रंग‍-विविध

लोप हुने अवस्थामा घाटु नाच

सौर्य अनलाइन २०७० जेठ १३ गते ३:२७ मा प्रकाशित

Ghatu.-souryadailyलमजुङ : लमजुङका विभिन्न गुरुङ बस्तीमा यतिबेला घाटु नाच सुरु भएको छ । विशेषगरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच वैशाख पूर्णिमामा समापन गरिन्छ । विशेषगरी गुरुङ समुदायमा घाटुनाच बढी प्रचलित छ । गुरुङबाहेक दुरा र मगर समुदायले पनि घाटु नाच्ने, गाउने गरेको पाइन्छ । घाटु एक शास्त्रीय नाच हो । जानकारहरूका अनुसार १६औँ शताब्दीतिर लमजुङका एक दम्पती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगलको सिकार, पुत्रबढाइ, लडाइँ र अन्तत: मृत्युसम्मको कथा नै घाटुको विषयवस्तु हो ।
घाटुको गीत घाँटी तन्काइतन्काई गाउनुपर्ने भएकाले घाटु भनिएको गुरुङ समुदायका अगुवाहरू बताउँछन् । कतैकतै कथाका राजारानीलाई घाटमा सेलाएपछि कथा टुंगिने भएकाले घाट हुँदै घाटु भएको किंवदन्ती पनि सुन्न पाइन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ ।
घाटुमा नाच्नका लागि रजस्वला नभएका दुईजना कन्या छानिन्छ । उनीहरूलाई गुरुहरूले घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुन्छन् । यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जपिरहनुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुआत मंगलचरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धरती र आकाशलाई साक्षी राखिन्छ । तीन चार दिनदेखि तीन महिनासम्म नयाँ सिकारुले घाटुको नृत्यमा प्रशिक्षण लिन्छन् । यो गोप्य रूपले गरिन्छ ।
घाटु विशेषगरी दुई प्रकारको हुन्छ– सतीघाटु र बाह्रमासे घाटु । सती घाटु वैशाख पूर्णिमामा मात्र नाचिन्छ भने बाह्रमासे घाटु जहिले पनि नाच्ने गरिन्छ । विशेषगरी गुरुङ बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका लागि कुनै साइत हेर्न वा विशेष पूजाअर्चना गर्न पर्दैन । तर, सती घाटु भने रितपूर्वक नाचिन्छ । मादल र गीतको तालमा नाचिने यो नाच शास्त्रीय नाच हो । सतीघाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन् । यो अवस्थालाई कुुसुण्डा भनिन्छ । यो क्रममा मादलको ताल बिग्रियो वा गीत बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ, भन्छन् घाटु गुरु लीलबहादुर ।
घाटुको गीतको लय जो कसैलाई बुझ्न गाह्रो हुन्छ । विशेषगरी गैर गुरुङ समुदायलाई यो बुझ्न कठिन छ । तर, गुरुङ समुदायमा यो अमूल्य संस्कृति र निधिका रूपमा रहेको छ । घाटु नाच्नका लागि कतै दुईजना त कतै तीनजनासम्म कन्या छानिन्छ । यो एक वियोगान्त कथा भएकाले घाटुको गीत, नृत्य र अभिनयले वातावरणलाई पनि त्यस्तै बनादिन्छ ।
घलेगाउँ, भुजुङजस्ता पर्यटकीय गुरुङ गाउँहरूले यही घाटुलगायतका परम्परागत संस्कृति पर्यटकलाई देखाएर मुग्ध बनाउने गरेका छन् । पुरानोकोट, भोजे, पसगाउँ, सिङ्दी, गिलुङ, करापु, ताघ्रिङ, घेर्मु, भुलभुले, हिलेटक्सार, फलेनी, ढोडेनी, विचौर, इलमपोखरी, गौँडा, प्यारजुङ, कोल्की, दूधपोखरी, श्रीमन्ज्याङ, तार्कुजस्ता घना गुरुङ बस्तीहरूमा केही वर्ष अघिसम्म वैशाख पूर्णिमामा घाटुको रौनक छाउने गरेकोमा विगत केही वर्षयता क्रमश: घट्दो छ ।
लमजुङबाहेक कास्की, पर्वत, स्याङ्जा, तनहुँमा पनि घाटु नाच नाचिन्छ । तर, घाटु बुझ्ने, सुन्ने र यसप्रति लगाव राख्ने युवा पुस्ता उदासिन रहँदा घाटु गुरु घलेको चित्त दुखेको छ । सार्क राष्ट्रकै नमुना घलेगाउँमा घलेसहित दुईचारजना बूढापाकाहरू मात्र घाटुको ज्ञान राख्छन् । ‘आफूहरूको शेषपछि गाउँबाट घाटु हराउने त होइन भन्ने चिन्ताले उहाँलाई पिरोलेको छ । नयाँपुस्ताले यसको बिँडो थामिदिए पुर्खाले चलाएको परम्परा र संस्कृति जोगिने थियो’ घाटुगुरु घलेले भने । तर, अहिलेको युवापुस्ताले यसमा फिटिक्कै चासो नदिई पश्चिमा संस्कृतिमा भुलेकामा उनको दुखेसो छ । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय