गीतकार थापालाई राष्ट्रिय स्रष्टा सम्मान

Ratnasamser_thapa-souryadaiकाठमाडौँ : गीतकार संघ नेपालले ०६९ को राष्ट्रिय स्रष्टा सम्मान वरिष्ठ गीतकार रत्न शमशेर थापालाई प्रदान गरेको छ । गीत संगीतको क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान पुर्‍याएबापत गीतकार थापालाई एक लाख रुपियाँ र ताम्रपत्रद्वारा सम्मान गरिएको हो ।
त्यसैगरी ०६९ को ‘भन म के गरौँ’ बोलको उत्कृष्ट गीतका रचनाकार सुदीपकुमार रेग्मीलाई एक लाख रुपियाँसहित सम्मानपत्रबाट सम्मान गरिएको छ । कार्यक्रममा संगीतकार दिनेश अधिकारी, राजु सिंह, गायक राजेशपायल राईलगायत एक दर्जनभन्दा बढीलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सम्मानित स्रष्टाहरूलाई नगद पुरस्कार, ताम्रपत्र तथा प्रसंशापत्र प्रदान गरे । मन्त्री कोइरालाले स्रष्टा र सर्जकको हौसला तथा सिर्जनाको उत्थानमा यस किसिमको सम्मान कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सम्मानित स्रष्टा वरिष्ठ गीतकार थापाले आफ्नो कलमको तागत रहेसम्म स्वाभिमान र सिद्धान्तमा आँच आउनेगरी कसैसँग पनि सम्झौता नगर्ने भन्दै गीत संगीतको क्षेत्रमा लाग्ने नयाँ पुस्तामा अध्ययन र साधनाको खाँचो रहेको औँल्याए ।
वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गायक दीप श्रेष्ठलगायतले नेपालको पहिचानलाई बचाउने गीत संगीतलाई राज्यले उचित प्राथमिकता दिन नसकेको भन्दै गीत संगीतको उत्थान तथा प्रवद्र्धनका लागि लगानी बढाउन जरुरी भएको बताए ।
चलचित्रबाट पनि सम्मानित
चलचित्र नृत्य निर्देशक संघले नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । संघले शनिबार ‘सम्मान, बधाई तथा शुभकामना’ कार्यक्रमको आयोजना गरी वरिष्ठ नृत्य निर्देशक वसन्तजंग रायमाझी, निर्माता संघका नवनिर्वाचित अध्यक्ष राजकुमार राईसहित अन्य पदाधिकारी र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीसहित अन्य पदाधिकारीलाई सम्मान गरेको हो ।
निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्रसँग सम्बन्धित संघसंस्थाहरूले सहकार्य गर्दै चलचित्र विकासका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए । निर्देशक समाजका अध्यक्ष डिसीले निर्देशक संघले स्रष्टालाई सम्मान गर्ने चलन बसाल्नु सकारात्मक भएको भन्दै सरोकारवाला अन्य संस्थाहरूले पनि त्यसलाई अनुशरण गर्नुपर्ने धारणा राखे । सम्मानितहरूलाई सम्मान प्रदान गर्दै नायक राजेश हमालले चलचित्र क्षेत्रको विकासका लागि राज्यले लगानी गर्ने बताए ।
चलचित्र नृत्य निर्देशक संघका महासचिव गोविन्द ‘प्रभात’ ले चलचित्रसँग सम्बन्धित नृत्य पेसालाई कुनै पनि संघसंस्थाले समेट्न नसकेको अवस्थामा नृत्य निर्देशकले आफ्नो पेसागत सम्मान र पहिचानका लागि निर्देशक संघको स्थापना गरेको जानकारी गराए ।
संघका उपाध्यक्ष गोविन्द राईले आगामी दिनमा चलचित्र नृत्य निर्देशकीय पेसामा मौलिक नृत्य प्रस्तुत गरी चलचित्र विकासका लागि जुटिरहने, स्रष्टाहरूलाई सम्मान र पुरस्कारसमेत प्रदान गरिने बताए । (सौस)

प्रतिक्रिया