ताकेता गर्दा १०४ थान अवैध हतियार संकलन

सिन्धुपाल्चोक, २४ जेठ । सिन्धुपाल्चोकमा प्रहरीले ताकेता गर्दा पनि एक सय चार थान मात्र भरुवा बन्दुक संकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी संकलित हतियार सार्वजनिक गरेको छ ।

प्रहरी कार्यालयले पहिलोपटक १६ फागुनमा सूचना प्रकाशन गरी सर्वसाधारणलाई आफूसँग भएको हतियार बुझाउन निर्देशन दिएको थियो । पहिलो सूचनाबाट अपेक्षा गरेजति हतियार संकलन नभएपछि १६ चैतमा दोस्रोपटक सूचना जारी गरिएको थियो । सूचना जारी गरिएपछिको अवधिमा उक्त परिमाणमा हतियार सर्वसाधारणले प्रहरीमा बुझाएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतापकुमार गुरुङले जानकारी दिए ।
‘गाउँमा घरेलु प्रयोजनमा प्रयोग हुने हतियार अझै धेरै हुन सक्छन्,’ डिएसपी गुरुङले भने, ‘दुईपटक सूचना जारी गर्दा पनि कसैले अटेर गरेर हतियार नबुझाएको पाइए हतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही हुनेछ ।’ हतियार बुझाउनेलाई कारबाही नहुने पनि गुरुङले बताए । सर्वसाधारणले वन्यजन्तुको शिकार र बालीनाली रक्षाका लागि यस्ता हतियार प्रयोग गर्दै आएका छन् । जिल्लाको गोल्चे, मेलम्ची, मानेखर्क, नवलपुर, अत्तरपुर, ठोकर्पा, फुल्पिङकट्टी, तातोपानी पिस्कर, बलेफी, ठूलो पाखर, लिस्ती, सानोसिरुवारी, मार्मिङ र शिखरपुरलगायत गाविसका सर्वसाधारणले बन्दुक बुझाएको प्रहरीले जनाएको छ ।
दुई चिनियाँ समातिए
सिन्धुपाल्चोक : प्रहरीले अवैध सामानसहति दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । बिहीबार बन्देउ चेक पोस्ट प्रहरीले नियमित गस्तीका क्रममा उनीहरूलाई अवैध सामानसहित पक्राउ गरेको हो ।
प्रहरीले बिहीबार चौतारामा पत्रकार सम्मेलन गरी पक्राउ परेका चिनियाँ नागरिकहरू हाउतो र हेवाङलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनीहरू बा ३ च ३८३९ नम्बरको बोलेरो गाडीमा काठमाडौंबाट चीनतर्फ जान लागेका थिए । उनीहरूको साथबाट गोमन साँपको डेढ फिट कत्ला, दुम्सीको काँडा ४ थान, मयुरको प्वाँख ४० थान, माछाको हड्डी ११ थान, मुगा ३० पोका, भेडाको जस्तो सिङ दुई थान मृगको छालाले माहोरेको खुकुरीको दाप एक थान र चक्र ‘स्टोन’ दुई थान बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उनीहरूमाथि राष्ट्रिय निकुञ्ज ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । ऐनअनुसार उनीहरूलाई १० हजार रुपियाँ र ६ देखि १० महिना कैद हुनेछ ।

प्रतिक्रिया