साउनमा मुद्रण उद्योगको महाधिवेशन

काठमाडौ : नेपाली मुद्रण ब्यवसायीको एक मात्र छाता संगठन नेपाल मुद्रण उद्योग महासंघको प्रथम राष्ट्रिय महाधिवेशन २५ र २६ साउनमा काठमाडौंमा हुने भएको छ  । महासंघ तदर्थ समितिको केन्द्रीय तदर्थ समितिको बैठकले महाधिवेशनको मिति तय गर्नुको साथै महाधिवेशन सम्वद्ध विभिन्न निर्णय गरेको छ ।
केन्द्रीय कमिटिको निर्णय अनुसार महासंघमा अहिलेसम्म आवद्ध भइसकेका जिल्ला मुद्रण उद्योग संघले ५ साउनसम्म जिल्ला अधिवेशन सम्पन्न गरी १० साउनमा महाधिवेशन प्रतिनिधि पठाइसक्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । महासंघको विधानत: जिल्ला संघहरूले प्रति सात जना सदस्य बराबर एक जनाको दरले महाधिवेशन प्रतिनिधि पठाउनसक्ने व्यवस्था छ ।
यसैगरी अहिलेसम्म जिल्ला संघ गठन नभएका जिल्लाले असारमसान्त भित्रमा जिल्ला संघ गठनगरी ५ साउन भित्रमा महासंघमा आवद्धता ल्याई १० गते भित्रमा प्रतिनिधि पठाउन सक्नेछन् । बैठकले विभिन्न उपसमितिसमेत गठन गरेको छ  । ०३५ मा नेपाल मुद्रण उद्योग संघ काठमाडांैमा गठन भएको र जिल्लामासमेत जिल्ला संघहरू गठन भए पनि महासंघको रूपमा संगठित हुन सकेको थिएन । नेपाली मुद्रण ब्यवसायीको छाता संगठनको रूपमा नेपाल मुद्रण उद्योग महासंघ गठनगर्ने सम्बन्धमा ०६२ सालदेखि भएका विभिन्न निर्णयलाई संस्थागत गर्दै लामो समयको प्रयासपछि महासंघको विधिवत गठन भएको थियो ।

प्रतिक्रिया