विराटनगर र भैरहवा सेमिफाइनलमा

Indu-Berma-of-R-4-(Bhairahaकाठमाडौं, १० जेठ । समूहमा एक खेल खेल्न बाँकी छँदा क्षेत्र नम्बर एक विराटनगर र क्षेत्र नम्बर चार भैरहवा राजधानीमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । चार टोली रहेको समूह ‘बी’मा यी दुवै टोलीले लगातार दोस्रो खेलमा जित हात पारेका हुन् । अब विराटनगर र भैरहवाबीच हुने खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूह ‘ए’बाट क्षेत्र नम्बर सात जनकपुरधाम र क्षेत्र नम्बर पाँच नेपालगन्ज सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
आफ्नो दोस्रो खेलमा बिहीबार विराटनगरले क्षेत्र नम्बर आठ पोखरालाई ९६ रनले पराजित गर्‍यो भने भैरहवाले क्षेत्र नम्बर ६ वैतडीमाथि ६ रनले रोमान्चक जित हात पार्‍यो । पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरमा ६ विकेट गुमाएर १५५ रन जोडेको थियो । विराटनगरका लागि प्रारम्भिक ब्याट्सवुमन काजोल श्रेष्ठले नटआउट ५२ रनको योगदान गरिन् । त्यस्तै संगीता राईले २६ र रोसना राईले १५ रन जोडिन् । पोखरा १९.३ ओभरमा ५९ रनमा समेटियो । २९ अतिरिक्त रन पाएको पोखराका कुनै पनि ब्याट्सवुमन दोहोरो अंक छुन असफल रहे । बलिङतर्फ विराटनगरका सपना श्रेष्ठ, यान्जी शेर्पा र संगीता राईले समान दुई विकेट लिए । यसअघि इनिंग्स सकिनुअघि ६४ बल सामना गरेकी काजोलले सम्हालिएर खेल्दै तीन चौका प्रहार गरेकी थिइन् । उनी प्लेयर अफ दि म्याच भइन् ।
बिहीबार नै भएको अर्को खेलमा भैरहवाले पहिला ब्याटिङ गर्नेक्रममा निर्धारित २५ ओभरमा पाँच विकेट गुमाएर १२५ रन जोडेको थियो । वैतडीले निर्धारित ओभरमा आठ विकेट गुमाएर ११९ रन जोड्यो । बलिङतर्फ भैरहवाका लागि इन्दु बर्माले तीन तथा सोनिया पौडेलले दुई विकेट लिइन् । सोनु खड्का र कविता कँुवरले समान २२ रनको योगदान गरे पनि अन्य ब्याट्सवुमनले कमजोर प्रदर्शन गर्दा वैतडी सम्भावित जितबाट टाढिएको थियो र समूह चरणबाटै बाहिरिन वाध्य भयो । ३३ अतिरिक्त रन पाएको वैतडीका तीन खेलाडीले खाता खोल्न सकेनन भने चेतना बोहराले १६ रन जोडिन् । पाँच ओभर बलिङ गर्नेक्रममा इन्दुले एक मेडन राखेर ११ रन खर्चिन् भने अघिल्लो खेलमा पाँच विकेट लिएकी सोनियाले पाँच ओभरमा १९ रन खर्चिन् ।
यसअघि भैरहवालाई मध्यम योगफलसम्म पुर्‍याउन कप्तान इन्दु बर्माले २९ रनको योगदान गरिन् । त्यस्तै विकेटकिपर तथा ओपनर प्रतिक्षा बस्यालले २७ र अक्सा गुरुङले २३ रन जोडे । बर्सा राना ४ र नितु भण्डारी ६ रन जोडेर पवेलियन फर्किए । भैरहवाले ३३ अतिरिक्त रन पाएको थियो । अलराउन्ड प्रदर्शन गरेकी इन्दु प्लेयर अफ दि म्याच भइन् ।

प्रतिक्रिया