पूर्वकमलरीमाथि दमनको भत्र्सना

काठमाडौं, २१ जेठ । कमलरी प्रथाको अन्त्य, कमलरीको व्यवस्थापन र सुरक्षाको माग राखी आन्दोलनमा उत्रिएका पूर्वकमलरीलाई प्रहरी प्रशासनले गरेको धरपकडको नेकपा–माओवादी र राष्ट्रिय जनमोर्चा नेपालले भत्र्सना गरेका छन् ।
दुवै पार्टीले सोमबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरी शान्तिपूर्ण माग राख्न पाउने नागरिकको मौलिक अधिकारलाई मिच्दै प्रहरी प्रशासनले प्रदर्शनकारीलाई धरपकड गरेको जनाइएको छ । नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले जारी गरेको विज्ञप्तिमा पूर्वकमलरीले उठाएको मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै शान्तिपूर्ण तबरले आफ्नो कुरा राख्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरिएको छ ।
राष्ट्रिय जनमोर्चा नेपालले पनि ‘पूर्वकमलरीका जायज माग पूरा गर्न माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाको टाउको फुटाउने काम र पुरुष प्रहरीले गरेको दमन’को भत्र्सना गरेको छ ।

प्रतिक्रिया