चलचित्र महोत्सवमा कलाकर्मी अलपत्र

filmधरान : चलचित्र विकास बोर्डको आयोजनामा धरानमा शनिबारबाट सुरु भएको ‘राष्ट्रिय चलचित्र महोत्सव’मा राजधानीलगायत  विभिन्न स्थानबाट सहभागी कलाकर्मीहरू अलपत्र परेका छन् । महोत्सव व्यवस्थापन समितिको कमजोरीका कारण उनीहरू अलपत्र परेका हुन् । लामो समयको एक्सर्साइजसहित आयोजना गरिएको महोत्सवमा कलाकर्मीहरूको न्यून उपस्थिति रहेको छ भने महोत्सवमा पुगेका कलाकर्मीहरूले विभिन्न झन्झटको सामना गरिरहेका छन् ।
महोत्सवमा सहभागी हुन शनिबार मध्यराति धरान आइपुगेका प्राविधिक संघको टोली पुगेकै दिन आफ्नै व्यवस्थापनमा रात गुजार्न बाध्य भए भने यो टोली आइतबार प्राविधिक संघका अध्यक्ष मनोज केसीको पहलमा काठमाडौं फर्किए । महोत्सवमा प्रतिनिधिका रूपमा पठाएको टोलीले अलपत्र परेको गुनासो गरे । त्यसैले मैले आफ्नो पहलमा उनीहरूलाई प्लेनबाट काठमाडौं फर्काए, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले भने । हामीलाई अतिथिका रूपमा बोलाएर अलपत्र पारिएको छ, यस विषयमा छिट्टै पत्रकार सम्मेलन गरी संघले आफ्नो कदम सार्वजनिक गर्छ ।
त्यस्तै महोत्सवमा सहभागी निर्माता संघका प्रतिनिधिहरूलाई पनि निर्माता संघले पहल गरेर फिर्ता बोलाएको छ ।
महोत्सवमा सहभागी गराउन बोर्डले गाडी र प्लेन गरी दुई चरणमा कलाकार टोली धरान पुर्‍याएको थिए ।  तर, आयोजकका व्यवस्थापन फितलो हुँदा सहभागी कलाकार, पत्रकारलगायत सबै सहभागीले दु:ख बेहोर्नु पर्‍यो ।सहभागी मध्ये केही कलाकर्मी धेरैजसो केही आफ्नै पहल र केही संघसंस्थाको पहलमा काठमाडौं फर्किएका छन् ।
महोत्सवमा भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, आकाश अधिकारीलगायतका कलाकारले व्यवस्थापन समितिको कमजोरीका कारण आफूहरूले दु:ख भोगेको बताए । उनले भने, ‘यस्तो म्यानेजमेन्ट हुन्छ भन्ने थाहा भए हामी आउने नै थिएनौँ’ । यी कलाकारले महोत्सवमा सामान्यले खाने खाना खानसमेत बाध्य भए ।
susma-karki1महोत्सवमा सहभागी कलाकारलाई लाने र ल्याउनेमा पनि आयोजकले पक्षपात गरेको छ । कतिपय कलाकारलाई आयोजकले दुई तर्फी प्लेन टिकटको व्यवस्था गरेको छ भने कतिलाई एक तर्फी । गाडीबाट जानेलाई बस्नेकोसमेत व्यवस्था नभएको सहभागी एक कलाकारले बताए ।
महोत्सवमा निशा अधिकारी, झरना थापा, स्वेता खड्का, भुवन चन्द, वसुन्धरा भुसाल, कृष्ण मल्ल, गायक शिव परियार, निर्देशक दिनेश डिसी, गायिका कोमल वली र हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतकाको सहभागिता थियो ।
सबैलाई सुरुमा बसबाट महोत्सवमा सहभागी गराउने खबर गरिए पनि आयोजकले केहीलाई बस र केहीलाई प्लेनको माध्यमले काठमाडौंबाट महोत्सवस्थल धरान पुर्‍याइयो । युवन पुस्ताका कलाकार तथा निर्देशक प्लेनको सयरमा महोत्सव पुगे भने चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा जस्ता पाका तथा बुढ्यौलीले छोएका व्यक्ति १७ घन्टा लामो यात्रा गर्न बाध्य भए ।
नेतृत्वको न्यून सहभागिता
चलचित्र विकास बोर्डको आयोजनामा धरानमा शनिबारबाट सुरु भएको ‘राष्ट्रिय चलचित्र महोत्सव’ मा चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका नेतृत्व तहका व्यक्तिहरूको भने सहभागिता न्यून थियो ।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीलगायतका महोत्सवमा उपस्थिति थिए । चलचित्र सम्बन्धित संघ/संस्था मध्ये निर्देशक समाजका अध्यक्ष दिनेस डिसीको मात्र सहभागिता थियो ।
महोत्सवको रौनक
व्यवस्थापकीय कमजोरीले केही खल्लो महसुस गराएको  ‘राष्ट्रीय चलचित्र महोत्सव’ मा कलाकाले आफ्नो प्रफमेन्सद्वारा दर्शकका मनजित्ने प्रयास भने गरिरहे । चलचित्रलगायत विभिन्न गीतमा सहभागी कलाकारहरूले आ–आफ्नो सांगीतिक प्रस्तुति राखे । ‘सुन सुन सनम’, ‘सुनकोसी सुसेलेको’, ‘यो हो मेरो प्राण भन्दा प्यारो’, ‘लहनाले जुरायो की’ लगायतका गीतमा कलाकारहरूले आकर्षक नृत्य देखाए ।
अभिनेता यशराज गरच, गजित बिष्ट, अभिनेत्री अनु शाह, सुष्मा कार्की, अशिष्मा नकर्मी, निता ढुंगानालगायतले आकर्षक नृत्यद्वारा दर्शकलाई मनोरञ्जन दिलाए । अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्काले भने आफ्नै चलचित्र कहाँ भेटिएलाको गीतमा जोडी नृत्य देखाए । कलाकारहरूको स्टेज नृत्यमा दर्शकले ताली र सिठीसहित पूरै अवधि साथ दिए ।
चलचित्रसम्बन्धी अन्तक्र्रिया
वर्तमान नेपाली चलचित्रहरूमा यौन र कामुकता बढी हुने गरेको महोत्सवको दोस्रो दिन आयोजित अन्तक्र्रियामा वक्ताहरूले बताए ।
आइतबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तक्र्रियामा चलचित्रहरूले विचार र विषयवस्तुलाई महत्त्व दिन छाडेकाले सिंगो उद्योग नै हलुका सावित हुँदै गएको धारणा राखे । महेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक गोपीकृष्ण खतिवडाले कुनै पनि चलचित्रले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै दोस्रो स्थानमा मनोरञ्जनलाई समावेश गरे मात्र राम्रो चलचित्र बन्न सक्ने बताए । उनले भने चलचित्र बनाउन निर्माता निर्देशकले मात्र नभई चलचित्र विकास बोर्डले नै प्रयास गर्नुपर्छ ।
त्यसैगरी लेखक कमल तिगेलाले समाजलाई विकृतितिर उन्मुख गराउने कार्यमा यस्ता चलचित्रले प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरिरहेको बताए । चलचित्र विशेषज्ञ अनुप सुवेदीले बौद्धिक क्षेत्रले वेवास्ता गरेका कारण चलचित्र क्षेत्रले अपेक्षाकृत विकास गर्न नसकेको भनाइ राखे ।
निर्देशक दीपक श्रेष्ठले अलगधारको चलचित्रको नाममा जथाभावी चलचित्र निर्माण गर्ने क्रम बढेकाले दर्शकहरूले धोका पाएका र व्यावसायिक चलचित्र चल्न छाडेको धारणा अघि सारे ।
महोत्सवको दोस्रो दिन चलचित्र निर्माणसम्बन्धी कार्यशाला र चलचित्र प्रदर्शनी सम्पन्न भएका छन् । धरानका गणेश र शिव टाकिजमा शिरीषको फूल, सुम्निमा, बोक्सीलगायतका चलचित्र नि:शुल्क प्रदर्शनी गरियो । (सौस)

प्रतिक्रिया