आइतबार दुवै सेमिफाइनल

काठमाडौं, ११ जेठ । राजधानीमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम चारको खेलमा क्षेत्र नम्बर एक विराटनगर र क्षेत्र नम्बर सात जनकपुरधाम तथा क्षेत्र नम्बर चार भैरहवा र क्षेत्र नम्बर पाँच नेपालगन्जबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’मा जनकपुरधाम विजेता र नेपालगन्ज उपविजेता बने भने समूह ‘बी’बाट भैरहवा र विराटनगर क्रमश: विजेता र उपविजेता भएका हुन् । शुक्रबार भैरहवाले विराटनगरलाई हराएपछि सेमिफाइनल भिडन्तको समीकरण तय भएको हो । कप्तान इन्दु बर्माले सानदार अलराउन्ड प्रदर्शन कायम राखेपछि भैरहवा ३ विकेटले विजयी भयो । पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरमा ७ विकेट गुमाएर ९८ रन जोडेको थियो । विराटनगरलाई दबाबमा राख्नेक्रममा इन्दुले दुई विकेट लिइन् । भैरहवाले प्राप्त लक्ष्य २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । भैरहवाको जितमा इन्दुले नटआउट २५ रन जोडिन् । प्रारम्भिक ब्याट्सवुमन नितु भण्डारीले २७ रनको योगदान गरे पनि माथिल्लोक्रमका अन्य खेलाडीले कमजोर प्रर्दशन गर्दा इन्दुमाथी दबाब परेको थियो । दोस्रो र तेस्रो ब्याटिङक्रमका प्रतिक्षा बस्याल र बर्सा रानाले खाता खोल्न नसकेपछि ४–२ को स्थितिमा पुगेको भैरहवाले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्‍यो । नितुले अक्सा गुरुंग(१४)सँग उक्त साझेदारी गरी टोलीमाथीको दबाब कम गर्ने प्रयाश गरेकी थिइन् । पाँचाँै नम्बरमा ब्याटिङ गर्न आएकी आशा थापा ५ रन जोड्दै पबेलियन फर्किएपछि भैरहवा पुन: दबाबमा परेको थियो । तर, त्यसपछि ब्याटिङ गर्न आएकी इन्दुले एक्लै इनिङ सम्हालिन् । सोनिया पौडेल एक र सैया गुरुङ २ रन जोडेर फर्किए पनि इन्दुले सम्मालिएर खेल्दै ३१ बलमा एक चौका प्रहार गर्दै क्रिजमा पकड जमाएकी थिइन् । नितुले आउट हुनुअघि ३७ बलमा एक चौका प्रहार गरिन् ।
बलिङतर्फ विराटनगरका यान्जी शेर्पाले ३ तथा सम्झना बुढाथोकीले २ विकेट लिइन् । भैरहवाले २४ अतिरिक्त रन पाएको थियो । यसअघि प्रारम्भिक ब्याट्सवुमन काजोल श्रेष्ठले ३५ रनको योगदान गरे पनि विराटनगरको इनिङ ठूलो योगफलसम्म पुग्न सकेन । अन्य खेलाडीमा सम्झनाले १३ र सबनम राईले १५ रनको योगदान गरे । विकेटकिपर प्रेमा गुरुङ  १, संगीता राई ३, रोसना राई २ र रोमा थापा ४ रन जोडेर आउट भए । शानदार ब्याटिङ लयमा रहेकी काजोलले इन्दुको बलमा एलबिडब्लु आउट हुनुअघि ५६ बल सामना गर्दै एक चौका प्रहार गरिन् । सेमिफाइनलका दुवै खेल आइतबार हुनेछन् । जनकपुरधाम साविक विजेता र नेपालगन्ज साविक उपविजेता हुन् ।

प्रतिक्रिया