अब छोरीलाई पनि छोरासरह समान अंश दिनुपर्दछ

bb-shrestha-sketchविश्वको समग्र परिवेश सर्सती अध्ययन गर्दा छोरा र छोरीबीच हरेक कुरामा असमानता देख्न सकिन्छ । हुन त विकसित राष्ट्रहरूको सन्दर्भमा यो कुरा लागू नभएता पनि विश्वको धेरै देशमा यसको प्रभाव पाउन सकिन्छ । हिजोआज महिलाको हक अधिकारको कुरा गरिरहँदा यो बुझ्न सकिन्छ कि महिलाहरू यो २१औँ शताव्दीमा आइपुग्दासमेत आफ्नो हक अधिकारको कुरा उठाइरहन वाध्य भइरहेका छन् । महिलामाथि हुने दमन, अत्याचार, अन्याय, थिचोमिचो, हत्या, हिंसा हाम्रो यो समाजमा नयाँपन नभए तापनि महिलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा कोही पनि सम्वेदनशील भएको पाइँदैन । नारी केवल घरभित्रको सहयोगी भन्ने मानसिकताले ग्रसित हामी पुरुष जतिसुकै आदर्शको कुरा गरे तापनि व्यवहारमा लागू गर्न सकिरहेका हुँदैनौ । पितृसत्तात्मक राज्यको रूपमा चित्रित हामीमा परापूर्वकालमा सम्पूर्ण जिम्मेवारी महिलामा नभएको भने होइन, तथापि विभिन्न कारणले गर्दा त्यो भूमिका अहिले आएर पुरुषमा गएको देखिन्छ । हुन त नारी र पुरुष समान हुन्, एकै रथका दुई पाग्रा हुन् तथापि नारी वैचारिक रूपमा कमजोर नभए तापनि शारीरिक रूपमा स्वाभाविक रूपमा पुरुषको तुलनामा कमजोर देखिन्छ । हुन त नारीले पनि विश्वको इतिहासमा पुरुषले भन्दा कम काम नगरेको उदारहणहरू हामीमाझ नभएको होइन । तैपनि, महिलालाई हेर्ने दृष्टिकोणमा सामन्ती चिन्तन हावी हुँदा त्यसले उचित निकास दिन सकिरहेको छैन ।
यथार्थमा महिला पुरुषभन्दा कुनै पनि क्षेत्रमा कम नभए तापनि यो पुरुषप्रधान समाजको यथास्थितिवादी चिन्तन, सामन्ती सोचको कारणले गर्दा उनीहरूलाई समाजमा पुरुषभन्दा कमजोर र निरीह बनाइएको हुन्छ । यो प्रवृत्ति नेपालमा मात्र नभई हरेक राज्यमा पाइन्छ । पुरुषको अहंकारवादी सोचाइको कारण परापूर्वकालदेखि हालसम्म पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको पाइँदैन । परम्परागत सोचाइ, आर्थिक अभाव, शैक्षिक रूपमा चेतनाको कमी, अहंकारको कारणले गर्दा नारी र पुरुषबीच असमानता रहेको पाइन्छ । छोरा र छोरीबीचको विभेद, छोरालाई र छोरीलाई गरिने व्यवहारमा एकरूपता नहुनु, छोरीमान्छे अर्काको घरमा जाने जातको रूपमा चित्रित गर्ने परम्पराले गर्दा यो प्रवृत्ति बढ्दै गएको पाइन्छ । आर्थिक रूपमा विपन्न हुनु, त्यसमाथि धर्म, संस्कार, रीतिरिवाज, चालचलनले पनि नारी र पुरुषबीचको खाडललाई झन् बढाइदिएको हुन्छ । छोरी जन्मेदेखि नै विभेदको सिकार बन्ने अवस्थाको कारणले उसको जीवनमा समेत त्यसको प्रभावले जकडेको पाइन्छ । उही पृष्ठभूमीको सिकार बनेको महिला आफ्नो छोराछोरीमाथि समेत त्यही व्यवहार प्रदर्शन गरेको हुन्छ, किनकी उसले त्यही भोगेको र सिकेको हुन्छ । छोरालाई जतिसकुै दु:ख गरेर भए पनि बुढेशकालको सहारा भनेर हुर्काएको बढाएको हुन्छ भने छोरीलाई अर्काको घर जाने जात भनेर सधँै घरधन्दामा लगाउने कारणले र उमेर नहँुदै विवाह गरिदिने हुँदा पनि समाजमा सधैँ छोरा र छोरीबीच विभेद भइरहेको हुन्छ । जन्मदादेखि नै छोरा पाउँदा खुसी हुने र छोरी पाउँदा रुने हरेक आमाबुबाको चिन्तनले पनि छोरीमाथीको विभेद पत्ता लगाउन सकिन्छ भने त्यसमा नारीको मात्र हात नभई समाजको मसिहा ठान्ने पुरुषले पनि छोरा जन्मदा माया गर्ने र छोरी जन्मदा गाली गर्ने, कुट्ने गर्नाले पनि नारीलाई छोरीप्रतिको मोह घट्दै गएको देखिन्छ । किनकि, त्यो छोरीले पनि भविष्यमा गएर आफूलेभैँm दु:ख पाउने कुरामा ती आमा विज्ञ रहेको देखिन्छ ।
समाजका प्रतिष्ठित, मुखिया , जमिन्दार, समाजसेवी भनाउँदाहरु नै यो समाज र विकासका विरोधी हुन् । जसका कारणले आम सर्वसाधारण र नारीहरू यिनीहरूबाट आक्रान्त रहेका छन् । खोक्रो आडम्बरमा बाँचेका यिनीहरू आफ्नो स्वार्थका लागि जस्तो पनि कदम चाल्न सक्छन्, जसको कारणले गर्दा समाजमा रहेका अल्पसंख्यक, महिला, दलित, पिछडिएका वर्ग झन्झन् यिनीहरूको सिकारको कारण पछि परेका हुन्छन् । परिवर्तनको नाममा, समाज रूपान्तरणको नाममा, विकासको नाममा यिनीहरूले समाजलाई नै बन्धक बनाइरहेका हुन्छन् । परिवर्तन आपैँmमा पनि एउटा गति हो तथापि समाजका मसिहा भनाउँदाहरूले त्यसैलाई भजाएर आफ्नो भूमिका सधँै चलायमान बनाइरहेका हुन्छन् । यसले गर्दा पनि समाजका परिवर्तनका सर्जक भनाउँदाहरूबाट नै समाजमा रहेको नारी, छोरी र महिलाहरूलाई दमित गराएर राखेका हुन्छन् ।  उही तौरतरिका, नारी र पुरुषको समान सहभागिताबाट जन्मने सन्तानबीच नै हुने विभेदको कारण त्यसो भए के त ? के महिला पुरुषको खेलौना मात्र हो त ? के महिला घरभित्रको सहयोगी मात्र हो त ? के महिला यो संसारको आम नागरिक नै होइन त ? के महिलाविना यो संसार सम्भव होला त ? के महिला र पुरुषबीच समानता पाउन सकिँदैन त ? के महिलाले पनि पुरुषले जति काम गर्न सक्दैन त ? यदि सक्छ भने यो सब विभेद के का लागि त ? के महिला अर्काको घर जाने जात मात्र हो ? त्यसो भए त्यो महिला अर्काको घर जाँदा के फेरि महिलाको नै घर जान्छ त ? आवश्यकता समान हुने अनि अवसर दिनको लागि पछाडि राख्ने, के यही हो समानता ? यही विभेदको कारणले गर्दा महिलाले पनि पुरुषले सरह शिक्षा, दिक्षा, समान अवसर, रोजगारी र पैतृक सम्पतिमा बराबरी अंश दिने कानुन बन्नुपर्दछ, अनि मात्र छोरा र छोरीबीचको यो असमानताको अन्त्य हुन्छ । सम्पूर्ण अवसर, सुख, खुसी छोरालाई मात्र उपलव्ध गराउने अनि छोरीलाई अवसरबाट वञ्चित गरेर छोरीलाई मात्र दोष दिन मिल्छ ? हरेक महिला पुरुषले हरेक छोरासरह छोरीलाई पनि समान शिक्षा जसरी आफ्नो सम्पति दिनुपर्दछ, यसो गर्दा हरेक छोरीले पनि आफ्नो सम्पतिलाई परिचालन गरेर काम गर्न सक्दछ । सधँै परनिर्भर रहेर बाँच्नु पर्देन । दोस्रो नागरिकसरह दमित भएर जिउन पर्दैन । किनकि, हरेकले छोरा सरह छोरीलाई पनि अंश दिएमा त्यसले बराबरीको अवस्था सिर्जना गराउँदछ र महिला पुरुषबीचमा समानता ल्याउँछ । किनकि, जोकोही पनि छोरी आफ्नो गच्छेअनुसारको सम्पति लिएर आउँछ भने त्यसमा उसको पनि भूमिका देखिएको हुन्छ तर त्यो दाइजोको रूपमा होइन, छोरा सरह अंश लिएर आउनुपर्दछ । जसले गर्दा हरेक नारीलाई आफ्नो परिश्रममा जिउन वाध्य बनाउँदछ । परिवर्तनको ढोकाहरू खुल्दछ । अवसरहरू सिर्जना हुन्छ, छोरा र छोरीबीचको असमानतामा समानता ल्याउँदछ । यसो गरेमा कोही पनि नारी पुरुषबाट दमित, अपहेलित र घृणाको पात्र बन्नुपर्दैन । कसैले पनि हिंसाको सिकार हुन पर्देन । कोही पनि परपुरुषले आफ्नो महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन गर्दछ । छोरालाई मात्र होइन, छोरीलाई पनि समान शिक्षा र सम्पति दिने भएपछि समान मायाको अवस्था सिर्जना हुन्छ । यसले गर्दा कोही पनि महिलाले विभिन्न प्रकारको हिंसाको सिकार हुनु पर्दैन । जसले गर्दा कोही पनि आमाबुबा आफ्नो सन्तानमाथि असमान व्यवहार गर्न सक्दैन किनकि छोरी पनि हरेक कुराको भागिदार बन्ने सन्दर्भमा छोरीको पनि जवाफदेहिता हुन आउँदा त्यसले समाजमा सकारात्मक परिवर्तनको आभास गराउँदछ ।
अत: नारी र पुरुष समान हौ भन्ने नागरिक समाज, प्रभुत्व व्यक्ति तथा विभिन्न मानवअधिकार संस्थाले नारामा मात्र होइन व्यवहारमा पनि छोरीलाई पनि छोरा सरह अंश दिने व्यवस्था गर्नुपर्दछ र नेपालको संविधानमा नै लेखिनुपर्दछ । अनि मात्र नारी र पुरुषबीचको असमान्य असमानताको अन्त्य भई समानताको अवस्था सिर्जना हुन्छ । छोरीलाई दिइने अंश दाइजोको रूपमा नभई उसको बाबुको पैतृक सम्पतिको बराबरीको हिस्सा हुनुपर्दछ, जुन आम दाजुभाइको बीचमा हुन्छ । त्यसैले छोरीलाई दया होइन, उसको अधिकारको सुनिश्चितता गरिनुपर्दछ । अनि मात्र समाजमा देखिएको हत्या, महिला हिंसाको अन्त्य गर्न सकिन्छ । जुन कुरा व्यवहारमा लागू हुन सक्दैन, त्यो किताबी नारामा मात्र सीमित हुँदैमा परिवर्तन र समानता पाउन सक्दैन । अत: छोरीले पनि छोरासरह समान पैतृक सम्पति पाउनुपर्दछ ।

प्रतिक्रिया