चेल्सीलाई युरोपा लिग उपाधि

ivanovic-after-scoring-goalहल्यान्ड, ३ जेठ । युरोपियन च्याम्पियन्स लिग उपाधि रक्षा गर्न नसके पनि इंग्लिस क्लब चेल्सीले यस सिजनमा युरोपकै दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिग जितेको छ । बुधबार राति बेनेफिकालाई २–१ ले पराजित गरी चेल्सी युरोपा लिग च्याम्पियन बनेको हो ।
तुलनात्मक रूपमा आफूभन्दा राम्रो प्रदर्शन गरेको पोर्चुगाली क्लब बेनेफिकाविरुद्ध दोस्रो हाफको इन्जुरी समयमा ब्रानिस्लाभ इभानोभिकले हेडमार्फत निर्णायक गोल गर्दै चेल्सीलाई अतिरिक्त समयमा संघर्ष गर्नबाट जोगाउँदै उपाधि दिलाएका हुन् ।
हल्यान्डमा भएको यस फाइनलमा जुवान माटाको कर्नर प्रहारमा इभानोभिकले गोल गर्दा खेलको सुरुआतदेखि नै स्तरीय प्रदर्शन गरेको बेनेफिका निराश बन्न पुग्यो  । पहिलो हाफ गोलरहित बराबरी भए पनि ६०औँ मिनेटमा फर्नान्डो टोरेसको गोलमार्फत चेल्सीले सुरुआती अग्रता लिएको थियो । यी स्पेनिस फर्वार्डको गोलमा अन्तिम पास माटाले नै मिलाइदिएका थिए । तर, ६८औँ मिनेटमा बेनेफिकाले खेल बराबरीमा ल्याइपुर्‍याएको थियो । प्राप्त पेनाल्टी अवसरमा पोर्चुगाली क्लबका ओस्कर कार्डोजो चुकेनन् । चेल्सीको जितमा ब्रानिस्लाभको गोलसरह गोलकिपर पिटर चेकको बारम्बारको शानदार प्रदर्शन पनि बेनेफिकालाई स्तब्द बनाउने खालको थियो ।
खेल सुरु भएको दोस्रो मिनेटमै कार्डोजोले हेडमार्फत गरेको प्रहार  क्रसबारको नजिक हुँदै जाँदा त्यसले चेल्सीलाई ठूलै चुनौती महसुस गरायो । रोड्रिगोले दुइपटक ‘सिक्स यार्ड’भित्र प्राप्त राम्रो अवसरलाई सदुपयोग  गर्न सकेनन् । टोरेसले गोल गर्नु केही सेकेन्ड अघि मात्र बेनेफिकाका सेल्भियोले हेडमार्फत गरेको सुन्दर प्रहार चेकले वचाउ गरे । टोरेसलाई पास दिनुअघि माटाले चेकबाट ‘छिटै’ लङ पास पाएका थिए । सिजर एज्पिलिकुएटाले डिबक्सभित्र ह्यान्ड गरेपछि बेनेफिकाले खेल बराबरीमा ल्याएको थियो । खेलमा फर्किए लगत्तै बेनिफिकाले दबाब सिर्जना गरेको थियो तर कार्डोजोको ‘हाफ–भली’प्रहारलाई आफ्नो उच्चस्तर देखाउँदै चेकले असफल बनाए । निर्धारित समयको अन्तिम तथा ९०औँ मिनेटमा कप्तान फ्रान्क लाम्पार्डले ३० यार्डबाट गरेको प्रहार साइड बारमा लागेर फर्किदा चेल्सीले अग्रताका लागि थप समय कुर्नुपरेको थियो । चेल्सीले २–१ को अग्रता लिएपछि भने बेनेफिकाले राम्रो अवसर पाएको थियो तर तेज गतिमा अघि वढेका कार्डोजोलाई ग्यारी काहिलले थप बढ्न दिएनन् ।
चेल्सीले युरोपियन च्याम्पियन्स लिगमा यसपटक समूह चरणबाटै बिदा हुनुपर्‍यो र पहिलो चरणबाटै घर फर्किने पहिलो साविक विजेता टोली बन्यो । खराब प्रदर्शनसँगै चेल्सीले युरोपियन च्याम्पियन बनाएका प्रशिक्षक रोबर्टो डि माटेओलाई बर्खास्त गर्दै लिभरपुलका पूर्वप्रशिक्षक राफेल बेनिटेजलाई अन्तरिम प्रशिक्षकका रूपमा आवद्ध गराएको थियो । यद्यपि, यस सिजनपछि चेल्सी रियल म्याड्रिडमा हाल रहेका होजे माउरिन्होलाई पुन: क्लब भित्र्याउने प्रयासमा रहेको बताइएको छ ।

प्रतिक्रिया