विमानस्थलको भविष्य अन्योलग्रस्त

सुर्खेत, ७ जेठ । गुरुयोजनाअनुसार काम नहुँदा सुर्खेत विमानस्थलको भविष्य अन्योलमा परेको छ ।
विमानस्थल निर्माण गर्दा गुरुयोजनाविपरीत काम गरिएकाले अहिले समस्या देखिएको हो । गुरुयोजनामा पूर्वदेखि पश्चिमतर्फ धावनमार्ग बनाउने उल्लेख गरिए पनि उत्तरदेखि दक्षिणतर्फ धावनमार्ग बनाएकाले समस्या देखिएको हो ।
उत्तर–दक्षिण धावनमार्ग बनाउँदा भूगोल नै नमिल्ने भएकाले ठूला विमान अवतरण गर्न नसकिने भएको छ भने धावनमार्ग बढाउने ठाउँसमेत छैन । केही समयअघि मात्रै २ सय मिटर धावनमार्ग बढाएर एक हजार २ सय ५५ मिटर लम्बाइ बनाइए पनि ठूला विमान अवतरण हुन सकेनन् । बुद्ध एयरले सुर्खेत–काठमाडौँ सिधा उडान सुरु गरे पनि अहिले बन्द हुने अवस्थामा छ ।
ठूला जहाज विमानस्थलमा अवतरण हुन नसक्ने र साना विमानमा भाडा महँगो हुने भएकाले सुर्खेतको हवाई सेवासमेत सञ्चालन हुन नसक्ने सम्भावना रहेको छ । महँगो भाडाका कारण यात्रुहरूले सुर्खेतबाट जहाजमा यात्रा नगर्ने भएकाले हप्तामा तीनपटक सुर्खेत–काठमाडांँै सिधा उडान सुरु गरेको बुद्ध एयरले सातामा दुई दिन मात्रै उडान गर्ने गरेको छ ।
हाल सुर्खेत–काठमाडौंको भाडा नौ हजार ९ सय ९० रुपियाँ रहेको छ । तर, नेपालगन्जबाट काठमाडौंका लागि चार हजार ५ सय भाडा लाग्ने भएकाले यात्रुहरू त्यहीँबाट काठमाडौं जाने गरेका छन् ।
यसले गर्दा सातामा दुई दिन उडान गर्दा पनि यात्रु संख्या कम हुने गरेकाले यही अवस्थामा बुद्ध एयरले सुर्खेत–काठमाडांै सिधा उडान नै बन्द गर्ने संकेत गरेको छ । सुर्खेतबाट काठमाडांै सिधा उडान भए जिल्लाको समग्र विकासमा सहयोग पुग्ने आशा राखिएको भए पनि यो आशामै सीमित हुने भएको छ । सुर्खेत–काठमाडौं सिधा उडान नहुँदा सुर्खेतमा हुने क्षेत्रीय कार्यक्रमसमेत बाँकेको नेपालगन्जमा हुने गरेका छन् ।
सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख सुमत चौधरी पनि विमानस्थलको दीर्घकालका लागि विकल्प खोज्नुपर्ने बताउँछन् । ‘पहिले कसरी डिजाइन गरिएको हो, अब यसलाई बढाउने ठाउँ पनि छैन,’ उनले भने, ‘विकल्प भनेको नयाँ विमानस्थल निर्माण गर्नु हो ।’

प्रतिक्रिया