काठमाडौं, ७ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले ९० प्रतिशत दुर्घटना लापरवाहीको कारण हुने गरेको बताएका छन् ।
राजधानीमा सोमबार आयोजित एक साक्षात्कारमा डिआइजी अर्यालले भने, ‘दुर्घटना बढिरहेका छन्, खासगरी मानवीय कारणले दुर्घटना बढिरहेका छन्, दुर्घटना कम गर्न सडक प्रयोगकर्तालाई नै चेतनशील बनाउनु जरुरी छ । अर्यालले सवारी चलाउँदा गल्ती गर्नेहरू दैनिक करिब एक हजारभन्दा बढी कारबाहीमा पर्ने गरेको जानकारी दिए ।
उनले ट्राफिक नियमबारे बच्चैदेखि सिकाउनुपर्ने धारणासमेत व्यक्त गरे । यसको लागि ट्राफिक चिल्ड्रेन पार्क बनाएर बालबालिका लाई ट्राफिक नियम सिकाउनुपर्ने उनले बताए ।
‘सडकमा खट्ने ट्राफिक प्रहरीहरूलाई प्रदूषणको मार बढी पर्ने गरेको छ । सडक व्यवस्थापनको जिम्मेवारी ट्राफिकमा पाँच प्रतिशत मात्रै छ । सडक व्यवस्थापन गर्ने सरकारका अन्य निकायको उत्तिकै जिम्मेवारी छ ’, उनले भने । उनले ३५ प्रतिशत ट्राफिक प्रहरीलाई नाक, कान र घाँटीको स्वास्थ्यसम्बन्धी समस्या देखिएको जानकारी पनि दिए ।
प्रतिक्रिया