जनकपुरधामको विजयी सुरुआत

काठमाडौं : साविक विजेता क्षेत्र नम्बर सात जनकपुरधामले यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा जनकपुरधामले सोमबार क्षेत्र नम्बर तीन काठमाडौंलाई सात विकेटले पराजित गर्‍यो ।
पहिला ब्याटिंङ गरेको काठमाडौंलाई ६६ रनमा समेटेको जनकपुरधामले १८ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । जनकपुरधामको जितमा कप्तान उषा भुजेलले १८, शान्ती चौधरीले ११ र सरस्वती चौधरीले १२ रनको योगदान गरे । यसअघि २२ अतिरिक्त रन पाएको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर ६६ रन जोडेको थियो । वर्षाका कारण खेल पाँच ओभर घटाएर २० ओभरमा झारिएको थियो ।
सोही समूहअन्र्तगत सोमबार क्षेत्र नम्बर दुई वीरगन्ज र क्षेत्र नम्बर पाँच नेपालगन्जबीचको खेल भने वर्षाका कारण रद्ध गरिएको छ । रद्ध गरिएसँगै दुवै टिमलाई एक/एक अंक बाँडियो । टस जितेर पहिले ब्याटिङ रोजेको वीरगन्जले १४ ओभरमा ६ विकेट गुमाएर ५० रन बनाएको स्थितिमा वर्षाले प्रभाव पारेपछि अकस्मात् खेल स्थगित हुन पुगेको थियो । पछि वर्षाका कारण नेपालगन्जको इनिङ एक बल पनि सम्भव भएन । (सौस)

प्रतिक्रिया