अदुवाको भाउ आकासियो

Aduwaइलाम, २ जेठ । आलु रोप्ने सिजन घर्किदै जाँदा इलाममा अदुवाको भाउ आकासिएको छ । रोप्ने सिजन सुरु हुनासाथ प्रतिमन (४० किलो) चार हजारदेखि सुरु भएको अदुवाको मूल्य अहिले पाँच हजार पाँच सय पुगेको हो । यो मूल्य अहिलेसम्मकै बढी भएको व्यापारी बताउँछन् ।
उत्पादनमा गिरावट आएको र खेती लगाउने सिजन भएकाले अदुवाको भाउ आकासिएको बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउँछन् । ‘यो वर्ष गाउँमा अदुवा कम उत्पादन भएकाले रोप्ने बेलामा अदुवाको मूल्य बढेको हो ।’ अदुवाको मूल्य आकासिएपछि अदुवा किसान भने समस्यामा परेका छन् । बिउ किनेर रोप्न नसक्दा किसानलाई समस्या भएको छ ।
उत्पादनको सुरुमा प्रतिमन एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्म अदुवा किनबेच भएको थियो । किसानले अदुवा रोपिसके पनि थोरै मात्रले उच्च मूल्यमा बिक्री गर्न पाउने भएका छन् । यस वर्ष भारतको पन्जाब, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारी बताउँछन् । ‘यो सिजन भनेको अदुवा रोप्ने सिजनको अन्तिम समय हो । अलि—अलि भएको अदुवा पनि पहिले नै बिक्री गरिसकियो ।’ इभाङका किसान बन्धना कार्कीले भन्छिन्, ‘अहिले बिउ किन्ने सिजनमा भाउ बढेकाले भनेजति खेती लगाउन नसकिने भयो ।’
गत वर्ष पनि अदुवाको मूल्य उच्च भएका समयमा किसानले बारीबाटै कलिलै अदुवा बिक्री गरेका थिए । ‘राम्रो गुणस्तरको अदुवाको मूल्य पाँच हजार छ, किसानले ल्याएकोलाई छानेर बिक्री गर्नुपर्छ,’ व्यापारी पौडेल भन्छन्, ‘इतिहासमै पहिलोपटक अदुवाको मूल्य उच्च भएको हो । यसबाट किसान हर्षित छन् ।’
यता हरेक वर्ष महँगोमा बिउ किनेर सस्तोमा बेच्नु परिरहेकाले अदुवा खेतीबाट किसानले राम्रो फाइदा लिन नसकिरहेको चतुरेका किसान जैनारायण राई बताउँछन् । ‘उत्पादनको सुरुमा बेच्ने सिजनमा भाउ कम हुन्छ, बिउ बिन्ने बेलामा बढी हुन्छ, यसबाट बिउ किनेर खेती गर्ने किसानलाई भने घाटा भइरहेको छ ।’ अहिले जिल्लाका धेरै किसान अदुवाको बिउ किन्न नसक्दा खेती गर्नबाटै वञ्चित भएका छन् भने कतिपयले सोचेजति अदुवा रोप्न पाएका छैनन् ।
गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायत बजारमा बढी मात्रामा अदुवा किनबेच हुने गर्दछ ।
किसानले जिल्लाको मुख्य नगदेबालीका रूपमा खेती हुँदै आएको अदुवा प्राय: सबै गाविसका किसानले गर्ने गरेका छन् । इलामका तीन हजार ७५ हेक्टर जमिनमा अदुवा खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । गत वर्ष जिल्लामा ४७ हजार चार सय ७५ मेट्रिकटन अदुवा उत्पादन भएको थियो ।

प्रतिक्रिया