रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्दैन : ओली

सिन्धुपाल्चोक, १४ जेठ । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एमाओवादी संविधानसभा चुनाव हुन नदिने खेलमा लागेको बताएका छन् । ‘एमाओवादीले अझै सत्ता कब्जाको दिवा सपना देखेकाले कुनै हालतमा पनि चुनाव हुन नदिन खोजेको छ,’ नेता ओलीले भने, ‘चुनाव गर्ने हो भने लोकतान्त्रिक शक्तिहरू एक हुन जरूरी छ ।’
सोमबार नेकपा एमाले सिन्धुपाल्चोकको १ क्षेत्रीय सभालाई सम्बोधन गर्दै नेता ओलीले मंसिरमा संविधानसभाको चुनाव गर्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजनीनामा दिन नपर्ने जोड दिए । अहिलेसम्म भएका सहमतिलाई एमाओवादीले पालन गर्ने हो भने मंसिरमा चुनाव हुन कसैले रोक्न नसक्ने ओलीले दाबी गरे । ‘११ र २५ बुँदे राजनीतिक सहमतिलाई कार्यन्वयन गर्ने हो भने कुनै समस्या नै आउँदैनथ्यो,’ उनले भने ।
पछिल्लो चरणमा नागरिक समाजको नाममा भएको आन्दोलनप्रति असन्तुष्टि व्यक्त गर्दै नेता ओलीले नागरिक समाजको काम राजनीतिक गर्ने नभएको बताए । उनले राजनीति गर्ने काम नागरिक समाजको नभएको बताए ।
नेता ओलीले लिस्ती र मार्मिङ गाविस जोड्ने ‘बेलिब्रिज’को समेत उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेन्द्र पाण्डे, अरूण नेपाल, जिल्ला अध्यक्ष झम्क नेपाललगायतको उपस्थिति थियो ।

एमालेको सभामा सहभागी हुन आएका कार्यकर्ताहरूलाई सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक मनोज लामाले पक्राउ गरी थुनामा राखेपछि त्यसविरुद्ध एमाले कार्यकर्ताले नाराबाजी गरेका थिए । एमाले वैकल्पिक पोलिटब्युरो सदस्य अरूण नेपालले सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक मनोज लामाले अन्य राजनीतिक दलको पैसा खाएर आफूहरूको कार्यक्रम भाड्न लागेको आरोप लगाए ।

प्रतिक्रिया