पूर्वटेबलटेनिस खेलाडी सम्मानित

काठमाडौं, ६ जेठ । टेबल टेनिसका पूर्वराष्ट्रिय खेलाडी गंगा श्रेष्ठलाई नेपाल एम्योच्योर भेट्रान्स एथलिट कमिटीले सम्मान गरेको छ । श्रेष्ठले जीवनको अमूल्य समय टेबल टेनिसको विकासमा अर्पण गरेकोप्रति सम्मान गरिएको हो । नेपाल एम्योच्योर भेट्रान्स एथलिट कमिटीको आयोजना तथा अनुप स्मृति प्रतिष्ठानको सहआयोजनामा सञ्चालित ‘चांैथो अनुप स्मृति भेट्रान्स महिला तथा पुरुष टेबलटेनिस प्रतियोगिता २०७०’ को समापनका अवसरमा सम्मान गरिएको हो ।
उक्त प्रतियागिताको महिला ४५ वर्षमाथि खुलातर्फ निनु सत्याल प्रथम भएकी छिन् । उनले स्वर्ण पदकसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । नानु राणाले रजत पदकमा चित्त बुझाइन् ।
यस्तै पुरुषतर्फको ४५ वर्षमाथिको खुला प्रतियोगितामा कपुर शर्माले स्वर्णपदक प्राप्त गरे । उनले फाइनलमा राजेन्द्र बज्राचार्यलाई ११–१३, ११–८, ११–८ र ११–५ ले पराजित गरे । निसन प्रधान र सुरेन्द्र राज अवाले संयुक्त तस्रो भए । ४५ वर्षमाथिको प्रतिस्पर्धामा राजेन्द्र बज्राचार्यले निसन प्रधानलाई ११–६, ११–५ र ११–६ ले पराजित गर्दै स्वर्णपदक प्राप्त गरे ।
सुरेश बज्राचार्य र पन्नाकाजी शाक्य संयुक्त तेश्रो भए । ५० वर्षमाथिको प्रतिस्पर्धामा मनोहरी थापाले सुरेन्द्र ढकाललाई पराजित गर्दै प्रथम भए । थापाले ढकालमाथि ११–५, ११–८ र ११–७ को जित निकाले । सरदमान श्रेष्ठ र प्रकाश श्रेष्ठले कास्यपदक पाए । ५५ वर्षमाथि सुरेन्द्र ढकालले पुण्य पौडेललाई ११–५, ११–९, ८–११ र ११–७ ले पराजित गर्दै स्वर्ण पाए । प्रकाश श्रेष्ठ र सुशील शमशेर जबराले कास्यपदक पाए ।
६० वर्षमाथिको प्रतियोगितामा विनय सिंहले स्वर्ण र अगमसिंह सोंगमेनले रजत पाए । सिंहले अगमलाई ११–४, ११–६ र ११–८ ले पराजित गरेका थिए । डा. उदयराज शर्माले कास्यपदक पाए ।
प्रतियोगितामा ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक धर्ममान बज्राचार्यले जनाए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले संयुक्त रूपमा उद्घाटन गरेको प्रतियोगिताको पुरस्कार वितरण नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीका अध्यक्ष जिएन शर्मा र अनुप स्मृति प्रतिष्ठानका सचिव कल्याण बहादुर कार्कीले गरेका थिए ।

प्रतिक्रिया