मध्यामार्गी बजेट बनाउन निर्देशन

काठमाडौं : अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मध्यमार्गी बजेट ल्याउन निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालय र योजना आयोगबीच भएको बजेट सम्बन्धी छलफल कार्यक्रममा उनले मध्यमार्गी बाटो अपनाउनुपर्ने बताए । ‘आगामी वर्षको बजेटले न क्रान्तिकारी, न निराशाजनक बरु बीचको बाटो पक्रनुपर्छ,’ उनले भने ।
उनले आगामी वर्षको बजेट बनाउँदा आफ्नो क्षमता र विज्ञताको प्रदर्शन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिँदै स्थानीय निकायमा जाने बजेटमा हुने गरेको अनियमितता रोक्न छुट्टै संयन्त्र आवश्यक भएको बताए । महत्त्वपूर्ण योजना आयोजना सम्पन्न गर्नुअघि सरोकारवाला निकायका प्रमुखबीच सम्झौता गराएर उत्तरदायी बनाउनुपर्नेमा उनको जोड थियो ।
‘यसपटकको बजेटको प्राथमिकता ऊर्जा, कृषि, सडक र सिँचाई हा,े’ मन्त्री कोइरालाले भने, ‘वित्तीय अनुशासन र सुशासनलाई पनि प्राथमिकतामा राखिने छ ।’ बजेटलाई कनिका छर्ने परम्पराबाट मुक्त गरिने उनले बताए ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले गलत ठाउँमा दुरूपयोग भएको राज्यकोष सदुपयोग गर्ने उपयुक्त समय भएकाले त्यसको भरपुर उपयोग गर्न आग्रह गरे । सल्लाहकार नेपालले मुलुकमा वित्तीय अपराध मौलाएको अवस्थामा यस वर्षको बजेटलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सुझाव दिए । व्यापारमुखी घाटा कम गर्न कृषिमा लगानीको विकल्प नभएको नेपालको भनाइ थियो ।
सो अवसरमा योजना आयोगका सचिव युवराज भुसाल, अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख लोकदर्शन रेग्मीलगायतले पुरानै ढर्रामा बजेट ल्याउने परम्पराको अन्त्य नभएसम्म सुधार आउन नसक्ने बताए ।

प्रतिक्रिया