सेनाले पृथ्वीनारायण शाहलाई भुलेकै हो ?

Prithibinarayan shahaसन् २९ मा जिसस क्राइस्ट जेरुसेलम पुगे । त्यहाँ उनलाई मार्ने षड्यन्त्र गरियो । त्यहाँ जिससका अत्यन्तै बफादार शिष्य जुदास इस्क्यारिअटले उनीमाथि विश्वासघात गरे । यहुदीको महासभामा जिससलाई क्रुसमा झुन्ड्याउने निधो गरियो । जब जिससलाई क्रसमा झुन्ड्याउन थालियो, उनका शिष्य जुदासलाई सोधियो, ‘ता यो मानिसलाई चिन्छस् ?’ जुदासले भन्यो, ‘म यो मानिसलाई चिन्दिनँ ।’ त्यसरी आफ्नै बफादार जुदासले चिन्दिन भनेलगत्तै जिससलाई क्रसमा झुन्ड्याइयो ।
नेपाली सेनाको भूमिका अहिले त्यही जुदासको जस्तो हुन गएको छ । जब सेनाले आफ्ना संस्थापक एवं संगठक बडामहाराजा पृथ्वीनारायण शाहलाई नै सम्झन छाड्यो । पृथ्वीनारायण शाहको २५०औँ जन्मोत्सवमा नेपाली सेनाले आफ्ना संस्थापकलाई चटक्कै बिर्सियो । पृथ्वी जयन्तीमा सेनाले पृथ्वीनारायण शाहलाई कुनै सलामी अर्पण गरेन । यसो गरेर सेनाले आफ्नो इतिहास आफँैले मेटन खोजेको हो कि ? भन्ने प्रश्न उब्जनु स्वाभाविक हो ।
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको गाथाले इतिहास भरिएको छ । नेपाली सेनाको जन्म पनि नेपाल एकीकरणसँगै भएको हो । बडामहाराजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान नेपाली सेनाको इतिहासको पनि महत्त्वपूर्ण अंग हो । एउटा बलियो सैनिक संगठनबिना एकीकरण अभियान सम्भव हँुदैन भन्ने कुरा दुरदर्शी राजा पृथ्वीनारायण शाहले बुझेका थिए । उनले सैनिक संरचना तयार गरे । विदेशबाटसमेत हतियार, प्रविधि र अन्य धेरै सैन्यसामग्री भित्र्याएर गोरखा जिल्लामा सेना संगठित गरे । गोर्खाली फौजले नुवाकोट र कान्तिपुरमाथि विजय प्राप्त गरेपछि वि.सं. १८०२ ताका गोर्खाली फौज नै शाही नेपाली सेना’ बन्न पुग्यो, जुन अहिले नेपाली सेनाको रूपमा स्थापित छ ।
दक्षिण एसियामै पुरानो इतिहास भएको नेपाली सेनाको स्थापना, सञ्चालन र विकास पृथ्वीनारायण र उनका उत्तराधिकारीले गर्दै आएको इतिहास अकाट्य छ । एकीकरण अभियानका क्रममा नेपाली सेनाले जुन बहादुरी, साहस र वीरताका साथ लड्यो, त्यसको ख्याती विश्वभर फैलियो । विश्वमा अहिले पनि गोर्खाली फौजलाई ‘साहसको अर्को नाम’ मानिन्छ । यसको जग हाल्ने काम पृथ्वीनारायण शाहले गरे । तसर्थ, नेपाली सेनाका लागि पृथ्वीनारायण शाह आफ्ना जन्मदाता हुन् । पृथ्वीनारायण शाहप्रति सम्मान, आदर र स्मरण गर्नु सेनाको कर्तव्य हो ।
मुलुकमा जसै गणतन्त्र आयो, गणतन्त्रका नाममा हाम्रा इतिहास र परम्परामाथि पनि धावा बोल्न थालियो । एकातिर दलहरूले हाम्रो लामो सनातन हिन्दू अधिराज्यका आधारहरू भत्काउन थाले । मुलुकलाई धर्म निरपेक्ष बनाए । अर्कोतिर संघीयताका नाममा जातीय विद्वेश फैलाए । हरेक क्षेत्रमा राजनीतिकरण हुल्ने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग हुँदै त्यसको हावा अब नेपाली सेनामा पनि पसेको अनुभव हुन थाल्यो, जब सेनाले आफ्ना संस्थापकलाई नै भुल्न थाल्यो ।
पाकिस्तानमा पूर्वराष्ट्रपति परवेज मुसर्रफले पद छाड्दा सेनाले सुरक्षाको ग्यारेन्टी लिएको छ । किनकि, मुसर्रफ सेनाका पूर्वजनरल पनि हुन् । सरकारमा को आयो, कुन पार्टीले सरकार चलायो भन्ने कुरासँग सेनाको कुनै सरोकार हुनुहुँदैन । सेनाको आफ्नै बफादारी, मर्यादा र अनुशासन हुन्छ । सेनाको विशेषता भनेकै अनुशासन र बफादारी हो । पृथ्वीनारायण शाहलाई बिर्सनु भनेको नेपाल एकीकरणको त्यो महान् पाटोलाई नै बिर्सनु हो । सँगसँगै सेनाको गौरवमय इतिहासमा पनि टिपेक्स दल्नु हो । सेनामा अहिले अग्रजहरूप्रतिको बफादारी देखिएन ।
नेपाली सेनाको मुख्य दायित्व मुलुकको रक्षा हो । मुलुकको सार्वभौम सत्ता, अखण्डता, सम्प्रभुता र राष्ट्रिय अस्मिताको रक्षा गर्नु सेनाको दायित्व हो । गणतन्त्र स्थापना यता मुलुकमा बढ्दै गएको विदेशी चलखेलका कारण इतिहासमै पहिलोपटक मुलुकको राष्ट्रियता कमजोर भएको छ । मुलुकमा विखण्डनको बीउ रोपिएको छ । विमानस्थलमा विदेशी सुरक्षाकर्मी भित्र्याउनेदेखि विभिन्न ठाउँमा विदेशी दूतावासका शाखा कार्यालय स्थापना गर्नेसम्मका गतिविधि भइरहेका छन् । विदेशीको इशारामा ४ दलको सिन्डिकेटले राष्ट्रघाती सम्झौता र निर्णयहरू गरिरहेका छन । गद्दार नेताले देश बेच्दा पनि नेपाली सेना किन चुप ?
विश्वकै कुनै पनि मुलुकको सेना आफ्नो देशप्रति बफादार हुन्छ । सेनाको बफादारी देशप्रति हुनुपर्छ, दलप्रति होइन । नेपाली सेना पनि दलप्रति होइन, देशप्रति बफादार हुनुपर्छ । यदि कुनै दल वा नेताले मुलुकको राष्ट्रिय अखण्डता र सम्प्रभुतामा आँच आउने काम गर्छ भने सेनाले त्यसलाई रोक्नुपर्छ । सेनाको काम बाह्य शत्रुसँग लड्ने मात्र होइन, शत्रुहरू देशभित्र पनि हुनसक्छन् । मुलुक बचाउन देशभित्रका शत्रुहरूलाई तह लगाउनु पनि सेनाको दायित्व हो । खुलेयाम विदेशी हस्तक्षेप हुनु, देशका दलहरू त्यही हस्तक्षेपको साक्षी बस्नु अनि सेना चुप लाग्नु ? यसले हरेक देशभक्त नेपालीको चित्त दुखेको छ ।
नेपाली सेनाले आफ्नो राष्ट्रिय चरित्र विकास गर्नुपर्छ । त्यसका लागि स्पष्ट राष्ट्रिय सुरक्षा नीतिका लागि राजनीतिक नेतृत्वलाई प्रेरित गर्नुपर्छ । कुनै दलको होइन, देशका हितका खातिर सेनाले आफ्नो मर्यादा काम गर्नुपर्छ । त्यसको सुरुआत बडामहाराजा पृथ्वीनारायण शाहप्रतिको सम्मानबाट गर्न सकिन्छ । आउँदो पृथ्वी जयन्तीमा सेनाले आफ्ना संस्थापकप्रति सलामी अर्पण गरोस् । अनि, गद्दार नेताहरूले देश बेचेको सेनाले टुलटुलु नहेरोस् । नेपाली सेनाको गौरवयम इतिहास, साहस र वीरताको ख्याती विश्वभर युगौँ युग जिवितै रहोस् ।

प्रतिक्रिया