राष्ट्रको मर्यादा कमजोर भयो

anil-yogi-1छरिएर रहेका सा–साना राज्यहरूलाई एकीकरण गरेर यो राष्ट्रलाई स्वतन्त्र राष्ट्रका रूपमा विश्वमा चिनाउने ती बहादुर हाम्रा पुर्खा आज धिक्कारका पात्र बनेका छन् । शाह वंशले नेपाल र नेपाली जनताका लागि युग सुहाउँदो विचार दिन नसकेको भए पनि राष्ट्रको रक्षाकबचको भूमिका खेलेको थियो त्यसलाई पनि हामीले दण्डित गरी सक्यौँ । नयाँ नेपाल निर्माण गर्ने नाममा दलका नेताहरूले राष्ट्र र जनतालाई धोका दिएको विषय मार्मिक मात्र छैन, सम्वेदनशील पनि छ । दलका नेताको प्रवृत्तिविरुद्ध आमसञ्चार माध्यम, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायत सबैले विरोध गरिरहेका छन् । दलका नेताले राजसंस्थालाई राष्ट्र र जनताको प्रगतिको बाधक भनेर राष्ट्रिय राजनीतिबाट अलग त गरे तर देशको राज्यसत्ता र राष्ट्रिय राजनीतिको बागडोर आफ्नो अधिनमा राख्न सकेनन् । राज्यसत्ताको चावी परचक्रिका हातमा सुम्पिन दलका नेता किन राजी भए ? राष्ट्रिय राजनीति जातीय राजनीतिमा रूपान्त्रण कुन स्वादमा गरियो ? राष्ट्रको रक्षाका लागि भन्दा पनि नेपालीहरू आफ्नो जात र वर्गको रक्षाका लागि संगठित भएका छन् । यो काम गर्न दलका नेता जनतालाई किन उक्साउँदै छन् ?
सत्ता र शक्तिमा पुग्नका लागि दलका नेताले जनताको तागतलाई प्रयोग गरेको विषयप्रति हामी अझै सचेत र निष्पक्ष ढंगले समीक्षा गर्न सकिरहेका छैनौँ । हजाराँै जनताको रगतमा पौडी खेल्ने दलका नेतालाई अब्बल दर्जाका लोकतन्त्रवादी ठोनेर हामीले ठूलो भूल गरिरहेका छाँै । नेपाली जनताको यही कम्जोर राजनीतिक चिन्तन र चेतनाका कारण आजको राष्ट्रिय संकट सिर्जना गर्न दलका नेतालाई सजिलो भएको हो भन्ने कुरा अब लुकाउन सकिँदैन । विश्व राजनीतिक दुनियाँमा लोकतन्त्र जनताको जीवनशैली बनिरहेको अवस्थामा हाम्रो देशमा लोकतन्त्र फस्टाउन किन सक्दैन ? नेपालमा लोकतन्त्रको गफ गर्न त हामी जान्दछौँ तर इमान्दारिपूर्वक राष्ट्र र जनतालाई केन्द्रमा राखेर लोकतन्त्रको अभ्यास गर्न किन सकिरहेका छैनौँ ? दलका नेता यदि लोकतन्त्रप्रति इमान्दार थिए भने समस्या समाधान गर्न कठिन थिएन । यो फगत राजनीतिक संस्कार र सक्रियता कुन दुनियाँको लोकतान्त्रिक शासनपद्धति हो ठोस रूपमा कसैले भन्दैन ।
लोकतान्त्रिक गणतन्त्रको नाममा एकीकृत राष्ट्रलाई कस्तो बनाउन खोजिँदै छ भन्ने कुरा दिनप्रतिदिनका घटनाक्रमले प्रस्ट पारेकै छन् । देशमा शान्ति बहाली गर्ने वा नगर्ने ? जनतालाई शान्तिपूर्वक बाँच्न दिने वा नदिने भन्ने विषयमा राजनीतिक दलका नेताबीच विवाद भइरहँदा पनि नेपाली जनताको लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको प्रतिबद्धता कायमै छ । जनताको शान्तिपूर्वक बाँच्न पाउने जन्मसिद्ध अधिकार राजनीतिक दलका नेताले आफ्नो अधिनमा राखेका छन् । समाजमा अराजक्ता र अव्यवस्था सिर्जना गर्नेहरू दलका कार्यकर्ताका रूपमा ठाँटको जीवन बाँचिरहेका छन् । उनीहरूलाई देशप्रतिको जवाफदेहिताको बोध भएको छैन नेताका आडमा आफ्ना गतिविधि निर्वाद रूपमा सञ्चालन गरिरहेका छन् । दलका नेता नेपाल राष्ट्रलाई कतैबाट आफूले बिर्ता पाए जसरी कित्ताकाट गर्दै पलटिङ गर्ने र आ–आफ्ना भक्तजनहरूलाई मौजाका रूपमा बाँड्ने प्रयत्न गर्दै छन् ।
छिमेकी राष्ट्र विषेश गरी भारत नेपालमा कुन हदको हस्तक्षेपकारी भूमिका खेल्न सक्छ भन्ने कुरा २०४६ सालको जनआन्दोलनमा चाक्सीबारीमा भएको भारतीयहरूको भेला गजबकै थियो । नेपाली देशप्रति इमान्दार थिए भने त्यो हरकत फेरि दोहोरिन दिने थिएनन् । हाम्रो देशको विडम्बना भन्नुपर्छ नेपालीको अझै चेत खुलेको छैन । पछिल्लो समयमा माओवादीको विकास र विस्तार गर्ने कुरामा समेत प्रत्यक्ष रूपमा भारतीयको भूमिका थियो भन्नेहरूका विचार सत्यसावित हुँदै छन् । राजतन्त्रको अन्त्य गर्ने सवालदेखि माओवादी लडाकाहरूका छाती नाप्ने कामसम्म आइपुग्दा भारतीयको भूमिका कम महत्त्वपूर्ण छैन । राष्ट्र र जनताको जीवनमा हुँदै गरेको बर्बादी पूर्ण आतंक कुनै न कुनै रूपमा रोक्नुपर्ने त थियो । आफ्नो देशभित्रका माओवादीलाई शिरठाडो गर्न नदिने भारतयी सत्तापक्षले नेपालका माओवादीलाई यसरी किन काखीच्याप्यो भन्ने विषयमा हामीले अझैसम्म विस्तृत रूपमा अध्ययन गरेका छैनाँै । यो विषयमा नेपाली जनताले मात्र होइन देशका जानिफकार भन्नेहरूले अझै भित्री कुरा खोतल्न चाहेका छैनन् । राष्ट्रिता र स्वाधीनताको रक्षा गर्ने भन्दै भारतविरुद्ध लड्न निमुखा युवाहरूलाई सुरुङ खन्न लगाउने माओवादीलाई भारतीयले किन यसरी काखिच्याप्दै छन् भन्ने विषयमा गहन अध्यन अझै भएको छैन ।
संसद्वादी र माओवादीको आपसी लडाइँले गाउँ–गाउँमा जनताको रगत बगिरहेकै अवस्थामा र जनता आफ्ना बस्तीमा असुरक्षित भएकै अवस्थामा दरबार हत्याकाण्ड मच्चाइयो । हामी नेपाली जनता र राजनीतिक कर्मीहरूले देशभित्रै राष्ट्र प्रमुख राजा वीरेन्द्रको वंशनाश हुँदासम्म राजनीति बुझ्न चाहेनाँै भनौँ वा सकेनौँ । हामीलाई विदेशीले लडाउँदै गर्दा हामी मर्दै गर्दा पनि हाम्रा बुद्धिले देशको अवस्थाका बारेमा जान्न चाहेनाँै । त्यतिबेला सत्तामा भएका गिरिजाप्रसादहरू र जंगलमा भनिएका तर दिल्लीमा बसेका प्रचण्डहरूलाई एक ठाउँमा बस्न सक्छन्जस्तो लाग्दैन थियो तर उनीहरूलाई भारतीयले एक ठाउँमा राखिदिए । देश विकाशको मार्ग खुलेको भए, जनताले सुखशान्तिको जीवन बाँच्न पाएको भए यो दुई ध्रुवका शक्ति र व्यक्तिको मेलमिलापलाई सकारात्मक भन्न कसैले अप्ठ्यारो मान्नुपर्ने कारण थिएन । त्यो मार्गमा राष्ट्र उन्मुख हुन सक्ने सम्भावना पनि देखिँदैन । व्यवस्था र जनमतको आफू अनुकूल अपव्याख्या गर्दै दलका नेताहरू निर्धक्कसँग ठाँटको जीवन बाँचिरहेका छन् । लोकतन्त्र भनेको उनीहरूका लागि मात्र आएको छ । व्यवस्था उनीहरूको जीवनशैली सुधार गर्ने केबल माध्यम भएको छ । जनताको व्यवस्था लथालिङ बनाएर मस्तसँग बाँचेका छन् दलका नेताहरू । जनता र आफ्नो देशप्रति अनउत्तरदायी राजनीतिक शक्ति र व्यक्तिहरूबाट देशको प्रगति सम्भव छैन भन्नलाई कसैले संकोच मान्नुपर्ने अवस्था छैन ।
नेताहरूले जनताकाबीचमा वाचा गरेको समय सीमाभित्र संविधान बनाएनन् । नेपाली जनता सचेत र देशप्रति इमान्दार भएको भए पटकपटक म्याद थप गर्दै राज्यको सम्पत्ति बर्बाद पार्ने अपराध लोकतन्त्रको नाममा दलका नायकहरूले गर्न सक्ने थिएनन् । लोकतान्त्रिक शासन व्यवस्थाको ओकालत गर्ने बौद्धिक भन्नेहरू आफ्नो दुनो सोझ्याउने ध्याउन्नमा फसे । जनता निष्क्रिय र निरीह प्राणीजस्तै भएका हुनाले लोकतन्त्रलाई नेताहरूले आफू अनुकूल सहज रूपमा परिभाषित गरे । अमूक ठूलो दल वा सानोदल भएका नाताले, अथवा आलोपालो देश चलाउन पाउनुपर्छ भन्नेजस्ता कुतर्क अघि सारेर दलका नेताहरूले देशलाई आफ्नो बिर्ता जस्तै ठाने । एउटा राष्ट्र हुनुको नाताले अन्तर्राष्ट्रिय राजनीतिमा नेपालले आफ्नो मर्यादा कम्जोर बनाएको छ । हामीसँग अब विदेशीबाट घेरिएका विभाजित निरीह प्राणी जनता र असुरक्षित भूगोल मात्र बाँकी छ, । अब हामीसँग कुनै मानवीय सभ्यता र मौलिकता बाँकी छैन ।
राज्यको शक्ति दुरुपयोग गरेर भ्रष्टाचार, नातावाद, कृपावादद्वारा राजनीतिमा लाग्नेहरू रातारात धनी बनेको र जनताले एकछाक खान नपाएर, औषधि नपाएर मर्नुपर्ने अवस्थाका बारेमा कसैको गम्भीर चासोको विषय बन्दैन । राजनीतिको मूल्यमान्यता र मर्मको सामान्य ज्ञानसमेत नभएका मानिस राजनीतिप्रति आक्रोशित हुन थाले । राजनीतिक शास्त्रका विद्वान्हरू पार्टीका कार्यकर्ताझैँ नेताहरूका झोला बोकेर देश मारेर आफू मात्र बाँच्न थाले । राज्यका सबै संरचनाहरू धरासयी बनाउने काममा हामी सबैको जाँगर चल्यो । देशका जनताको कम्जोर राजनीतिक चिन्तन र अज्ञानतामा टेकेर दलका नेताले देशलाई रसातलमा पुर्‍याउने काम गरे । राष्ट्रको विकाश ओझेलमा पर्‍यो । जनताको जीवशैली सुधार भएन । समाजमा शान्ति छैन । देशको भविश्य नै धरापमा परिसक्यो । दलका नेताको लडाइँ चलिरहेकै छ । तिनका कार्यकर्ताको सानोतिनो भागबन्डाको झगडा चर्केकै छ । यो अराजकता र अव्यवस्थाका कारक तत्त्व भनेका राजनीतिक दलका नेता नै हुन् भन्नलाई अब कसैले धक मान्नुपर्दैन ।
देशले विकाश खोजेको थियो भन्ने कुरा दलका नेतालाई जानकारी छैन र ? जनताले शान्तिपूर्वक बाँच्ने वातावरण होस भन्नका निमित्त नेपाली जनताले नेताका हजार खतबातलाई पनि वास्ता नगरी काँधमा बोकेका छन् भन्ने कुरा दलका नेताका दिमाखमा छैन ? बाह्य शक्तिसामु नेपाल राष्ट्रको मानमर्यादा बढाउनुपर्ने थियो त्यो काम किन गरिएन ? बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नुपर्ने थियो त्यो काम किन गरिँदैन ? समाजमा भएका असमानता र अव्यवस्थाको अन्त्य गर्दै समाजलाई एकधारमा हिँडाउनुपर्ने थियो त्यो काम कसले गरिरहेको छ ? राष्ट्रको हित र जनताको प्रगति गर्ने काम दलका नेताका कार्य सूचीभित्र किन पर्दैनन् ? कताबाट पैसा कमाउने र कसका पछाडि लागेर सत्ता र शक्तिमा पुगिन्छ भन्ने चिन्ताले ग्रस्त नेताहरूको रबैयाले गर्दा समाजले अग्रगति लिन सकेन । भाइभाइबीचमा फुट छ विभाजन छ । नेपाली जनताको शोझोपनको दलका नेताले फाइदा उठाउने कामबाहेक अरू केही गर्न सकेनन् भन्न नसक्नेहरू लोकतन्त्रका पक्षपाति हुन सक्दैनन् ।
राष्ट्र र जनतालाई अनिर्णयको बन्दी बनाएर गरिने दलका सबै प्रकारका गतिविधिविरुद्ध नेपालको राजनीतिमा चासो राख्ने सबैले आवाज बुलन्ध गर्न सक्नुपर्छ । दलका नेता मात्र यो देशका जिम्बेवार होइनन् हामीले पनि यो देशको नागरिक हुनुका नाताले आफ्नो राज्यप्रतिको धर्म निर्वाह गर्ने सक्ने ठाउँमा उभिनुपर्ने अवस्था आएको छ । दलका नेताका अप्रजातान्त्रिक गतिविधिका विरुद्ध हामीले बोल्न नसक्ने हो भने प्रजातन्त्र वा लोकतन्त्रको कुरा गर्ने नैतिक हक हामीलाई पनि हुने छैन भन्ने कुरा सबैले बुझ्न सकियो भने देश सहज मार्गमा जान सक्छ । सबैलाई चेतना भया ।

प्रतिक्रिया