सञ्जय दत्त पुन: जेल चलान

Sanjay_Duttनयाँदिल्ली ।  भारतको सर्वोच्च अदालतले हिन्दी चलचित्रका प्रख्यात कलाकार सञ्जय दत्त दोषी भएको ठहर गर्दै उनको न्यायिक पुनरावलोकनका लागि गरेको अनुरोधलाई गत साता अस्वीकार गरेको थियो । त्यसपछि उनी पुन: तीन वर्ष ६ महिनाका लागि बिहीबार जेल चलान भएका छन् ।
उनीमाथि सन् १९९३ मा मुम्बईमा बम विस्फोटका विषयमा मुद्दा चलाइएको थियो । सो बम विस्फोटनमा २५७ व्यक्तिले ज्यान गुमाएका थिए । सन् २००६ मा आतंकवादविरोधी अदालतले ५३ वर्षीय कलाकारले हतियार राखेको आरोपमा दोषी ठहर गरेको थियो । उक्त हतियार घातक बम आक्रमण गर्ने व्यक्तिहरूले उहाँलाई उपलब्ध गराएका थिए । दत्त १८ महिनासम्म कारागारमा बसेर पछि जमानतमा रिहा भएका थिए ।
मार्चमा सर्वोच्च अदालतले उनी दोषी भएको कायम राख्दै उनको कारावासको समयलाई भने ६ वर्षबाट पाँच वर्षमा छोट्याएको थियो । उनले अब तीन वर्ष ६ महिना कारागारमा बिताउनुपर्छ । सञ्जय दत्तले आफूले काम गरिरहेको चलचित्र सम्पन्न गर्न मागेको समयलाई सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया