श्रीसन्तसहित तीन खेलाडी निलम्बित

shrishantनयाँदिल्ली, ३ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा स्पट–फिक्सिङमा संलग्न भएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई)ले पूर्वराष्ट्रिय खेलाडी श्रीसन्तसहित तीन खेलाडीलाई निलम्बन गरेको छ । निलम्बन हुन बाँकी दुई खेलाडीमा अजित चण्डिला र अंकित चव्हाण रहेका छन् । बलर रहेका यी तीनै जना खेलाडी राजस्थान रोयल्समा आबद्ध छन् ।
दिल्ली प्रहरीले आरोपित तीनै जना खेलाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्ली प्रहरीका कमिस्नर निरज कुमारले खेलाडीविरुद्ध  भारतीय कानुनअन्तर्गत धोका, छलछाम र आपराधिक गतिविधिअन्तर्गत मुद्दा दायर भएको जानकारी दिएका छन् । प्रहरीले खेलाडीले एजेन्टसँग गरेको सम्पर्कलाई विस्तृत रूपमा उजागर गरेको छ । पुलिसले खेलाडी र एजेन्टबीच भएको टेलिफोन संवाद ‘ट्यापिङ’ गरी अनुसन्धान अगाडि बढाएको थियो । दिल्ली कमिस्नर निरज कुमारले आइपिल सुरु भए लगत्तै हरेक खेलाडीको टेलिफोन संवाद ट्यापिङ सुरु गरिएको जानकारी दिए । एक अस्ट्रेलियन अखवारले जारी आइपिएलमा स्पट–फिक्सिङ भएको समाचार हालसालै छापेको थियो । दिल्ली प्रहरीले विभिन्न स्थानबाट आरोपित तीनै जना खेलाडीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले तीन वटा खेलमा यी खेलाडीले स्पट–फिक्सिङ गरेको जनाएको छ । पुणे वारियर्स (६ मे), किंग्स इलेभेन पन्जाब (९ मे) र मुम्बई इन्डियन्स (१५ मे) मा स्पट–फिक्सिङ भएको बताइएको छ । प्रहरीका अनुसार स्पट–फिक्सिङ एक ओभरमा अधिकतम रनबारे भएको थियो । प्रहरीका अनुसार ११ जना सट्टेबाज (स्पट–फिक्सर)लाई समेत पक्राउ गरिएको छ । स्पट–फिक्सिङमा तीन खेलाडीका अतिरिक्त अन्य कसैको पनि हालसम्म संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।
पूर्व क्रिकेटर सरद पवारले यस स्पट–फिक्सिङ प्रकरणको गहन अनुसन्धान हुनुपर्ने बताउँदै खेलाडी दोषी पाइए आजीवन प्रतिबन्धसम्मको सजाय दिइनुपर्ने बताएका छन् । यसअघि गत संस्करणमा पनि आइपिएलमा केही खेलाडी स्पट–फिक्सिङ अभियोगमा समातिएका थिए । क्रिकेटमा स्पट–फिक्सिङ नयाँ विषय भने होइन । पाकिस्तानका तीन क्रिकेट खेलाडी सलमान बट, मोहम्मद आमिर र मोहम्मद आसिफले अन्तर्राष्ट्रिय म्याच दौरान स्पट–फिक्सिङ गरेको अभियोगमा जेल चलानसम्मको सजाय पाएका थिए ।
पछिल्लो घटनामा खासगरी श्रीसन्तको संलग्नताले भारतीय क्रिकेटलाई नै स्तब्द बनाएको छ । एकदिवशीय अन्तर्राष्ट्रियमा सन् २००५ र टेस्टमा त्यसको एक वर्षपछि डेब्यु गरेका यी ३० वर्षीय बलर सन् २०११ को अप्रिलयता भारतीय टोलीमा समावेश हुन सकेका छैनन् । सन २००८ मा अस्ट्रेलियालाई हराएर भारत पहिलोपटक टेस्ट वरीयताक्रममा शीर्षस्थानमा उक्लदा यी बलरको निकै ठूलो योगदान रहेको थियो । श्रीसन्त बाहेकका अन्य दुई आरोपित पनि भारतीय नै भए पनि यी राष्ट्रियस्तरमा मात्र परिचित छन् ।
के हो स्पट–फिक्सिङ
स्पट–फिक्सिङ म्याच फिक्सिङ जस्तै एकप्रकारको फिक्सिङ हो तर यसमा हार र जितको विषयमा फिक्सिङ नभएर कुनै बल वा ओभर सम्बन्धमा खासगरी खेलाडीले सट्टेबाजसँग मोटो रकम लिएर सम्झौता गर्छन् । खेलाडी र सट्टेबाजलाई जोड्ने काम एजेन्टले गर्छन् । यसमा विकेटभन्दा पनि बढी रनको विषयलाई नै लिएर सम्झौता हुने गरेको छ । एक खेलाडी (बलर होस् या ब्याट्सम्यान)सँग पनि स्पट–फिक्सिङ गर्न सकिने भएकाले यस्ता घटनामा टोलीका बाँकी सदस्य अनविज्ञसमेत रहन सक्छन् ।

प्रतिक्रिया