको यथास्थिति जति लम्बिँदै जान्छ । त्यति नै राज्यको अस्तित्व संकटमा पर्दै जान्छ । तत्काल भने मधेस र मधेसीहरू पीडित छन् र यसको जवाफ उनीहरूले एकदिन राजनीतिक सशस्त्र समूहहरूसँग पनि माग्ने नै छन् । तर, त्यसभन्दा पनि बढी हत्या, आतंक, अपहरण, लुटपाटजस्ता आपराधिक क्रियाकलाप मधेसमा अराजनीतिक सशस्त्र गिरोहहरूद्वारा हुने गर्छन् । जसले गर्दा अत्यन्तै असुरक्षाको अवस्था बनेको छ र त्यसबाट मधेसीहरू आक्रान्त छन् । दिनदहाडै हत्या, अपहरण, लुटपाटका घटनाहरू दोहोरिरहन्छन् । अहिले मधेसमा एक्लो मानिस मोटरसाइकल चढेर लामो बाटो जान डराउँछन् । त्यहाँ मोटरसाइल खोस्ने घटनाक्रम सामान्य मानिन्छन् । भनिन्छ एउटा मोटरसाइकल खोसेबापत २० देखि ४० हजार रुपियाँ लुटेराहरूले पाउँछन् । तर, प्राय:जसो मोटरसाइकल लुट्दा चालकको हत्या भएको हुन्छ र त्यो हत्याको कुनै मूल्य नै हँुदैन ।
मधेसमा अहिले आपराधिक क्रियाकलापहरू चर्मोत्कर्षमा पुगिरहेका बखत पनि प्रहरी, प्रशासनले मौन साधेको छ । जसका कारण मधेसीहरूमा आशंका उत्पन्न भैरहेको छ । त्यसै पनि आपराधिक गिरोहहरूलाई राजनीतिक संरक्षण प्राप्त रहेको विभिन्न घटनाक्रमले देखाउँछन् । आपराधिक गिरोहका व्यक्ति प्रहरी फन्दामा पर्दैनन् र कथंकदाचित परिहाले भने पनि राजनीतिक संरक्षणका कारण मुक्त भैहाल्छन् । त्यसैले मधेसमा मानवअधिकार उलंघनका घटनाहरू दिनहँुजसो भैरहेका हुन्छन् । बाबु, आमासँग पैसा उठाउन छोरालाई अपहरण गर्ने र यसरी असुल गरेको पैसा भट्टीमा जाँड, रक्सी खाएर उडाउने धन्धामा मधेसी युवाको गिरोह सक्रिय छ ।
मधेसमा अहिले दिनहँु हजाराँै, लाखौँ लिटर घरेलु रक्सी मात्र खपत हुन्छ र उक्त रक्सीको आपूर्ति उत्तरी मधेस तथा चुरे क्षेत्रको बसोबासबाट आपूर्ति हुन्छ । जुन कानुनी रूपले पनि अवैध मानिन्छ । तर, मधेसका भट्टीमा भने ती अवैध मानिएका घरेलु रक्सी ५ रुपियाँ, १० रुपियाँ ग्लास छ्यापछ्याप्ती पाइन्छ । प्रहरी, प्रशासनको आँखा त्यहाँ पनि नपुगेका पक्कै होइनन् । त्यसका साथै मधेसमा वैधानिक प्राप्त केही रक्सी उद्योग पनि छन् । स्मर्णीय छ, साग २० रुपियाँ मुठा, रक्सी ५ रुपियाँ ग्लास र मानिस हत्याको मूल्य शून्य । यसले एउटा हिन्दी उखान, ‘अन्धा देशका काना राजा, टका सेर भाजी टका सेर खाजा’ लाई पनि मात गरेको छ ।
मधेसका गाउँगाउँ, चोकचोक, हटिया, बजार आदि सर्वत्र रक्सी भट्टी पसलहरू पर्याप्त पाइन्छ । हत्या, आतंक, अपहरण, लुटमारबाट आर्जित सम्पत्ति खर्च गर्न आपराधिक गिरोहहरूले त्यही भट्टी पसलमा पुग्छन् र पुन: त्यहीँबाट अर्को अपराधको योजना बन्छ । यसरी बिनारोकटोक आपराधिक क्रियाकलापहरू मधेसमा झागिँदै गैरहेका छन् र सर्वसाधारण बासिन्दाहरू झन्झन् पिल्सिदै गएका छन् । अपहरणका घटनाहरूले त मधेसमा एक खालको आतंक नै छाएको छ ।
मधेसमा झन्डै आधादशकदेखि असुरक्षाका कारण उद्योगधन्दा एवं विकास निर्माणका कार्य ठप्प प्राय: छन् । त्यसले गरिबी र बेरोजगारी बढ्दो छ । त्यसमा पनि परम्परागत रूढीवादी चिन्तन र व्याप्त विकृतिहरूले मानवअधिकार उलंघनका घटनाहरू अनेकन छन् । उदाहरणका लागि बोक्सी जस्ता अन्धविश्वास छन् । रिस उठेका वा भनेको जस्तो नगर्ने परिवारका महिलालाई बोक्सीको आरोपमा प्रताडित गर्ने घटना गाउँगाउँ र टोलटोलमा भेटिन्छन् । जसमध्ये केही भयावह अवस्थाहरू मात्रै सञ्चारमाध्यमहरूबाट उजागर हुने तथा पुलिस केस बन्ने गर्छन् । अन्य हजारौँ, लाखौँ बोक्सीका घटनाहरू त स्थानीय समाजमा नै दबिने गर्छन् । सबैभन्दा ठूलो कुरा त बोक्सीभन्दा पनि ठूलठूला मानवअधिकार उलंघनका घटना स्थानीय समाजको गाउँघरमा पर्याप्त हुने गर्छन् । जसको चर्चा नै हुँदैन ।
मधेसका गाउँघरमा राज्यको उपस्थिति न्यून छ । त्यसैले त्यहाँ राज्य गर्ने भनेको गाउँघरका ठूलाबडा भनाउँदा अगुवाहरू नै हुन् । उनीहरूले गाउँको कुरा गाउँमै मिलाऊँ भन्ने निहुँमा कमजोर र निमुखाहरूलाई थिचोमिचो गरेका कैयौँ घटनाक्रम भेटिन्छन् । ती गाउँका कतिपय अगुवाहरूले पञ्चायत गर्ने र घूस खाने पेसा नै बनाएका छन् । गाउँको कुरा गाउँमै मिलाऊँ भन्ने निहुँमा आर्थिक जरिबाना गर्ने, शारीरिक यातना दिने र मानसिक प्रताडना गर्ने कुराहरू स्थानीय समाजमा सामान्य मानिन्छन् । त्यसरी नै मधेसमा दलितहरूको अवस्था झनै उदेक लाग्दो छ । तर, त्यहाँ अशिक्षा र जनचेतनाको अभावमा मानवअधिकार उलंघनका कुरा गौण हुने गर्छन् । जुन समाजमा सागभन्दा सस्तो रक्सी र रक्सीभन्दा सस्ता मानवअधिकार उलंघनका घटनाहरू हुने गर्छन्, त्यो समाजमा मानवअधिकारको प्रत्याभूति हुन अझै शताब्दीयाँै कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया