तरकारीबाट गरिबी निवारण

जनकपुर, १६ जेठ । ग्रामीण क्षेत्रको गरिबी निवारणको मुख्य आधार मानिएको तरकारीखेतीबाट सर्लाही लालबन्दीका किसानले वार्षिक एक अर्बभन्दा बढीको आर्थिक कारोबार गर्ने गरेका छन् ।
यसले गरिबी निवारणमा समेत सहयोग पुर्‍याउने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । हिजोसम्म खानकै लागि भौतारिनुपर्ने अवस्था रहेको सर्लाही लालबन्दीका किसानलाई भने अब भांैतारिरहनुपर्ने अवस्था छैन ।
तरकारीखेतीबाट भएको आम्दानीले यहाँका किसानलाई आर्थिक रूपमा सवल मात्र बनाएको छैन, मनग्यै आम्दानी गरी उनीहरू आºनो छोराछोरीलाई महँगो विद्यालयमा पढाउनसमेत भ्याएका छन् । नगदेबालीका रूपमा रहेको तरकारीखेतीले मनग्यै आर्थिक लाभ हुन थालेपछि यहाँका युवा विदेशमा गएर भौंतारिनुभन्दा आºनै खेतीबारीमा कुटो, कोदालो चलाएर व्यावसायिक रूपमा तरकारीखेतीमा लागिपरेका छन् ।
२२ वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आएका रौतहट सरुहठ्ठा गाविसका मोहम्मद सइदले छोटो समयमै राम्रो आम्दानी लिएको देखेर उहाँको देखासिकी गर्ने व्यापारीको संख्या ह्वात्तै बढेको छ लालबन्दी बजारमा । दैनिक ३५ लाख रुपियाँभन्दा बढीको हरियो तरकारी बिक्री हुने लालबन्दीमा तरकारीको व्यापार गर्नेको संख्या पुग नपुग एक हजारभन्दा बढी रहेको ताजा तरकारी तथा फलफूल बजार व्यवसायी संघका सचिव राकेश ढुंगेल बताउँछन् ।
तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि त्यस क्षेत्रका लालबन्दी, पत्थरकोट, श्रीनगर, अतरौली, जगदी, रानीजंग, नेत्रजंगलगायत गाउँका किसान व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेका व्यापारी दुनौला पासवानले बताए ।
तरकारीखेतीबाट त्यस भेगका करिब १५ हजार मानिसको आर्थिक जीविकोपार्जन हुँदै आएको छ भने यहाँबाट उत्पादित तरकारी काठमाडौं, नारायणघाट, हेटौंडा, वीरगन्ज, बुटवल, इटहरी, विराटनगर बजारमा बिक्रीका लागि व्यापारीले लैजाने गरेको तरकारी ठेकेदार दिलीपकुमार पासवानको भनाइ छ ।
तरकारी व्यापारले आर्थिक रूपमा सक्षम बनाउन थालेपछि यस व्यवसायमा करिब १ सय जना भारतीय व्यापारीसमेत संलग्न रही मलङ्गवाको बाटो गरी भारतको सीतामढी, भुतही, वैरगनियाँसम्म तरकारी लाने गरेको व्यापारी तोरण मगर बताउँछन् । मुलुक आर्थिक अभावबाट गुज्रिरहे पनि यहाँका युवा विदेश जान छाडी तरकारी खेतीमा संलग्न भएदेखि उनीहरूको पारिवारिक तथा आर्थिक हैसियतमा व्यापक सुधार आएको स्थानीय नरेश चौधरीको अनुभव छ ।
सरकारले यस क्षेत्रमा पनि लगानी गर्न सकेमा किसानको वर्षभरिको ऋण, बैंकको ब्याजसमेत तिरेर अझ धेरै आर्थिक आम्दानी हुन जाने विश्वास यस पेसामा संलग्न किसानले लिएका छन् ।
तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि तरकारी किसानलाई सरकारले सहुलियत दरको ऋण, मलखाद उपलब्ध गराउनुका साथै तरकारी खेतीमा विशेष क्षेत्र कार्यक्रम लागू गर्नुपर्ने माग किसानको छ ।

प्रतिक्रिया