मुम्बई आइपिएलको नयाँ विजेता

IPL-champ-souryadailyकोलकाता, १४ जेठ । चेन्नाई सुपर किंग्स तेस्रोपटक फाइनलमा असफलहँुदा मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग
(आइपिएल) क्रिकेटमा नयाँ विजेता बनेको छ । आइतबार राति कोलकाताको विशाल इडेन गार्डेन मैदानमा सम्पन्न फाइनलमा चेन्नाईलाई २३ रनले हराउँदै मुम्बई पहिलोपटक विजेता बन्दै आइपिएलको छैटाँै संस्करण जित्न सफल भएको हो । हालसम्म पाँचपटक फाइनल पुगेको चेन्नाई दुई संस्करणमा मात्र विजेता बनेको छ ।
सानदार बलिङ प्रदर्शन गर्दै मुम्बई उपाधि जित्न सफल भएको हो । भारतीय राष्ट्रिय टिमका सदस्य रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले १४९ रनको लक्ष्य पछ्याएको चेन्नाईलाई निर्धारित २० ओभरमा १२५ रनमा सीमित गर्‍यो । मुम्बईका फास्ट बलरद्वय मिचेल जोनसन र लासिथ मालिंगाले सानदार प्रदर्शन गरे । माथिल्लोक्रमका चार ब्याट्सम्यानलाई आउट गरेका यी दुई गैर भारतीय बलरले बलियो ब्याटिङक्रम भएको चेन्नाईलाई मध्यम लक्ष्य पछ्याउनेक्रममा सुरुआतदेखी नै दबाबमा राखेका थिए ।
स्पिनर हरभजन सिंहले दुई तथा अर्का स्पिनर प्रज्ञान ओझाले एक विकेट लिए भने अन्य फास्ट बलरद्वय  किरोन पोलार्ड र ऋषि धवनले एक/एक विकेट लिएर साविक उपविजेता चेन्नाईलाई जितबाट टाढा राखेका थिए । कप्तान महेन्द्र सिंह धोनीले साताँै नम्बरमा आएर नटआउट ६२ रन जोडेपछि भरपर्दा अन्य खेलाडीले साथ छाडी सकेकाले उनी हार स्विकार्न बाध्य हुनुपर्‍यो ।
सानदार लयमा रहेका माइकल हसि एक रनमा आउँट हुँदा सुरेश रैना, बद्रिनाथ, रविन्द्र जडेजा र क्रिस मोरिसले खाता पनि खोल्न सकेनन् । मुरली विजय १८, ड्वायन ब्राभो १५ र एल्बी मोर्केल १० रन जोडेर आउट भए ।
ओपनिङ बलर मालिंगाले पहिलो ओभरमै हसि र रैनालाई आउट गर्दा लगत्तै ओभरमा जोनसनले बद्रिनाथलाई आउट गरेपछि चेन्नाई ३–३ को स्थितिमा रहेको थियो । चौथो विकेटका लागि ३२ रनको साझेदारी गरे पनि त्यसपछि पतनक्रम सस्तैमा हुँदा चेन्नई ५८–८ को स्थितिमा पुगेको थियो । धोनीले नवौँ विकेटका लागि रविचन्द्रन आश्विनसँग ४१ रनको साझेदारी गरेका थिए । निकै साहसिक इनिङ खेल्नेक्रममा धोनीले ४५ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे ।
त्यसअघि तीन खेलाडी  पोलार्ड, अम्बाटी रायुडु र दिनेश कार्तिकले सम्हालिएको प्रदर्शन गरेपछि मुम्बई चुनौतीपूर्ण योगफल तयार गर्न सफल भएको थियो । १६ रन जोड्दा तीन विकेट गुमाएको मुम्बईका लागि पोलार्डले नटआउट ६० रन जोडे भने रायुडुले ३७ र कार्तिकले २१ बनाए । पोलार्ड र कार्तिकबीच चौथो विकेटका लागि ३६ रनको साझेदारी भयो भने पोलार्ड र रायुडुबीच पाँचौ विकेटका लागि ४८ रनको साझेदारी भयो । प्रारम्भिक ब्याट्सम्यान ड्वायन स्मिथ चार र आदित्य तारे शून्यमा आउट भए । रोहित शर्माले दुई रन मात्र जोडे । बलिङतर्फ चेन्नाईका ड्वायन ब्राभोले चार विकेट लिए ।
यसअघि एकपटक फाइनल पुगे पनि मुम्बई उपाधि भिडन्तमा चेन्नाईसँग पराजित भएको थियो । रिकी पोन्टिङ र सचिन तेन्दुलकरजस्ता महान् क्रिकेटर टोलीमा रहे पनि चोटका कारण उनीहरू पछिल्ला केही खेलमा उपस्थित हुन नसकेपछि कप्तानको जिम्मा पाएका रोहितले मुम्बईलाई सानदार यात्रामा अगाडी बढाएका थिए ।
सानदार प्रदर्शन गरेका पोलार्ड प्लेयर अफ दि फाइनल भए । राजस्थान रोयल्सका अलराउन्डर सेन वाट्सन प्लेयर अफ दि सिरिज भए । प्रतियोगितामा चेन्नाईका माइकल हसी सर्वाधिक रन बनाउने खेलाडी भए भने चेन्नाईकै ड्वायन ब्राभो सर्वाधिक विकेट (३१) लिने खेलाडी भए ।
सचिनद्वारा सन्न्यास
सचिन तेन्दुलकरले यस सिजनको समाप्तिसँगै आइपिएलबाट सन्यास लिएको घोषणा गरेका छन । मुम्बईले आइपिएल उपाधि जितेपछि आयोजित कार्यक्रममा कप्तानसमेत रहिसकेका सचिनले यस्तो घोषणा गरेका हुन् । उनी लिग चरणमा हैदराबादविरुद्ध खेल्दा घाइते भएपछि पुन: खेलमा फर्कन सकेका थिएनन् । यो सिजनमा सचिनले १४ म्याचमा २२.०७ को औसतले २८७ रन बनाएका थिए । यसमा उनको सर्वोच्च निजी स्कोर ५७ रह्यो ।
‘मलाई लाग्छ आइपिएल खेल्न छाड्ने यो उत्तम समय हो किनभने म ४० वर्ष पुगिसकेँ,’ सचिनले भने, ‘त्यसैले यस सिजनलाई मैले अन्तिम आइपिएल सिजन बनाउने निर्णय गरेको छु ।’
सन् २००८ मा आइपिएलको सुरुआतदेखि नै मुम्बई इन्डियन्सको हिस्सा बन्दै आएका सचिनले ७८ आइपिएल खेलमा सचिनले ३४.८३ को औसतमा २३३४ रन बनाएका छन् । यसक्रममा उनले एक शतक र १३ अर्धशतक बनाए । स्मरणीय छ, उनले केही महिना पहिले मात्र एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

प्रतिक्रिया