चुचुरोमा “ग्रेटर नेपाल”

greaअहिलेको नेपाली पुस्ता ‘ग्रेटर नेपाल’ को ऐतिहासिकताप्रति कति परिचित होला ? पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको नेपालको सिमाना सुगौली सन्धिपछि साँघुरिँदै गएको तथ्यप्रति कसैकसैको मात्रै चासो होला । नेपालको २६ वटा जिल्ला भारतसँग जोडिएका छन् । तीमध्ये २१ वटा जिल्लाको ५४ वटाभन्दा बढी स्थानमा भूमि मिचिएको स्थानीय तथा सीमाको अध्ययन गरिरहेका व्यक्तिहरू बताउँछन् ।
भारतले एकतर्फी रूपमा ६० हजार हेक्टरभन्दा बढी नेपाली जमिन सुगौली सन्धिपछि मिचेको अनुमान गरिन्छ । यो कुरा कक्षा आठमा पढ्दादेखि नै सुमन श्रेष्ठको मनमा बिझ्न थालेको रहेछ । शिक्षक फणीन्द्र नेपालमार्फत उनले यो यथार्थ बुझेका थिए । सुमनलाई त्यति बेलादेखि नै लाग्न थालेछ– ग्रेटर नेपालको अभियान अघि बढाउनुपर्छ ।
हातमा लालपुर्जा बोकेर बसेका नेपालीका जग्गा भारतले मिचेको तीतो यथार्थले आफूलाई पटकपटक पोल्ने गरेको उनी सुनाउँछन् । सीमामा रहेका नेपालीलाई भारतीय सीमा सुरक्षा बलले कयौँपटक गरेका ज्यादती उनको हृदयमा गाडिएका छन् । पूर्वी नेपालको झापामा जन्मिएका सुमनले नेपालको सीमा सुरक्षाका लागि अभियान थाल्ने प्रतिबद्धता लिएका छन् ।
सोही अभियानअन्तर्गत गत मे महिनामा उनी सगरमाथा चुचुरोमा ग्रेटर नेपालको झन्डा फहराउन सफल भए । हिउँसँगको साइनो र नेपाली भूभागको माया एकैपटक दर्साउन नेपालको झन्डासहित ग्रेटर नेपालको अभियान लिएर सगरमाथाको चुचुरो पुगेका रहेछन् ।
grपहिलोपटक मेको २० तारिखमा सगरमाथाको चुचुरोमा पाइला टेके उनले । ‘हामी १६ तारिखमा सगरमाथाको बेसक्याम्पबाट हिँडेका थियौँ । पहिले एकपटक मात्रै हिमाल चढेको थिएँ । अनुभव त्यति थिएन । हिउँको ढिस्कोसँग परिचित नभएको शरीरलाई आत्मनिर्देशन दिँदै ग्रेटर नेपाल अभियानका लागि सगरमाथायात्रामा तयार गरेको थिएँ । १७ तारिखमा क्याम्प ३ मा पुग्यौँ । १८ मेमा साउथ कोलमा बस्यौँ । १९ मेको साँझ सात बजे शिखरको यात्रा सुरु गर्‍यौँ ।’ सगरमाथा विजयको सुखद अनुभूतिसाथ आरोहणका कठिनाइ पनि उनले सुनाए, ‘झोलामा ग्रेटर नेपालको झन्डा थियो । नेपालको राष्ट्रिय झन्डाको सानमा विश्वको अग्लो चुचुरोमा बसेर नेपालको ऐतिहासिक चित्र समेटिएको ग्रेटर नेपालको नक्सा अंकित झन्डा फहराउने चाहनाले भरिएको थिएँ । क्याम्प ३ बाट माथि लागेपछि भने ज्यान फाल्न आएछुझैँ लाग्न थाल्यो । खतरनाक बाटो, डोरीको भरमा उकालो लाग्दा ज्यान थर्थरी काँप्न थाल्थ्यो । जीउ पूरै गलेर आउन थाल्यो । बल्लतल्ल साउथ कोल पुगियो, त्यहाँ पुगेपछि भने शरीरमा स्फूर्ति आएझैँ भयो ।’
साउथ कोल पुग्दाको उत्साह बाँडे, ‘साउथ कोलको तल हिमालका स–साना हिउँले भरिएका चुचुरा देखिएका थिए । हामीभन्दा तलको खुला आकाश बादलले ढाकिएको थियो । यस्तो लाग्थ्यो, ‘स्वर्गीय आनन्दमा चुर्लुम्म डुबेको छु ।’ आठ हजार मिटर उचाइमा पुग्दा देखेका दृश्यले सुमनको मनमा उत्पन्न त्रास त्यसै हटाइदियो । अनि, आफ्नो अभियान सम्झे । नेपाली भूमि विस्तार गर्ने अभियानमा आफूजस्तै युवाको जोस बढाउन सगरमाथाको चुचुरोबाट सन्देश दिन जरुरी ठाने । अनि, उचाइसम्मको यात्रा अघि बढाए ।
पाइलापाइलामा थपिएको ज्यानको जोखिमलाई आँखा चिम्लिएर आफ्नो बनाउँदै २० मेको बिहान ९ बजेर २५ मिनेटमा सगरमाथाको उचाइ भेटे उनले । ‘आँखा हर्षले भरिएका थिए । एक हातमा चन्द्रसूर्य अंकित राष्ट्रिय झन्डा अनि अर्को हातमा पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्मको ग्रेटर नेपालको झन्डा थियो ।’ एकातिर आफूले थालेको अभियानलाई विश्वको सर्वोच्च शिखरमा पुगेर अगाडि बढाउने शंखनाद गरे उनले । २५ मिनेटजति शिखरमा बिताएर फर्किंदा नेपालको मिचिएको सीमा फर्काउने अभियानको अभियन्ता बनेको महसुस गरिरहेका थिए आफूलाई । तर, काठमाडौं फर्किएपछि उनले थालेको अभियानको कतै चर्चा भएको छैन । ‘नेपालका धेरै व्यक्तिलाई आफ्नो देशको सीमा मिचिएको, सीमाका दाजुभाइ दिदीबहिनीले दु:ख पाएको ख्याल नै छैनझैँ लाग्यो,’ ग्रेटर नेपालबारे अधिकांश व्यक्तिलाई जानकारी नै नभएको बताउँदै उनले थपे, ‘मैले ग्रेटर नेपालको अभियानबारे बताउँदा धेरैले केही थाहा नपाएझैँ गरे ।’
नेपालका राजनीतिक दल र सरकारका व्यक्तिहरू पनि सीमा जोगाउन सचेत नभएको अनुभव सुनाउँदै २४ वर्षे सुमनले भने, ‘म एक्लै भए पनि नेपालको मिचिएको भूभाग फिर्ता ल्याउन लागिरहन्छु ।’ (सौस)

प्रतिक्रिया