२१ वर्षपछि दाङमा राष्ट्रिय युथ बक्सिङ

Boxing-Dang-11काठमाडौं, १६ जेठ । नेपाल बक्सिङ सघको तत्वाधानमा दाङ जिल्ला बक्सिङ संघको आयोजनामा राष्ट्रिय युथ बक्सिङ च्याम्पियनसिप बुधबारदेखि तुलसीपुरमा सुरु भएको छ । दाङमा राष्ट्रिय स्तरको बक्सिङ भएको यो २१ वर्षपछि पहिलोपटक हो । यसअघि २०४६ सालमा दाङमा राष्ट्रिय बक्सिङ प्रतियोगिता भएको थियो ।
स्थानीय अरनीको मैदानमा सुरु भएको च्याम्पियनसिपको मध्यमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक टपेन्द्रध्वज हमालले उद्घाटन गरे । कार्यक्रममा दाङ बक्सिङका संस्थापक यमबहादुर राना, बक्सिङका पूर्वप्रशिक्षकद्वय भैरहवाका तुलबहादुर थापा र शम्भु विकलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो ।
च्याम्पियनसिपको पहिलो दिन आठ इभेन्ट सम्पन्न भएका छन् । पुरुष १८ वर्षमुनिको उमेर समूहअन्तर्गत ५१ केजीमा भक्तपुर नगरपालिकका प्रकाश कुमार विष्ट र नक्साल बक्सिङ क्लबका उमेश चौधरी दोस्रो चरणमा प्रवेश गरेका छन् । भक्तपुरका प्रकाशले पहिलो चरणको खेलमा कञ्चनपुरका गौरवसिंह बोहोरालाई टेक्निकल नकआउटका आधारमा हराए । यस्तै, नक्सालका उमेशले दाङका दशरथ बुढामगरलाई पनि टेक्निकल नकआउटकै आधारमा पाखा लगाए । पुरुष ५४ केजीमा चितवनका सागर कुमालले नक्सालका राम चौधरीलाई अंकको आधारमा हराउँदै दोस्रो चरणको यात्रा तय गरे ।
पुरुष १८ देखि २२ वर्ष उमेर समूहअन्तर्गत ५२ केजी तौलमा मेघदूत क्लब काठमाडौंका गणेश श्रेष्ठले ललितपुरका सुजन बुढाथोकीलाई अंकको आधारमा पराजित गरे । सोही तौल समूहमा बाजुराका गणेश बोहोरा टीकाथलीका अमरराना मगरको चुनौती पन्छाउन सफल भए । यस्तै, घरेलु समर्थकको व्यापक साथ पाएका दाङका चन्द्रज्योति थापाले नक्साल बक्सिङ क्लब काठमाडौंका सञ्जय नेपालीलाई अंकको आधारमा हराए । पुरुष १८ वर्षमाथिकै ६० केजी तौलमा पाटन बक्सिङ क्लबका रोहित अवाले दोस्रो चरणमा पुगेका छन् । रोहितले काठमाडौंका सुदीप खत्रीलाई हराएका थिए । दिनको अन्तिम भिडन्तमा सल्यानका प्रेमकुमार रोक्का मगर सफल भए ।
१८ वर्षमाथिको ६४ केजी तौल समूहमा प्रमेकुमारले रोल्पाका सुमन घर्तीमगरलाई हराएका थिए । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ दुई उमेर समूहमा गरी १५ तौलमा प्रतिस्पर्धा गराइनेछ । १८ वर्षमुनि आठ स्वर्णका लागि ५८ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । यस्तै, १८ वर्षमाथि सात स्वर्णका लागि ५४ जनाले चुनौती पस्किएका छन् । महिलातर्फ पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जिल्ला र क्लब गरी २१ टिमका महिला १८ सहित कुल एक सय तीस खेलाडी आआफ्नो कौशल प्रदर्शनका लागि दाङ उपत्यका भित्रिएका छन् । दुई दशकपछि आफ्नो दैलोमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुँदा दर्शकको उपस्थिति पनि बाक्लो रहेको छ ।

प्रतिक्रिया