एन्फालाई ६ हजार डलर जरिवाना

Ganesh-Thapaकाठमाडौं, ७ जेठ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) अनुशासन समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ६ हजार अमेरिकी डलर जरिवाना गरेको छ । दुई महिनाअघि काठमाडौंमा भएको एएफसी च्यालेञ्ज कप छनोट चरणको खेलअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा  नेपाल–बंगलादेशबीचको खेलमा सुरक्षा कमजोरी भएको भन्दै एएफसीले कारबाहीको निर्णय गरेको हो ।
१४ मेमा क्वालालम्पुरमा बसेको एएफसीको  बैठकले ‘अनुशासनसम्बन्धी दफा ६७’  उल्लंघन गरेकाले एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरिएको हो ।  एएफसीको आधिकारिक वेबसाइटका अनुसार एन्फाले निर्णय भएको ३० दिनभित्र जरिवाना बुझाइसक्नुपर्ने जनाइएको छ ।  बंगलादेश र नेपालबीचको म्याचमा बंगाली खेलाडीलाई लक्षित गर्दै घरेलु दर्शकले मैदानमा मोबाइल र लाइटर फ्याँकेका थिए । उक्त  खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो । भविष्यमा हुने कुनै पनि खेलमा यस किसिमको सुरक्षा कमजोरी नदोहोर्‍याउनसमेत एएफसीले एन्फालाई सचेत गराएको छ । नेपाल त्यस प्रतियोगिताको माथिल्लो चरणमा छनोट हुन असफल भएको थियो ।
यसैबीच, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले फुटबल संघको रकम निजी तवरबाट बाँड्ने गरेको र आफूलाई फिफाको अध्यक्ष पदमा निर्वाचित गराउन अनेक व्यक्तिलाई घुस दिएको प्रकरणमा आजीवन प्रतिबन्धमा परेका पूर्वएएफसी अध्यक्ष मोहम्मद बिन हमाम पनि यससँगै चर्चामा तानिएका छन् । उनले एएफसीको खाताबाट व्यक्तिगत तवरले एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको बैंक खातामा एक लाख डलर रकम किन र के कारणले राखेका थिए भन्ने प्रसंगको पनि अनुसन्धान अगाडि बढ्ने भएको समाचार छ । स्मरणीय छ, थापाले उक्त प्रसंग अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबाट अचानक सार्वजनिक भएपछि आफूले सो रकम पारिवारिक कामका लागि सापटी लिएको भन्ने प्रतिक्रिया नेपाली मिडियालाई दिएका थिए ।

प्रतिक्रिया