दोभाषेकै भरमा अनुवाद गरिन्छ यहाँ

Balaram--Adhikariनेपालमा अहिले भइरहेको अनुवादलाई कसरी बुझ्ने ?
नेपालमा भइरहेको अनुवादलाई दुई ढंगबाट हेर्नुपर्ने हुन्छ । एउटा हाम्रो सांस्कृतिक पक्ष र नेपाली साहित्यमा लेखिएका कृति अनुवाद गरेर विश्व बजारमा लैजानुपर्ने र अर्को, अनुवादको माध्यमद्वारा नेपाली भाषा र संस्कृतिको उत्थान गर्ने र यसको संवृद्धिमा टेवा पुर्‍याउने काम हुन जरुरी छ । जस्तै द्वैभाषिक शब्दकोष, शब्दावली र प्राविधिक शब्द संग्रहहरूको निर्माण हुनु जरुरत छ । यसले एकातर्फ भाषिक र सांस्कृतिक संवृद्धि हुन जान्छ भने अर्कोतर्फ आफूसँग भएका चिज विश्व बजारमा पुग्छन् ।
यसलाई व्यवस्थित गर्न संस्थागत तवरबाट केही प्रयत्न भएका छन् ?
००७ सालअघि अनुवादसम्बन्धी राष्ट्रियतवरबाट धेरै प्रयत्न भए । नेपाल भाषानुवाद परिषद् (१९९४) ले विदेशी उत्कृष्ट साहित्यलाई नेपालीमा अनुवाद गर्ने र त्यसलाई विश्वविद्यालयका विभिन्न तहमा पठनपाठनमा लैजाने काम गर्‍यो । अहिलेचाहिँ नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत अनुवाद विभागबाट केही काम भएका छन् । यीसँगै निजीतवरबाट नेपाल अनुवादक समाज तीन चार वर्षदेखि अनुवादसम्बन्धी गोष्ठी र छलफल गर्दे आएको छ । राष्ट्रियतवरबाट भने सैद्धान्तिक रूपमा स्नातक र स्नातकोत्तर तहमा अनुवादसम्बन्धी अध्यापन सुरु भएको छ ।
निजीतवरबाट भएका प्रयत्नमा अनुवादक समाज नेपालको तर्फबाट कुनै मानकहरू तयार गर्नुपर्ने काम भएको छ ?
पहिलो प्रयत्न ०६३ मा नेपालमा छरिएर रहेका अनुवादकहरूको सूची तयार गर्ने सामान्य काम भएको थियो तर पछि यसको अध्यावधि हुन सकेन । अहिलेचाहिँ आफ्नो आधिकारिक वेभसाईटमा केही अनुवादकका सूची राखेका छन् । अहिले अंग्रेजी–नेपाली प्राविधिक शब्दहरू करिब ६ हजारको संख्यामा संकलन गरेर एक वर्षमा प्रकाशन गर्ने प्रयास भइरहेको छ ।
अनुवाद मात्र गरेर नेपालमा बाँच्न सकिन्छ ?
बाँच्न सकिन्छ जस्तो लाग्छ । म त अनुवादकै क्षेत्रमा लागेर जीविकोपार्जन गरेको मान्छे । यसमा कुन तहको र कुन प्रकारको अनुवाद गर्ने भन्नेमा पनि भर पर्छ । अहिले नेपाली कृति बिक्री भएर जम्मा हुन आएको रोयल्टी अंग्रेजी प्रकाशनमा खर्च गर्न चाहने एउटा उत्सुक ठूलो लेखकीय जमात पनि छ ।
तपाईंलाई मनपर्ने अनुवादित कृति नि ?
अंग्रेजीबाट नेपालीमा अनुवाद भएको टैगोरको ‘गीताञ्जलि’, हर्मन हेस्सेको ‘सिद्धार्थ’ मनपर्छ । हिन्दीबाट अनुवादित ‘लज्जा’ पनि ठिकै छ । पहिले नै पढेको गोविन्दराज भट्टराईले अनुवाद गर्नुभएको ‘विदेशी बँगँैचाको चार थुँगा फूल’ उत्कृष्ट  अनुवाद कृति हो । वसन्त थापाले अनुवाद गर्नुभएको टोनी हेगनको ‘नेपालको चिनारी’ पनि राम्रो छ । नेपालबाट अंग्रेजीमाचाहिँ मञ्जुश्री थापाको ‘द कन्ट्री इज योर्स’ राम्रो लाग्छ ।
कुनै कृतिको राम्रो अनुवाद हुनका लागि चाहिने प्रक्रिया केके हुन् ?
एउटा योजनाको तह र अर्को कार्यान्वयनको तह । योजनाको तहमा, अनुवादकले आफ्नो लक्षित समुदाय र सम्पादक सुरुमै जान्नुपर्ने हुनुपर्छ । कार्यान्वयनको तहमाचाहिँ कुन कृतिले कस्तो प्रकारको अनुवादको विधि माग गर्छ भन्ने बुझ्न आवश्यक छ ।
नेपालमा अनुवादको नाममा विकृति पनि होलान् नि †
एकदमै । तसलिमा नसरिनका कृतिहरू नेपाली बजारमा भित्रिँदै गर्दा त्यसको कपिराइट पनि लिइएको छैन र लेखकप्रति कुनै कृतज्ञता पनि देखिँदैन । अंग्रेजीबाट नेपालीमा भित्रिँदा पनि गुणस्तर कम भएझैँ लाग्छ । अनुवादको सिद्धान्तको ज्ञानै नभएको मान्छेले पनि दोभाषे भएकै भरमा अनुवाद गर्ने प्रचलन छ । अझ हाम्रा नेपाली साहित्यकार, लेखक, कवि क ख ग लाई एबिसि बनाउनेबित्तिकै म विश्व बजारमा गएँ भन्ने भ्रम पाल्छन् ।
गुणस्तरीय अनुवादलाई प्रोत्साहन गर्न र गुणस्तरहीनलाई निरुत्साहित गर्न के–कस्ता प्रयासहरू हुन सक्छन् ?
मैले अघि भनेझैँ त्रिपक्षीय सहकार्यको आवश्यकता हुन्छ । नत्र फेरि स्तरहीन अनुवादको बाक्लो उपस्थिति देखिन सक्छ ।
अनुवादमा अनुवादकको ‘स्याडोवी एक्जिस्टेन्स’ मात्र हुन्छ भन्छन् नि ?
लेखकलाई आधुनिककालमा आदर्श व्यक्ति मान्थे । अनि उनीहरू भन्थे, ‘लेख्न नसक्नेले चाहिँ अनुवाद गर्छन् ।’ तर, यो कुरा भन्नेले भने कहिल्यै लेखेनन् । विश्वका ठूला लेखकहरू जस्तै मिल्टन पनि अनुवादबाटै आएका हुन् ! अनि अझ उत्तरआधुनिकवादीहरूले लेखकलाई नयाँ जीवन दिने नै अनुवादकहरू हुन् भनेका छन् ।
केभी तिरुमलेसले भने जस्तै अनूदित कृतिलाई तेस्रो साहित्य भन्न मिल्ला ?
दुईटैतिर भएको तर अनुवशिंक रूपमा दुईटैबाट तन्केर गएको एउटा कृति हो, अनूदत कृति । बेन्जामिनले भनेका थिए, ‘अनुवाद र स्रोत कृतिको सम्बन्ध बाबु–छोराको जस्तै हुन्छ ।’ जेनेटिकल्ली छोरा बाबुसगै सम्बन्धित छ तर छोरोको जीवन भिन्न हुन्छ । त्यसैले तिरुमलेस यो मामिलामा ठीक देखिन्छन् । उदय नारायण सिंहले अनुवाद कसैको प्रतिछायाँ होइन बरु आफैँमा सम्वृद्धि हो भनेका छन् ।
तपाईंलाई काव्यिक/साहित्यिक वा प्राविधिक अनुवादमा कुनचाहिँ सहज लाग्छ ?
दुइटैको आ–आफ्नो आन्तरिक जटिलता छन् । तर, पनि सिर्जना र आन्तरिक परिवेश खोतल्नुपर्ने हिसाबले  र बिम्बमा खेल्दै सौन्दर्य पनि जोगाउनुपर्ने हुँदा साहित्यिक यसमा पनि काव्यिक अलि जटिल हो कि जस्तो लाग्छ । काव्यिक अनुवाद गर्नु भनेको झाँक्री बस्नु जस्तै हो  । अरूको अनुवादलाई आरोपित गरेर त्यसलाई पुन: बाहिर निकाल्नु पर्ने हुन्छ । प्राविधिक अनुवादमा क्षेत्र र भाषाको ज्ञान छ भने निकै सहज हुन्छ ।

प्रस्तुति : सगुन श्रेष्ठ

प्रतिक्रिया