प्रांगारिक र जैविक मल खरिद गर्न आग्रह

काठमाडौं : नेपाल प्रांगारिक मल उत्पादक संघले आफूअन्तर्गत फर्महरूद्वारा उत्पादित सबै प्रांगारिक तथा जैविक मल खरिद गरिदिन कृषि मन्त्रालयसँग आग्रह गरेको छ ।
रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगले जनस्वास्थ्यलाई गम्भीर असर पारिराखेको हृदयघात, फोक्सोको क्यान्सर, छालाको क्यान्सर, महिलामा गर्भ नरहनेजस्ता रोग बढिराखेको जनाउँदै संघले प्रांगारिक तथा जैविक मलको प्रयोगले यस्ता रोगबाट सिकार हुन नपर्ने स्पष्टसमेत पारेको छ ।
संघअन्तर्गत दर्ता भएका करिब २२ वटा फर्मले हाल बर्सेनि २० हजार टन प्रांगारिक तथा जैविक मल उत्पादन गरिराखेका छन् । ती फर्मबाट उत्पादन भएका ती मलमध्ये यस वर्ष मन्त्रालयले पाँच हजार टन खरिद गरिदिने प्रतिबद्धता जनाएको छ ।
मन्त्रालयले गत वर्ष चार हजार टन प्रांगारिक तथा जैविक मल खरिद गरेको थियो । संघद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव अर्जुनकुमार प्रसाईंले भने, ‘कृषि मन्त्रालयले रासायनिक मल विस्थापित गर्दै जाने र प्रांगारिक तथा जैविक मल प्रवद्र्धन गर्ने नीति लिनु अति आवश्यक छ ।’
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत वर्ष नेपालमा रासायनिक मल तथा कृषि बिउ तथा विषादीमा करिब ३० अर्ब खर्च भएको थियो । अर्काेतर्फ गत वर्ष मात्र सात लाख मेट्रिकटन रासायनिक मल आयात भएको थियो ।
संघका अध्यक्ष नहेन्द्र खड्काका अनुसार गड्यौला पालन, मेसिनरी औजार, सडेगडेका वस्तुबाट प्रांगारिक तथा जैविक मल उत्पादन भइराखेको छ । प्रांगारिक तथा जैविक मलका विषयमा नै आफ्नो शैक्षिक अध्ययनको विषयवस्तु बनाएको खड्काले बताउँदै भने, ‘रासायनिक मलले तत्काल  बढी उत्पादन दिएजस्तो लागे पनि दीर्घकालीन रूपमा यसले माटोको उर्बरा शक्तिमा क्षय तथा जनस्वास्थ्यमा गम्भीर असर पार्ने गर्छ ।’
नेपाल प्रांगारिक मल उत्पादन संघ तथा जैविक भर्मिकम्पोस्ट उत्पादक संघबीच हालै एकीकरण भई नेपाल प्रांगारिक मल उत्पादक संघ गठन भएको थियो । पत्रकार सम्मेलनमा महासचिव प्रसार्इंले कृषि मन्त्रालयले निर्माण गरिराखेको २० वर्षे दीर्घकालीन कृषि रणनीतिमा प्रांगारिक मल उत्पादनलाई उच्च प्राथमिकतामा राख्न आग्रहसमेत गरे ।

प्रतिक्रिया